भाषा भ्रष्टीकरणदेखि मानकीकरणसम्म



  • प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

काठमाडौं । सिङ्गो मानव जाति र समुदायको साझा सम्पत्तिका रूपमा रहेको भाषा संस्कृतिको संवाहक हो। यसैका माध्यमबाट मानव समुदायले हरेक सामाजिक व्यवहार चलाउँछ । विश्वमा मानव समुदाय अनेक भएकाले भाषा पनि अनेक छन्।

मानव समुदायमा निरन्तर प्रयोगबाट भाषाले क्रमशः मानक स्वरूप ग्रहण गर्दै जाने हुँदा भाषाले मानक स्वरूप धारण गर्न लामो समय लाग्छ । संसारमा प्रचलित अनेक भाषामध्ये नेपाली भाषा पनि लामो इतिहास र परम्परा भएको एउटा महत्वपूर्ण विकसित एवं सम्पन्न भाषा हो र समयक्रममा यसले लगभग मानक स्वरूप धारण गरिसकेको छ।

नेपाली भाषाको मानकीकरणका सन्दर्भमा देखापरेका विभिन्न अभियान र आन्दोलनमध्ये राममणि आ.दी.बाट थालिएको हलन्त बहिष्कार अभियान (१९६५) तथा बनारसमा पढ्दै गरेका नेपाली विद्यार्थीबाट थालिएको झर्रोवादी आन्दोलन (२०१३) उल्लेख्य छन्। यिनमा पहिलो मूलतः छपाइमा वर्ण व्यवस्थापनसम्बन्धी वा वर्णविन्यासकेन्द्री अभियान हो भने दोस्रो मूलतः झर्रो नेपाली शब्दको खोजी र प्रयोगमा केन्द्रित अभियान हो।

यीबाहेक बेलाबखत गरिएका कतिपय अभियान, आन्दोलन, गोष्ठी, प्रकाशन आदिका माध्यमबाट नेपाली भाषासम्बन्धी चर्चा–परिचर्चाले नेपाली भाषाको विकास एवं मानकीकरणमा केही न केही सहयोग पुर्‍याएकै देखिए पनि नेपाली भाषाका बारेमा पछिल्लो समय हुने गरेका कतिपय चर्चा–परिचर्चा भने यसको विकासभन्दा विनाशतर्फ उन्मुख देखिन्छन्।

निकै लामो इतिहास भएको नेपाली भाषाले अनेक आरोहावरोह पार गर्दै लगभग मानक रूप धारण गरिसकेको अवस्थामा पछिल्लो समयमा यसमाथि अनावश्यक आक्रमण सुरु गरिनु दुखद हो। नेपाली भाषा कुनै जातजातिविशेषको भाषा नभएर सबै नेपालीको साझा भाषा भएकाले पनि यसको प्रयोगक्षेत्र व्यापक छ।

नेपाली भाषा अहिले नेपालमा मात्र सीमित नभएर भारतीय विभिन्न भूभागका साथै संसारभर पैmलिइसकेको छ र यसले अन्तर्राष्ट्रिय स्वरूप प्राप्त गरिसकेको छ । भारतमा नेपाली भाषालाई संवैधानिक मान्यता प्रदान गर्न लामो समयसम्म सङ्घर्ष गरिएको सन्दर्भ पनि ज्ञातव्य नै छ । भारतको गुवाहाटी विश्वविद्यालयमा नेपाली एम.ए.को पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माण र पठनपाठनको प्रारम्भ यसै पङ्क्तिकारबाट भएको कुरा सर्वविदितै छ। भारतको सिलोङ, बनारस, उत्तरबङ्ग, सिक्किमलगायतका विभिन्न विश्वविद्यालय र अनेक कलेजमा पनि नेपाली भाषाको पठनपाठन हुन्छ । भारतबाहेक बर्मा र भुटानमा पनि नेपाली भाषाको अधिक प्रचलन छ ।

