माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो। आज अपराह्न ४ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने नेताहरूले बताएका छन्। आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको उम्मेवारबारे हालसम्म भएका छलफलबारे ब्रिफिङ गर्ने र आवश्यक निर्णय लिने तयारी गरेका छन्।

पदाधिकारी बैठकपछि प्रचण्डले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति जुटाउने उद्देश्यले सर्वदलीय बैठक बोलाउनेसमेत तयारी गरेका छन्। यही १३ फागुनमा राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ।

राष्ट्रपतिका लागि नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवारी दिने तयारी गरेका छन्। अहिलेको गठबन्धन जोगाएर राष्ट्रपतिमा आफ्नाे उम्मेदवार जिताउने रणनीतिमा एमाले छ। पुरानो गठबन्धन ब्युँत्याएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने कसरतमा कांग्रेस लागेको छ। राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक शक्ति हो।

कांग्रेस महामन्त्री गगन थापाले एमालेसहितको गठबन्धन भत्किएर फागुन १० गते पुरानै कांग्रेस सहितको गठबन्धन ब्यूँतने बताइरहेका बेला माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो। आइतबार कांग्रेसका महामन्त्री र माओवादीका दोस्रो तहका नेताहरूबीच ललितपुरमा छलफल भएको थियो।

लगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेसका नेताहरु बालुवाटार पुगेका थिए। अन्य शीर्ष नेतालाई लिएर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमक्ष राष्ट्रपतिमा सघाउन प्रस्ताव गरेका थिए।

प्रतिक्रिया दिनुहोस्