नेपाल बन्न सक्छ ‘फिल्म हब’



काठमाडौं ।  ओस्कार अवार्डको सन्दर्भ आउँदा नेपाली फिल्मकर्मीले सम्झने नाम हो, ‘क्याराभान ।’ सन् १९९९ मा नेपालको उपल्लो डोल्पामा छायाङ्कन गरिएको एरिक भ्याली निर्देशित यो फिल्म ‘बेस्ट फरेन फिल्म’ विधाको मनोनयनमा परेको थियो । फिल्ममा नेपाली अभिनेता नीर शाह सहनिर्माता थिए ।

नीरको बुझाइमा ‘क्याराभान’ रिलिज भएपछि अन्तर्राष्ट्रिय फिल्मकर्मीको नजर नेपालमा राम्रै परेको छ । खासगरी यहाँको लोकेसन, संस्कृतिले उनीहरू नेपालतिर तानिएका छन् ।
‘क्याराभानका कारण अन्तर्राष्ट्रिय फिल्मकर्मीहरू यहाँको लोकेसनबाट मोहित भए । तर, दुःखको कुरा भन्नुपर्छ, त्यो समयमा प्रशासनिक व्यवस्था र झमेलाले उनीहरू निराश बने’, नीर सम्झन्छन्, ‘त्यसि समयमा सरकारी पक्षबाट सेवा, सुविधा दिनुको सट्टा कसरी बढी पैसा असुल्न सकिन्छ भन्नेतिर उनीहरूको ध्यान गयो । यो हाम्रालागि दुःखको कुरा हो ।’

नीर नेपालका खोलानाला, हिमाल, जङ्गल र प्राकृतिक स्रोतलाई सदुपयोग गर्न सकेमा बढीभन्दा बढी अन्तर्राष्ट्रिय फिल्मलाई नेपालमा तान्न सकिने दाबी गर्छन् । ‘नेपाल आफैँमा खुला प्राकृतिक स्टुडियो हो । विदेशीसँग हाम्राभन्दा धेरै गुणा राम्रा इन्डोर स्टुडियो छन् तर उनीहरूसँग आउटडोर स्टुडियो छैन । त्यसलाई हामीले क्यास गर्न सक्नुपर्छ’, उनको बुझाइ छ, ‘हामीले नेपालको स्रोत, साधनलाई मार्केटिङ गर्न सकेनौँ । त्यसमा सरकारी तवरबाट कुनै पहल देखिएन । भयङ्कर योजना बनाउनुभन्दा अहिलेका योजनालाई यथेष्ट रूपमा कार्यान्वयन गर्न सके र कथासँग सम्बन्धित लोकेसन खोज्न सके हामी अझ मजबुत हुन्छौँ ।’

कुनै समय भारतको बम्बईमा बनेका बलिउड फिल्मका कथाबाट प्रभावित भएर नेपाली फिल्म बन्ने गरे पनि पछिल्लो समय नेपाली मौलिक कथालाई प्रश्रय दिइरहँदा यसको फाइदा उठाउनुपर्ने नीरको सुझाव छ । ‘नेपाल प्राज्ञिक र मनोरञ्जन अथवा जुनसुकै क्षेत्रका लागि भर्जिन लोकेसन हो । अन्तर्राष्ट्रिय चेतना एक ठाउँमा होला तर त्यस ठाउँमा पु¥याउनका लागि सबैले पहल गर्नु जरुरी छ । यो काम गर्न सकेमा हामी विश्वकै लागि मनोरञ्जनको हब बन्न सक्षम छौँ ।’

केही महिनाअघि रिलिज बलिउड फिल्म ‘उचाइ’को झण्डै ७० प्रतिशत छायाङ्कन सगरमाथा आधार शिविर आसपास गरियो । सुरज बडजात्या निर्देशित फिल्मको सुटिङका लागि अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकार नेपाल आएका थिए । यस फिल्मको प्रोडक्सन डिजाइनको टिममा पुष्कर लामा पनि थिए । पुष्कर नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष हुन् । पुष्कर ‘उचाइ’ले नेपाललाई विश्वमाझ थप चिनाउन मद्दत गरेको दाबी गर्छन् ।

‘यहाँको संस्कृति, लोकेसन, जीवनशैलीबाट उहाँहरू प्रभावित हुनुभएको छ । नेपालको प्राविधिक सरल र सहयोगी छन् भन्ने सन्देश उहाँहरूले लिएर जानुभएको छ’, पुष्कर भन्छन्, ‘यो हाम्रालागि सकारात्मक कुरा हो । फिल्म हेरेका भारतीय दर्शकहरू उचाइ छायाङ्कन भएको स्थानसम्म पुग्न थालेका खबर हामीले पाइरहेका छौँ ।’ पुष्कर विश्व फिल्मका लागि नेपाल आउटडोर स्टुडियो रहेकाले त्यसलाई सदुपयोग गर्न सबैले चासो दिनुपर्ने बताउँछन् । ‘नेपाली विदेशी फिल्मका लागि भर्जिन लोकेसन हो । नेपाल सरकारले विदेशी फिल्मलाई सहुलियत दिन सकेमा अझ बढी फिल्मकर्मी नेपाल आउँछन्’, पुष्कर अगाडि भन्छन्, ‘सरकारले विदेशी फिल्मलाई कर छुट गराउनुपर्छ । यस कारण हामीले सिनेमा पर्यटनलाई अझ मजबुत बनाउन सक्छौँ ।’