पछिल्लो समयमा नेपाली जाति पुगेका संसारका विभिन्न देशमा पनि नेपाली भाषाको प्रयोग प्रशस्तै भएको पाइन्छ भने अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायत विभिन्न देशमा पनि नेपाली भाषाको पठनपाठनसमेत हुन थालेको छ। अहिले नेपाली जाति महाजाति बनेझैँ नेपाली भाषा पनि महाभाषा बनिसकेको छ। हरेक भाषा लामो परम्परा र प्रयोगबाट विकसित हुँदै जान्छ र समय क्रममा भाषाका विभिन्न पक्षमा नैसर्गिक परिवर्तन पनि हुन्छ।

भाषा विकसित हुँदै गएपछि व्याकरण एवं कोशको निर्माण हुनाका साथै प्रशस्त मात्रामा साहित्य सिर्जना पनि हुन्छ र त्यस भाषाले मानक स्वरूप प्राप्त गर्छ । नेपाली भाषा पनि लामो परम्परा भएको विकसित भाषा हो। यसले समयक्रममा परिवर्तन हुँदै मानक स्वरूप प्राप्त गरिसकेको छ। नेपाली भाषाले लगभग मानक रूप धारण गरिसकेको र अन्तर्राष्ट्रियकरणसमेत भइसकेको अवस्थामा नेपालबाटै नेपाली भाषामाथि चलखेल सुरु गरी केही व्यक्ति र संस्थाले विभिन्न नामधारी घोषणापत्र र परिपत्र जारी गर्दैमा यसलाई सबैले मान्नै पर्ने बाध्यता हुँदैन।

केही व्यक्तिले एउटा पाठ्यपुस्तक तयार पार्ने अनि केही निकायबाट मुलुकी ऐनका रूपमा लागू गर्नु भन्ने हुकुमी आदेश वा परिपत्र गरे/गराएका भरमा भाषा चल्दैन । यस खालका क्रियाकलापबाट विशेषतः शिक्षक–विद्यार्थीलाई अन्योलग्रस्त तुल्याउँछ । पठनपाठनमा भइरहेको एकरूपता पनि भङ्ग हुन्छ । यस्ता अराजक गतिविधिबाट भाषाको विकास नभई विनाश हुन्छ ।

भाषा भन्ने कुरा जीवनमा एक पटक सिकिने कुरा हो, सधैँ सिकिरहने कुरा होइन । भाषाको वर्णविन्यासगत पठनपाठन पनि तहगत आधारमा फरकफरक हुँदैन, सुरुमा सिकेको क्रमशः विस्तार गर्दै लगिन्छ । वर्णविन्यास उच्चशिक्षामा मात्र आएर सिक्ने/सिकाउने कुरा होइन, यो त सुरुदेखि नै सिकिन्छ। अङ्ग्रेजीको वर्णविन्यास शुद्ध लेख्नुपर्ने अनि नेपालीको चाहिँ जे लेखे पनि हुन्छ भन्ने सोचाइ मात्र राख्नु पनि गलत हो र यस्तो सोचाइ तथा क्रियाकलापलाई भाषाद्रोह मानिन्छ ।

भाषाको मानकीकरणमा शब्दकोशको सर्वाधिक महत्वपूर्ण भूमिका रहन्छ। भाषाको वर्णविन्यासगत र अर्थगत एकरूपताका लागि शब्दकोशको निर्माण अपरिहार्य हुन्छ। भाषाको वर्णविन्यास कोशसँग सम्बद्ध पक्ष भए पनि भाषामा कोश, व्याकरण र प्रयोग पूरै पृथक् होइनन्। यसैले कोशमा एउटा प्रविष्टि दिएर व्याकरणमा अर्कै थोक हुन्छ भन्नु र त्यसभन्दा भिन्न ढङ्गले प्रयोग गर्नु झनै निरर्थक हुन्छ।

