प्रजातन्त्रको मार्गदर्शन



  • हरिविनोद अधिकारी

काठमाडौं । कक्षा– ७ मा पढ्ने मेरी नातिनी विश्रुताले नेपाली इतिहासका बारेमा मैले केही कुरा सिकाउँदा जिज्ञासा राखिन्– ‘बाबा, नेपालको इतिहासमा सबैभन्दा महत्वपूर्ण दिन कुन हो ?’  मैले नबुझेजस्तो गरी सोधेँ– ‘इतिहासका सबै मोडहरूमा आउने निर्णायक दिन सबैभन्दा महत्वपूर्ण दिन हो, जसका कारण इतिहासको एउटा प्रवाह बदलिन्छ र समयको अर्को प्रवाहमा देशले जानुपर्ने हुन्छ ।’

उनले फेरि भनिन्– ‘मैले सोधेको के भने, हाम्रो देशमा प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, संविधान दिवस, गणतन्त्र दिवस जस्ता दिवसहरू मनाइन्छन् र सार्वजनिक बिदा पनि दिइन्छ तर यी दिनहरूमा सबैभन्दा महत्वपूर्ण दिन कुन हो भनेर मैले जान्न चाहेकी हुँ।’ मेरो मुखबाट अनायास फुत्त निस्कियो– ‘प्रजातन्त्र दिवस, ७ फागुन मा ।’ अनि, उसको प्रश्न फेरि त्यसरी नै फुत्त आयो– ‘किन र कसरी ?’

मलाई लाग्यो– उनले धेरै अध्ययन गरेर र सायद कक्षामा बहस चलेकाले होला, मलाई सोधेकी रहिछन् । सहज तरिकाले आफ्नो १२ वर्षे उमेर र कक्षाको अध्ययनअनुसारको प्रश्न फेरि सोधिन्– ‘बाबा, नेपाल भन्ने देश त हजारौँ वर्षदेखि रहेको रहेछ नि ! हाम्रो सामाजिक अध्ययन पढाउने मिसले भन्नुभएको।

पुराणहरूमा पनि नेपालको सन्दर्भ आउँछ रे ! हिमवत्खण्डमा नेपालको बयान छ रे ! अनि, काठमाडौं उपत्यकाको स्थापना हुनुभन्दा पनि अघिदेखि हाम्रो देश थियो रे ! त्यसो भए किन तपाईंले भनेका दिनहरू मात्र महत्वपूर्ण भए ? तीमध्ये पनि ७ फागुन मात्र महत्वपूर्ण दिन किन मानियो ?’

मलाई त्यतिबेर आफ्नो अल्पज्ञानप्रति लज्जाबोध भयो तर आधुनिक नेपालका बारेमा मैले नातिनीलाई महत्व बताउनु नै जरुरी भयो । विस्तारै काठमाडौं उपत्यकाको उत्पत्ति, विभिन्न राजवंशको इतिहास, नेपालले आफ्नो अस्तित्व जगेर्ना गर्नका लागि गरेको सङ्घर्षसँग नेपालको एकीकरण, सुगौली सन्धिपछि निर्धारण गरेको आजको नेपालको सङ्क्षिप्त वर्णन गर्दै शाहवंशीय राज्यकालमा श्री ३ जङ्गबहादुर राणाको उदयसँगै राणाकालको जानकारी दिँदै राणा शासनका विरुद्धमा लाग्दा सहादत पाएका शहीदहरूको जानकारी दिएँ, जसलाई उनले पनि केही दिन पहिले शहीद सप्ताह मनाउँदा थाहा पाएकी थिइन् ।

१९९७ सालका अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ तथा धर्मभक्त माथेमाका कथाहरू सुनेकी थिइन् उनले। सामाजिक अध्ययनमा अमर शहीदहरूका बारेमा गृहकार्य गर्न उनीहरूको चित्रसमेत बनाएर जानकारी लिएकी थिइन्, त्यो मलाई थाहा थियो।

औपचारिक रूपमा राणा शासनविरुद्ध आन्दोलन सुरु गर्नका लागि नेपाल प्रजा परिषद् भन्ने दल खोलेर सङ्घर्षरत योद्धाहरूको जहानियाँ राणा शासनविहीन प्रजातान्त्रिक नेपालको कल्पना ७ फागुन २००७ मा नेपाली कांग्रेसको नेतृत्वमा सफल भएको थियो  नेपालले अन्धकार युगबाट, सम्पूर्ण स्वतन्त्रता बन्देज गरिएका जनविरोधी शासनको अन्त्य गरेको थियो र आधुनिक नेपालको आजको खाका कोर्ने काम त्यही दिनपछि मात्र सम्भव भएको थियो। त्यो आन्दोलन नयाँ नेपालको ढोका खोल्नका लागि सकारात्मक र विश्वमा नेपालका पहिचानका लागि थियो।