‘क्याराभान’ र ‘उचाइ’ नेपाल विदेशी फिल्मको सुटिङका लागि ‘भर्जिन हब’ हो भन्ने देखाउने उदाहरण मात्र हुन् । नेपालमा बलिउडका देवानन्द, अमिताभ बच्चन, अक्षयकुमार, गोविन्दा, अनिल कपुरदेखि हलिउडका रिचर्ड गेर, कियानु रेभेस, स्टेभन सेगल, रिकी रिकी मार्टिन, मोर्गेन फ्रिमेनलगायतका कलाकारहरू फिल्म सुटिङका लागि आइसकेका छन् । नेपालमा भोजपुरी फिल्म छायाङ्कन गर्न आउनेको सङ्ख्या पनि उल्लेख्य छ । सरकारले दोलखामा फिल्म स्टुडियो निर्माणको कामलाई तीव्रता दिइरहेको छ । यसबाहेक चलचित्र विकास बोर्डले पनि सातै प्रदेशमा सुटिङ स्टुडियो निर्माण गर्ने योजना ल्याइसकेको छ ।

नेपाल चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली सरकारले पर्यटन गन्तव्यको विकास गरेर त्यहाँ सहज रूपमा पुग्न सक्ने बाटोको व्यवस्था गर्न सकेमा विदेशी फिल्मलाई नेपालमा छायाङ्कन गर्न सहज हुने बताउँछन् । ‘नेपालमा सुटिङ गर्न चाहने हलिउडका अधिकांश फिल्महरूले आकाशमै फाइट खेल्ने खालको दृश्य खिच्न चाहन्छन् । तर, उनीहरूले भनेअनुसारको लोकेसन दिन हामीलाई सम्भव छैन । हामीकहाँ ८ वटा हिमाल छन् तर कुनै पनि हिमालमा सुटिङका लागि सरकारले खुला गरेको छैन । खुला गरिहालेको अवस्थामा पनि त्यहाँ सहजै पुग्ने बाटो छैन र उनीहरूले भनेअनुसारको सुविधा दिन पनि सकिँदैन ।’

जनकदीप काठमाडौंबाट पायक पर्ने लोकेसनको एउटा मात्र हिमाल सरकारले सुटिङका लागि खुला गरिदिएमा अन्तर्राष्ट्रिय फिल्म छायाङ्कनको सङ्ख्या दोब्बर हुने दाबी गर्छन् । ‘तत्कालीन सञ्चारमन्त्री पार्वत गुरुङले बजेटको पूर्वतयारीका लागि फिल्मकर्मीसँग राखेको छलफलमा मैले एउटा हिमाल खुला हुनुप¥यो भनेर माग राखेको थिएँ । हिमालमा सुटिङ गर्न चाहनेलाई हिमालमा पु¥याउनै गाह्रो हुने गुनासो गरेको थिएँ’, जनकदीप सम्झन्छन्, ‘उहाँले कुन हिमाल सजिलो हुन्छ भन्नुभएको थियो । काठमाडौंबाट नजिक गणेश हिमाल नै हो । अर्को सम्भावना बोकेको अन्नपूर्ण हिमाल हुन सक्छ भनेपछि बजेट भाषणमा ‘चलचित्र छायाङ्कनका लागि गणेश हिमालमा बाटो लैजाने’ भन्ने रातो किताबमा आयो । तर, त्यसलाई फलो गर्न सकिएन । त्यो काम भएमा गणेश हिमाल सिनेमा टुरिज्मको हब बन्ने थियो ।’

जनकदीप सरकारले निजी क्षेत्रलाई साथमा लिएर काम गर्न सके राम्रो हुने सुझाव दिन्छन् । ‘सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न चन्द्रागिरि केबलकार प्रोजेक्ट दिए जसरी फिल्मको विकासमा पनि चासो दिए नेपाल फिल्म टुरिजम हब बन्नसक्छ ।’ नेपालमा सुटिङ गर्दा विशेष दक्षिण भारतीय तथा भोजपुरी फिल्मको रोजाइ काठमाडौं उपत्यका नै हो । नेपालमा छायाङ्कन भएका ती फिल्म हेर्ने हो भने भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, वसन्तपुर दरबार स्क्वायर, स्वयम्भूनाथ देख्न सकिन्छ । काठमाडौंबाट पायक पर्ने भएकाले पनि ती फिल्मको रोजाइमा यी सम्पदा पर्छन् ।

जनकदीप नेपालको नेचुरल स्टुडियोको भेराइटीलाई अन्तर्राष्ट्रिय बजारमा राम्ररी मार्केटिङ गर्न सकेमा त्यसको फाइदा लिन सकिने बताउँछन् । ‘विदेशीलाई आउटडोर र हामीलाई इनडोर स्टुडियो चाहिएको छ, जहाँ पसेपछि सबै काम सकियोस् । यस काममा सरकारले चाँडोभन्दा चाँडो पहल गर्नुपर्छ’, उनी भन्छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपालमा छायाङ्कन गर्न आउने जुनसुकै देशका फिल्मले सुटिङ अनुमतिका लागि मन्त्रालयमा १५ हजार रुपैयाँ राजस्व बुझाउनुपर्छ ।

‘यहाँ राजस्व बुझाएपछि लोकेसन, ड्रोन प्रयोगलगायत अन्य सम्वेदनशील विषयमा अनुमति लिनका लागि हामी सहजीकरण गर्छौं’, मन्त्रालयका एक कर्मचारीले भने, ‘कुनै सुटिङ आरक्षण क्षेत्रमा गर्नुपर्ने हुन्छ । अहिले धेरै फिल्ममा ड्रोन प्रयोगको चलन बढेकाले त्यसका लागि गृह तथा रक्षा मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ । त्यसमा हामी प्रतिनिधि पठाएर सहजीकरण गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्