१५ दिने मिथिला माध्यमिक परिक्रमा सुरु



जनकपुरधाम । मिथिला मध्यमिक परिक्रमा आजदेखि सुरु भएको छ। धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी कुटीबाट डोला निस्किएसँगै १५ दिने १३३ किलोमिटरको परिक्रमा यात्रा सुरु भएको हो।

परिक्रमा यात्राको सुरुआतमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिथिला बिहारीको डोला काँधमा बोकेका थिए। त्रेता युगदेखि जनकपुरधामस्थित सुन्दर सदन कुटीबाट किशोरीजी र कचुरीबाट मिथिला बिहारीको डोलासँगै १५ दिने मिथिला माध्यमिक परिक्रमा हुँदै आएको छ।

नेपालकै सबैभन्दा लामो १५ दिने मिथिला मध्यमिक परिक्रमाका क्रममा श्रद्धालु नेपाल र भारतका १५ धार्मिक स्थानमा पुग्ने गर्छन्। सोमबार कचुरीबाट निस्किएको परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमानगढीमा पुगी विश्राम गर्नेछन्।

फागुन शुक्ल औँसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछ। हनुमानगढीबाट निस्किएपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुआत हुन्छ। श्रद्धालुले नेपालका धार्मिक तथा ऐतिहासिक ठाउँहरूको १०७ र भारतको २६ गरी १३३ किलोमिटर भूभागको परिक्रमा गर्ने गर्छन्।

मिथिला मध्यमा परिक्रमा हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीका मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाका पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गरेका छन्। त्यसपछि भारतको करुणा, विशौललगायत धार्मिकस्थल हुँदै १४औँ दिनमा जनकपुरधाम फर्कने छन्।

त्यसपछि एक दिन जनकपुरधाममा विश्राम गरी भोलिपल्ट अन्तगृही घुमेपश्चात् परिक्रमा सम्पन्न हुन्छ। यी सबै विश्रामस्थलको आफ्नै विशेषता छ। महोत्तरीको कञ्चनवन पुगेर श्रद्धालु भव्य रूपमा होली खेल्ने परम्परा छ। त्यही दिनदेखि तराईमा होलीको सुरुआत हुन्छ।

प्रतिक्रिया दिनुहोस्