तीन तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विकास र समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । जुनसुकै सरकारका योजना भए पनि आफ्नो क्षेत्रमा भएका विकासबारे सोधीखोजी गर्न र निर्धारित समयमै पूरा गराउनुपर्ने उनले बताए ।

गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको आइतबार बुटवलमा आयोजित दोस्रो अधिवेशनमा मुख्यमन्त्री गिरीले जनताको ढोका अगाडि भएकाले स्थानीय तहले संघ र प्रदेशका योजनामा पनि चासो राख्नुपर्ने र समयमा पूरा गराउन सहयोग गर्न आग्रह गरे ।

‘जुनसुकै सरकारको योजना भए पनि के काम भएको छ ? कति भएको छ ? कुन कम्पनीबाट भएको छ रु समयअनुसार भएको छ छैन भन्नेबारे बुझ्ने र चनाखो रहने गर्नुहोला,’ उनले भने,‘हामी सरकार हौं । यो हाम्रो दायित्व हो । ’

लुम्बिनी प्रदेश सरकारले आफ्नो क्षेत्रमा लागू भएका संघका योजना र आफूबाट बजेट विनियोजन भएका स्थानीय तहका योजनामा पनि चौमासिक विवरण माग्न र प्रगतिबारे जानकारी लिने गरेको भन्दै स्थानीय तहलाई पनि त्यसको सुरुवात गर्न आग्रह गरे ।

मुख्यमन्त्री गिरीले आफूलाई आवश्यकता भएअनुसार स्रोत साधन कुनै पनि सरकारसँग नभएको भन्दै उपलब्ध स्रोत साधनलाई बहुउपयोगमा लगाउनुपर्ने बताए । ‘भएका स्रोत साधनको उपयोग गरेर नागरिकका आवश्यकताका विकास योजनालाई जोड दिनुपर्छ । स्रोत साधन भएन भनेर विकासलाई अलपत्र हुन दिनु हुँदैन,’ मुख्यमन्त्री गिरीले भने । अहिले जनताले आफ्नो जीविका फेरिने विकास चाहेको पनि उनको भनाइ थियो । जनचाहना र जीवनस्तर फेर्ने विकासलाई प्राथमिकता दिन उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्