भाषा परिवर्तनशील वस्तु भएकाले यससम्बन्धी नियमहरू पनि समय, परिस्थिति, प्रयोग र आवश्यकताअनुरूप बेलाबेला परिवर्तन भइरहन्छन्। यो भाषाको नैसर्गिक गुण हो तर परिवर्तनका नाममा स्थापित मूल्य, मान्यतालाई पूरै भत्काउने काम उपयुक्त हुँदैन। यस्ता क्रियाकलापबाट नेपाली भाषाको विकास हुँदैन।

भाषा अपरिवर्तनीय वस्तु नभई परिवर्तनशील वस्तु भए पनि यसको परिवर्तन मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, राजा वा कुनै निकायको तोक आदेश वा परिपत्रका आधारमा हुँदैन, समयक्रममा नैसर्गिक रूपमा परिवर्तन हुन्छ । यस प्रकारको परिवर्तन भाषाका शब्द, वर्ण आदि विभिन्न तहमा हुने गर्छ । पृथ्वीनारायण शाह वा भानुभक्तकालीन नेपाली भाषा परिवर्तन हुँदै आजको अवस्थामा आइपुगेको हो।

पहिले नेपाली भाषामा प्रचलित तलथोप्ली व, ऋृ, लृ आदि समयक्रममा कसैले पत्तै नपाई हराए । यी कसैको तोक आदेश वा परिपत्रबाट हटाइएका नभई नैसर्गिक रूपमा आफैँ हटेर गएका हुन् । यसरी भाषामा हुने नैसर्गिक परिवर्तन सबैका लागि स्वीकार्य हुन्छ तर जबर्जस्ती गर्न खोजिएको परिवर्तनलाई कसैले पनि स्वीकार गर्दैनन् । यसर्थ भाषा जसलाई जतिखेर मन लाग्यो त्यतिखेर परिवर्तन गरिने वस्तु होइन ।

पछिल्लो समय नेपाली भाषामा अनावश्यक विवाद निम्त्याउने काम विशेषतः केही व्यक्तिबाट जारी गरिएको ‘नेपाली वर्णविन्याससम्बन्धी चन्द्रगढी घोषणापत्र’ (२०६६), अनिवार्य नेपाली विषय समितिका नाममा तयार पारेको भनिएको ‘अनिवार्य नेपाली शिक्षण निर्देशिका’ (२०६६), केही व्यक्तिबाट तयार पारिएको ‘सबैको नेपाली’ (२०६७), नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित ‘नेपाली भाषा सङ्गोष्ठी’ (२०६७), ‘ललितपुर घोषणापत्र’ (२०६८), ‘नेकशुले’ (२०६९), शिक्षा मन्त्रालयबाट पाठ्यक्रम विकास केन्द्रका नाममा जारी गरिएको परिपत्र (२०६९) र त्यसैका आधारमा तयार पारिएको भनिएको ‘प्रकाशन शैली’ (२०७०), नेपाल प्रज्ञाप्रतिष्ठान र भानु प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित भनिएको ‘अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी’ (२०७२) तथा ‘नेपाली बृहत् शब्दकोश’ (२०७२)ले गरेका हुन् ।

सरकारी निकायबाटै गरिएका भाषाविरोधी गतिविधिका विरुद्धमा नेपालका विभिन्न स्थान र विभिन्न विदेशी देशमा अनेकौँ कार्यपत्र, लेख, अन्तर्वार्ता आदिका माध्यमबाट यस पङ्क्तिकारले सशक्त विरोध गरेको कुरा जगजाहेर नै छ । लीला लुइटेलले भाषा बिगार्ने सरकारी निकायका विरुद्धमा खुलापत्र लेखी तीव्र विरोध गरेको कुरा पनि सर्वविदितै छ ।

