सिर्जना सुधारका आधार



  • प्रेमराज सिलवाल

काठमाडौं । प्रत्येक मानव सिर्जना एउटा कला हो। साहित्य–सिर्जना समाजलाई बुझ्ने, हेर्ने, विश्लेषण गर्ने र रूपान्तरणमा सहयोग गर्ने माध्यम पनि हो। असल शासन व्यवस्थाका लागि सर्जक, लेखक तथा विद्वान्का सुझावलाई महत्वपूर्ण मानिन्छ। कतिपय मानिसलाई साहित्य, लेख, सिर्जना, अध्ययन र अनुसन्धानबाट देशको भौतिक र आर्थिक विकास सम्भव हुँदैन भन्ने लाग्न सक्छ।

प्राविधिक विषय पढेका कतिपय ठूला मानिसलाई पनि साहित्य उत्पादनशील कुरा नभएकाले यसको अर्थ छैन भन्ने लाग्ने गरेको पाइन्छ भने देशको राजनीतिक नेतृत्व र शक्तिमा पुगेका कतिपय नेतालाई साहित्य क्षेत्रको विकासमा खर्च गर्नु बालुवामा पानी हाल्नु सरह लाग्ने गरेको देखिन्छ। यस्तो खालको सङ्कीर्ण सोचले देश र समाजको समग्र एवं सन्तुलित विकासमा अनेकौँ बाधा पर्ने गरेका छन्।

शब्दजाल बुन्नु मात्र साहित्य होइन । अक्षरले पाना भर्नु मात्र उत्कृष्ट सिर्जना होइन। अन्टसन्ट कुरा गरेर घुमाईफिराई पाठकलाई केही समय भुल्याउनु मात्र साहित्यको उद्देश्य होइन, हुँदैन। त्यस कारण साहित्य सिर्जनाले समाज परिवर्तनको लक्ष्य लिन सक्नुपर्छ। समाज, मानिसहरूका चिन्तन, सोच बदल्न सक्नुपर्छ । समाजको चिन्तन बदल्नु समग्रमा विकास हुनु पनि हो।

युनानी दार्शनिक प्लेटोले समाजको विकासका लागि नागरिक शिक्षित बन्नुपर्ने र शिक्षितले शासन गर्नुपर्ने बताएका थिए । उनले कसैले राजनीति गर्दैन भने पनि अरूबाट आफूमाथि राजनीति हुने बताए । यस भनाइबाट के जान्न सकिन्छ भने, समाज राजनीतिबाट टाढा रहनै सक्दैन । अर्थात् साहित्यमा राजनीतिक विचार र दर्शनको समेत प्रभाव पर्ने गर्छ ।

समाजमा मानिसहरूले जति पनि क्रियाकलाप गरिरहेका हुन्छन्, ती राजनीतिबाट प्रभावित हुन्छन्। धर्म, संस्कृति, संस्कारमा राजनीतिले भूमिका खेलेको हुन्छ। कुनै दलको नारामा सडकमा जानु राजनीतिक गतिविधि हो। समाजमा निरन्तर थाहा नहुनेगरी भइरहने क्रिया बृहत् राजनीतिको दायारामा आउने विषय हो।

खासमा साहित्य राजनीतिबाट टाढा रहनै सक्दैन । सिर्जना र साहित्यका विषय हेर्ने हो भने पनि समय सन्दर्भ र देशको राजनीतिकै सेरोफेरोमा सर्जकहरूले आफूलाई उभ्याउने गरेका छन्। औपचारिक शिक्षा नपढेका मात्र होइन, पढेर पनि जीवन, समाजसँग कुनै सरोकार र तात्विक सम्बन्ध नजोडेका मान्छेसमेत लेखक भएका छन्, बनाइएका छन् र दरिएका छन्।

त्यस्ता मान्छेले कुनै घटनामा आफूलाई लहड लागेको कुरा मान्छेले साहित्य भनेर पढी बस्नुपर्ने अवस्था राम्रो अवस्था होइन । तापनि, अनेकौँ सन्दर्भ, कारण र अवस्थाबाट त्यस्ता निजी कुरा, कथालाई पनि सिर्जना र साहित्य भन्नुपर्ने अवस्था छ। नयाँ विषयवस्तुमा पनि सिर्जना बजारमा लैजान सकिन्छ भन्नेमा कमैलाई विश्वास रहेको देखिन्छ। नयाँ विषयमा लेख्दा आफू सफल हुन सकिँदैन भन्ने हीनताबोधका कारण सर्जकले पुरानै विषयमा कलम घोटिरहेका देखिन्छ।

अर्कातर्फ सिर्जना र सर्जकको मूल्याङ्कनको आधारमा पुरस्कार दिने, प्रोत्साहित गर्ने र सिर्जनाको चोरी गर्नेलाई कारबाही गर्ने र सामाजिक बहिष्कार गर्ने प्रचलन नै भएन । यसले गर्दा पाठकलाई र समाजलाई असल सिर्जना र साहित्यको छनोट गर्नै कठिन भएको छ । कठिन बनाइएको छ।