फेरि नातिनीले प्रश्न सोधिहालिन्– ‘प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र एउटै होइन र ? फेरि किन प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस भनेर फरक नाममा एउटै कुरालाई दिवसको रूपमा मनाएको त ?’ मलाई लाग्यो, नातिनी आज मसँग धेरै कुरामा स्पष्ट हुन मात्र होइन कि मेरो भ्रम चिर्ने तयारीमा देखिइन् । मैले पनि भनेँ– ‘हो नि त विश्रुता, त्यही प्रजातन्त्रको जगमा लोकतन्त्रको नयाँ परिभाषा आएको हो।

त्यही परिभाषाभित्र राजतन्त्रले शान्तिपूर्वक र धेरै मान्छे नमारिई, धेरै सम्पत्ति नमासिई तत्कालीन महाराजा ज्ञानेन्द्रले आफूलाई जनताको इच्छाबमोजिम गर्ने व्यक्तिका रूपमा राजतन्त्रलाई गणतन्त्रका बदल्ने नेताहरूको निर्णयलाई स्वीकार गरेर गद्दी छाड्नुभएको थियो। अहिले नेपालमा ७ फागुनमा प्राप्त प्रजातन्त्रको जगमा नै २०४६ सालमा पुनस्र्थापित प्रजातन्त्र जोगाउन भनेर २०६२/०६३सालमा माओवादी सशस्त्र विद्रोह, नेपालका विभिन्न ठूला भएिका ७ वटा दलका तर्फबाट राजाको हरणमा परेको प्रजातन्त्र पुनस्र्थापनाका लागि सुरु गरिएको संयुक्त जनआन्दोलनले ११ वैशाख २०६३ मा सफलता पाएको थियो ।’

मैले अगाडि भनेँ– ‘२०५६ सालमा षड्यन्त्रपूर्वक विघटन गरिएको प्रतिनिधिसभाको पुनस्र्थापना गरिएको दिनलाई लोकतन्त्र दिवसको रूपमा मनाउन थालिएको हो । शब्दकोशले प्रजातन्त्र, लोकतन्त्र र जनतन्त्रलाई एउटै मान्ला तर जनताको कोशमा जब फरक अर्थका आधारमा त्यागको अर्थ लगाइन्छ, त्यसलाई जनताले त्यहीअनुसार बुझ्छन् ।’

मैले कसरी २००७ सालको जनक्रान्तिले जनताको अधिकारको स्थापना गरेको थियो अनि त्यसपछि नेपालले कसरी विश्व राजनीतिक मञ्चमा आफ्नो योगदान दिन सक्यो भनेर पनि बताएँ र सोधेँ– ‘अब भन, अहिलेको गणतन्त्र दिवस, संविधान दिवस, लोकतन्त्र दिवसको मूल प्रस्थान विन्दुको रूपमा कुन दिन थियो त ?’

उनले भनिन्– ‘पक्कै पनि ७ फागुन नै रहेछ तर किन ७ फागुनको महत्वलाई अचेल कम महत्व दिएर गणतन्त्र दिवसलाई बढी महŒव दिएको हो नि ?’ मैले त्यसमा चाहिँ यसो भनेँ– ‘खासमा गणतन्त्र भनेको गणको शासन प्रणाली हो, दलहरूको शासन प्रणाली हो। राजा पनि पहिले जनताले छान्थे र राज्यमा शासन गर्ने, राज्य गर्ने मुख्य व्यक्तिलाई राजा भनिन्थ्यो। तर, समयक्रममा राजतन्त्रलाई हटाएपछिको शासन प्रणालीलाई गणतन्त्र भनिएको पाइन्छ। सबै गणतन्त्रमा प्रजातन्त्र हुन्छ भन्ने हुँदैन किनभने प्रजातन्त्र जनताका प्रतिनिधिहरूले राज्य गर्ने प्रणाली हो तर प्रजातन्त्रचाहिँ राजतन्त्रमा पनि हुन्छ, गणतन्त्रमा पनि हुन्छ किनभने हामीले प्रजातन्त्रको सुरुआत गर्ने र निरन्तर रूपमा प्रजातन्त्रको अभ्यास गर्ने देशको रूपमा बेलायतलाई लिन्छौँ, जहाँ आज पनि राजतन्त्र छँदै छ।’