नेपालीमा पछिल्लो समयमा पदको समेत दुरुपयोग गरी बल्झाइएका मुख्य समस्या संयुक्त वर्णको प्रयोग, पदयोग र पदवियोग, ह्रस्व–दीर्घको प्रयोग, ‘श, ष, स’को प्रयोग तथा पञ्चम वर्ण तथा चन्द्रबिन्दु र शिरबिन्दुको प्रयोग रहेका थिए। नेपाली भाषाको वर्णविन्यासमा जबर्जस्ती बल्झाइएका यी समस्या झट्ट हेर्दा भयङ्कर जस्ता देखिए पनि समाधान नै गर्न नसकिने खालका थिएनन्। यिनमा केही समस्या देखिएका भए पनि अहिले तिनको समाधान भइसकेको छ ।

नेपाली भाषामा देखापरेका कतिपय समस्याहरूको निराकरण गर्ने कामको नेतृत्व राजनीतिक भागबन्डाका आधारमा गठित नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाली विषय समिति आदिबाट त के अपेक्षा गर्नु र ? नेपाली भाषाको मानकीकरण गर्ने कामको नेतृत्व नेपाली भाषा, साहित्यकोे संसारकै सर्वाेच्च निकाय त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागले लिनुपर्ने हो तर यहीँ पनि व्यक्तिगत स्वार्थपूर्तिमा तल्लीन भई गाँड कोराकोर गर्नु राम्रो थिएन र होइन ।

यसै सन्दर्भमा १६ भदौ २०७३ मा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूद्वारा सङ्गठित रूपमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा ‘त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग मानक नेपाली भाषा अभियान– २०७३’ नामक समिति गठन गरी नेपाली भाषाको लेख्य मानक प्रयोगलाई विगत केही समयदेखि केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने दुष्प्रयास भइरहेकोप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेर अवधारणासमेत प्रस्तुत गरियो ।

नेपाली भाषाको मानकीकरणका लागि यस अभियानबाट प्रस्तुत गरिएका अवधारणा र चालिएका कदमप्रति समर्थन र नेपाली भाषामा बल्झाइएका विवाद, अव्यवस्था एवं अराजकताप्रति विरोध जनाउँदै विभिन्न क्याम्पस तथा सङ्घसंस्थाहरूबाट विज्ञप्ति जारी गरिए÷गराइए ।
यसैगरी १० कात्तिक २०७३ मा विभिन्न विश्वविद्यालयका प्राध्यापक, साहित्यकार, प्राज्ञ, सञ्चारकर्मी, कानुन व्यवसायीलगायत देश–विदेशका विभिन्न सङ्घसंस्थासँग सम्बद्ध विभिन्न क्षेत्रका भाषिक प्रयोक्ताहरूबाट प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको अध्यक्षतामा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ गठन गरी अवधारणासमेत प्रस्तुत गरेर नेपाली भाषाको मानकीकरणमा अझ सशक्त रूपले क्रियाशील रहेको कुरा सर्वविदितै छ ।

नेपाली भाषाको मानकीकरणका सन्दर्भमा सञ्जालले राष्ट्रिय स्तरमा नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, प्याब्सन आदि तथा अन्तर्राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थासँग सहकार्य गर्दै तीमार्फत दबाबमूलक विज्ञप्ति जारी गराएर आन्दोलनलाई सशक्त तुल्याइएको कुरा जगजाहेर नै छ ।
त्यतिबेला केही व्यक्तिहरूले अमानक वर्णविन्यासको वकालत गरे पनि सञ्जालको दबाबका सामु तिनको केही लागेन । यस सञ्जालको सशक्त एवं तीव्र दबाबबाट गराइएका प्रमुख कार्यहरू यसप्रकार छन् :