साहित्यले समाजको विकासमा भूमिका खेल्छ भन्ने कुरामा नेता र नीति बनाउनेले सोचेकै छैनन्। यो राज्यको दृष्टिकोणको महŒवपूर्ण सवाल हो । साहित्य–सिर्जनाप्रतिको यस्तो दृष्टिकोण बदल्नु आवश्यक छ। राज्यका नीति निमार्णमा रहेका, अधिकारको प्रयोग र पालना गर्ने हैसियतमा बसेकालाई साहित्य, सिर्जना, लेख, रचनाले समाजको विकासका लागि काम गरिरहेका हुन्छन् भन्ने चिन्तन नभएकाले यसैमा सुधार हुनुपर्छ । नेपाली साहित्य–सिर्जनाको मूल समस्या यो हो।

त्यसैगरी लेखक, सर्जक र साहित्यकारहरूको सरकारी निकाय अर्थात् नेपाल प्रज्ञाप्रतिष्ठानको नियुक्ति वा मनोनयनसमेत जहिल्यै विवादित र अवैज्ञानिक हुने गरेको छ । हालै संस्कृतिमन्त्रीले गरेका सफिारिसमा माओवादी खेमालाई मात्र राखियो भन्ने आरोप छ । त्यति मात्र होइन, राई र पूर्वकालाई मात्र बढी प्राथमिकता दिइयो भन्ने खालको गम्भीर आरोपसमेत लाग्दै आएको छ । यसले नेपाली सिर्जना–साहित्यको क्षेत्रलाई समेट्न सकेको देखिँदैन ।

आफ्नो स्वादको ज्याकेट लगाएको मात्र साहित्यकार वा सर्जक हो अन्य होइन भन्ने चिन्तनबाट उठेर वस्तुगत र तथ्यगत मूल्याङ्कनको प्रणाली विकास गर्नुको विकल्प छैन । संस्था अध्यक्ष, सचिव र सदस्य बन्नका लागि होइन, थोरै भूमिका निभाएर यस क्षेत्रमा केही योगदान दिनका लागि हुनुपर्छ।

वर्षमा एउटा रचना नलेख्ने सर्जकसमेत यहाँ ठूला साहित्यिक संस्थाको नेतृत्वमा रहेका देखिन्छन् । यस्तो हुनुमा समाज पनि दोषी देखिन्छ। समाज जस्तो छ, यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक तह जस्तो छ, साहित्यको क्षेत्र पनि त्यस्तै हुने हो। यस दृष्टिकोणले समाज र साहित्यको गहिरो अन्तरसम्बन्ध रहेको हुन्छ।

समाजमा अनेकौँ समस्या भएजस्तै नेपाली सिर्जना र साहित्यका क्षेत्रमा पनि अनेकौँ समस्या, विकृति तथा विसङ्गति देखिन्छन् । यद्यपि, पूरै विकृतिपूर्ण छ भन्ने पनि होइन। कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै नेपाली सिर्जना र साहित्यको क्षेत्रमा कपितय राम्रा सुधार, परिवर्तन र सकारात्मकतासमेत छन्।

सारमा, नेपाली इतिहासमा राजनीतिक निरङ्कुशता, दमन र अत्याचार भएको राजनीतिक प्रणालीमा स्वतन्त्रतापूर्वक साहित्य, सिर्जना र कलाको विकास हुनै पाएन। राणाकाल, पञ्चायतकालदेखि प्रजातन्त्रकालहरूलाई विश्लेषण गर्ने हो भने अनेकौँ अवस्था र स्थिति देखिए।

दमनकारी शासन र राजनीतिक प्रणालीमा राजनीतिक अधिकारमाथि रोक लगाइकाले गर्दा सिर्जनाको माध्यमबाट समाज परिवर्तनको नारा घन्केका भए पनि सर्जक र साहित्यकारहरू चौतर्फी आक्रमणमा पर्ने गरेका थिए। प्रजातन्त्रको प्राप्तिपछि पनि विविध प्रकारका सशस्त्र सङ्घर्ष तथा राजाको दमनको अवधिका सैन्य शक्तिको बलमा सिर्जनामाथि अङ्कुश लगाउने कार्य भए ।

आज त्यस अवस्थाको कालो बादल पूरै हटेको छ। यद्यपि, नेपाली सिर्जना र साहित्य क्षेत्रका कठिनाइ, समस्या र अप्ठ्याराहरू निर्मूल हुन सकेका छैनन्। नेपाली कला, साहित्य, सिर्जना तथा लेखनको क्षेत्रमा समस्याहरू त छन् तर समाधान नै गर्न नसकिने खालकाचाहिँ होइनन्। समस्याहरूका बीचमा पनि अनेकौँ सम्भावना भने देखिन्छन्।

दलीय र पार्टीगत साँघुरो सोच, विचार र भावनाबाट मुक्त भई समाज र देशको परिवर्तनमा सहभागिता आजको आवश्यकता हो। नेपाली साहित्य र सिर्जनाको क्षेत्रबाट समाजले यही कुराको अपेक्षा गर्नुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्