मेरी नातिनीले केही बुझेझैँ गरिन्, केही नबुझेझैँ गरी मुन्टो हल्लाइन् र फेरि सोधिन्– ‘कसैले त २००७ सालको नेपाली कांग्रेसको जनक्रान्तिले जनताको इच्छा पूरा नहुँदै क्रान्ति अन्त्य गरेकाले आन्दोलन पूर्ण नभएको भन्दा रहेछन् नि ?’ साँच्चै, मेरी नातिनी पूरा तयारीका साथ मसँग बहस गर्न आएकी रहिछन् र आन्दोलनमा माखो नमारेका त्यसबेलाका र पञ्चायतकालको एउटा तप्काको बोली कसरी मेरी नातिनीले थाहा पाइन् भन्नेतिर मैले वास्ता गरिनँ तर आफूले जानेको कुरा भनेँ– ‘आन्दोलन आखिर समूहले लक्ष्य लिएर गर्छ र त्यसबेला राणा शासनको अन्त्य, राजतन्त्रको संवैधानिक रूपमा स्थापना अनि जनताका प्रतिनिधिले बनाएको संविधानअनुसारको निर्वाचन गरी जनताका प्रतिनिधिले विधि बनाएर शासन गर्ने प्रणालीलाई स्थापना गर्ने लक्ष्य लिएर नेपाली कांग्रेसले जनक्रान्ति गरेको थियो ।’

मैले भनिरहेँ– ‘त्यसको परिणाम जनस्तरमा कम क्षति हुँदै तत्कालीन राणासँग राणाशासनको अन्त्य गरी जनताका प्रतिनिधिलाई समयक्रममा शासन सुम्पने, श्री ३ हटाउने र जनताका प्रतिनिधिसमेतको सहभागितामा सरकार गठन गरी नयाँ संविधान तयार गर्ने र तत्काल विधानसभाको निर्वाचन गरी संविधान बनाई राज्य सञ्चालन गर्ने सम्झौता भएको थियो। त्यसको परिणाम आजसम्म कायम छ र जनताका प्रतिनिधिले छानेको संविधानसभाले नेपालको संविधान बनायो, देशलाई राजतन्त्रबाट गणतन्त्र घोषणा गर्‍यो। अहिले कुनै पनि नेपालीको सन्तान राष्ट्रपति, उपराष्ट्रपति हुन सक्ने, प्रधानमन्त्री हुन सक्ने, प्रधानन्यायाधीश, सभामुख, सेना प्रमुख, प्रहरी प्रमुख हुन सक्ने व्यवस्था गरेको छ।’

उनले सुनिरहिन्– ‘यी सबै अधिकारको, मानवअधिकारको स्रोत भनेको ७ फागुन २००७ मा प्राप्त जनाधिकारको परिणाम हो । त्यति मात्र नभएर नेपाललाई अहिले नयाँ तर परिपक्व प्रजातान्त्रिक देशको रूपमा संसारमा गणना गरिन्छ र नेपालको गरिएको प्रजातान्त्रिक प्रचलनलाई अरू देशमा पनि लिन सक्ने भएका छन् । जसको पछिल्लो उदाहरण तत्कालीन माओवादी जनयुद्धको शान्तिपूर्ण विश्राम हो।’

नातिनीले अब धेरै कुरा सोध्न छाडिन् र भनिन्– ‘अब बुझेँ, नेपालको आजको विकासक्रमको जगमा २००७ सालको जनक्रान्ति रहेछ र त्यसको परिणाम प्राप्त भएको दिन ७ फागुन रहेछ ।’ अर्को अन्तिम प्रश्न भनेर सोधिन्– ‘त्यो नेपाली कांग्रेसको जनक्रान्तिको अभियन्ता खासमा को थियो नि ?’

‘त्यो पार्टी सामूहिक रूपमा सञ्चालित थियो, खासमा २ वटा पार्टीहरूको सङ्गमबाट बनेको थियो र त्यसले नेपाल प्रजापरिषद्को आदर्श ग्रहण गर्दै राजालाई संवैधानिक रूपमा बस्न मनाएको थियो । खासमा नेपाली कांग्रेसका अध्यक्षको रूपमा मात्रिकाप्रसाद कोइराला भए पनि निर्णायक नेताहरूमा विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद उपाध्याय जस्ता नेताहरू हुनुहुन्थ्यो।’

मैले सम्झाएँ– ‘आजका दिनमा नेपाली कांग्रेस भन्ने पार्टीको मार्ग निर्देशक सिद्धान्तका रूपमा विश्वेश्वरप्रसाद कोइरालाको आदर्श र विचारलाई लिइन्छ, जसलाई प्रजातान्त्रिक समाजवादको रूपमा विश्वव्यापी रूपमा मान्यता दिइएको छ र उहाँ नै विश्वभर प्रचलित नेपाली राजनेता पनि हुनुहुन्छ।’

अब नातिनीलाई आफ्ना कुरा सोध्न पुगेको जस्तो लाग्यो र आफ्नो टिपोट हेर्दै गृहकार्य सुरु गर्न थालिन्। मैले पनि आफ्ना अनुभव बताएर पितृकर्तव्य पूरा गरेको ठानेको छु।

प्रतिक्रिया दिनुहोस्