  •  त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागबाट १४ असोज २०७३ मा ‘अनिवार्य नेपाली शिक्षण निर्देशिका’ (२०६६) मा प्रयुक्त अमानक वर्णविन्यास खारेज गराइएको ।
  •  नेपाल प्रज्ञाप्रतिष्ठानबाट ३० कात्तिक २०७३ मा ‘नेपाली बृहत् शब्दकोश’ (२०७२) खारेज गराई मानक वर्णविन्यासअनुरूप प्रकाशित गराइएको ।
  •  नेपाली विषय स्थायी समितिबाट ३ मङ्सिर २०७३ मा र नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय स्थायी समितिबाट ८ पुस २०७३ मा ‘अनिवार्य नेपाली शिक्षण निर्देशिका’ (२०६६)मा प्रयुक्त अमानक वर्णविन्यास खारेज गराइएको।
  •  साझा प्रकाशनबाट १२ फागुन २०७३ मा मानक वर्णविन्यास प्रयोग गर्ने निर्णय गराइएको।
  •  उच्चमाध्यमिक शिक्षा परिषद्बाट अमानक वर्णविन्यासमा छापिएको ‘सबैको नेपाली’ (२०६७) पुस्तक मानक वर्णविन्यासअनुरूप परिमार्जन गराइएको।
  • नेपाल सरकार शिक्षा मन्त्रालयबाट २०६९ सालमा जारी गरिएको अमानक वर्णविन्याससम्बन्धी परिपत्र बदर गराएर नेपाल सरकार शिक्षा मन्त्रालय राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट २९ चैत २०७३ मा विद्यालय तहमा प्रयुक्त अमानक वर्णविन्यास खारेज गराई देवनागरी लिपिमा छापिएका विद्यालय तहका सबै पुस्तक मानक वर्णविन्यासअनुरूप प्रकाशित गराइसकिएको । सञ्जालले २९ चैत २०७३ मा २९ चैतलाई ‘भाषा दिवस’ घोषणा गरी मनाइरहेको।
  • राष्ट्र बैंकबाट सबै बैंकका एटीएममा नेपाली भाषा अनिवार्य गराइएको।
  •  निजी क्षेत्रका प्रकाशन संस्थाहरूबाट अमानक वर्णविन्यासमा छापिएका पुस्तकहरू मानक वर्णविन्यासअनुरूप प्रकाशन गराइएको।
  • विद्युतीय र छापा सञ्चारमा मानक वर्णविन्यासको प्रयोग गराइएको आदि ।मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका यी सबै गतिविधिलाई नेपाली भाषाको मानकीकरणको आन्दोलनमा ठूलो र ज्यादै महत्वपूर्ण उपलब्धि मान्नुपर्छ। नेपाली भाषाको मानकीकरणमा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको विशिष्ट भूमिका र योगदान अतुलनीय एवं अद्वितीय रहेको कुरा कसैका सामु छिपेको छैन । अहिले सञ्जालको अभियान यी निर्णयहरूलाई पूर्ण रूपमा कार्यान्वयन गराउन अनुगमन गर्ने तथा नेपाली भाषाको विकासमा विविध गतिविधि सञ्चालन गर्ने कार्यका साथै नेपालमा चल्ने सवारी साधनमा इम्बोस्ड नम्बर नेपालीमा राख्न लगाउने कार्यमा केन्द्रित छ ।

