फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान गर्ने



काठमाडौं । कुवेतको जजिरा एयरवेजले आगामी २५ गते (मार्च ९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ। विमानस्थलबाट जजिराले पुरानै तालिकाअनुसार भैरहवा-कुवेत-भैरहवा सातामा तीन उडान गर्नेछ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाकाअनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान गर्नेछ। बिहान ७:१५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८:०५ मा कुवेतका लागि उड्ने उनले बताए। यसअघि मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिराले झन्डै दुई महिनापछि पुनः उडान सुरू गर्न लागेको हो।

जजिराले यो विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै कुवेतमा नियमित उडान गर्दै आएको थियो। हाल यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द छ। भैरहवा–मलेसिया चार्टर्ड उडान थालेको हिमालय एयरलाइन्सले पनि दुई महिनादेखि उडान रोकेको छ। यसबाहेक हाल विमानस्थलबाट दैनिक १८ देखि २५ वटा आन्तरिक उडान भइरहेको प्रवक्ता झा बताउँछन्।

प्रतिक्रिया दिनुहोस्