कस्तो रहला आज दिनभरको मौसम ?



काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। यस क्रममा प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ।

यस क्रममा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाले मंगलबार प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक दुई स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्