    सञ्जालका अवधारणालाई विशेष महत्वका साथ प्रकाशन गरी जनसमक्ष पुर्‍याउन सहयोग गर्ने छापा पत्रिका, अनलाइनका साथै पटकपटक हाम्रा अन्तर्वार्ता प्रसारण गर्ने रेडियो, टेलिभिजनको सत्प्रयासको पनि सराहना गर्नुपर्छ । विगतमा आफूले गरेका गल्ती स्वीकार गरी पहिले भाषा बिगार्न परिपत्र गर्ने शिक्षामन्त्री र त्रिभुवन विश्वद्यिालय नेपाली विषय समितिका साथै हाम्रा अवधारणालाई सामाजिक सञ्जालबाट व्यापक रूपमा प्रचारप्रसार गरी सहयोग गर्ने विश्वभरका नेपाली भाषाप्रेमीहरूलाई समेत सञ्जाल पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दछ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको तीव्र दबाब थेग्न नसकी नेपाल प्रज्ञाप्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, साझा प्रकाशनका साथै नेपाल सरकार शिक्षा मन्त्रालयबाट संस्थागत रूपमै अमानक नेपाली वर्णविन्यास खारेज भइसक्दा पनि केही व्यक्तिहरूले वैयक्तिक स्वार्थपूर्तिका लागि पदीय दुरुपयोग गरी नेपाली भाषामाथि अझै खेलबाड गर्न खोजिरहेको देखिन्छ । यिनीहरूका यस्ता दुष्कार्र्य इतिहासमै अक्षम्य भाषिक अपराध हुन् ।
    नेपाली भाषा नेपाली विषय पढ्ने/पढाउने शिक्षक–विद्यार्थीले मात्र नभई अन्य विषयका साथै सरकारी कामकाजलगायत सर्वत्र प्रयोग गरिने साझा भाषा भएकाले अनावश्यक बखेडा झिकेर नेपाली भाषाप्रति वितृष्णा फैलाउने काम कतैबाट कसैले पनि गर्नुहुँदैन । भाषा भन्ने कुरा जीवनभर सिकिरहने होइन र यो कतैबाट निर्देशन गरिएका आधारमा चल्ने वस्तु पनि होइन । यो एक पटक सिकिन्छ र त्यसैअनुरूप प्रयोग गरिन्छ । यसर्थ भाषामा प्रयोक्ताको भूमिका महत्वपूर्ण हुन्छ र यही अधिक प्रयोगका आधारमा भाषालाई नियमीकरण गरिन्छ ।
    भाषालाई वैयक्तिक प्रतिष्ठा सङ्घर्षको विषय नबनाई एकाधिकारवादी र निषेधकारी नीतिलाई त्यागेर राष्ट्रवादी र भाषावादी चिन्तनका साथ एक ठाउँमा बसी छलफल गरिएमा निष्कर्ष ननिस्कने भन्ने कुरै आउँदैन । यसरी छलफल गर्नुको सट्टा स्थानविशेष नामधारी घोषणापत्र र संस्थापिच्छे परिपत्र जारी गर्दै गएमा घोषणापत्रको सङ्ख्या बढाउने र केही व्यक्तिका निहित स्वार्थ पूरा गर्नेबाहेक भाषाको विकासमा कुनै उपलब्धि हुँदैन । अझ पदीय दुरुपयोग गरी परिपत्र जारी गरेका भरमा भाषा चल्दैन भन्ने कुरा नेपाली राजनीतिमा देखापरेका विविध समयका घटनावलीबाट पनि सजिलै बुझ्न सकिन्छ ।
    भाषासम्बन्धी पीडा नेपालभित्रभन्दा नेपालबाहिर बढी छ र तिनीहरू भाषाको मानकीकरण यतातिर फर्केर हेर्छन् र त्यहीअनुसार प्रयोग गर्छन् तर यताका केही व्यक्ति भाषामा भाँडभैलो मच्चाएर वैयक्तिक स्वार्थपूर्तिमै रमाएका छन् । नेपाली भाषा अन्तर्राष्ट्रियकरण भइसकेको अवस्थामा आफ्नै घरबाट आगो लगाउन सुरु गर्नु पटक्कै ठीक होइन । भाषा जननी भएकाले यसमाथि राजनीति नगरौँ र यसलाई कुनै पदाधिकारी वा व्यक्तिवशेष कोहीकसैले पनि वैयक्तिक प्रतिष्ठा सङ्घर्षको विषय नबनाई यसपूर्व जानेर वा नजानेर गरेका गल्तीलाई सच्याएर नेपाली भाषाको अस्तित्व जोगाऔँ । भाषा हाम्रो खास पहिचान भएकाले भाषा रहे मात्र हामी रहन्छौँ । जय नेपाली भाषा ।

    (प्रा.डा. लुइटेल ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’का अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्