क्रिकेटले दिलाएको बदनामी



काठमाडौं । क्रिकेट खेलका बारे धेरै कथन थिए । कुनै समय जर्ज बर्नार्ड शाले भनेका पनि थिए, ‘क्रिकेट मूर्खहरूले खेल्ने तथा महामूर्खहरूले हेर्ने खेल हो।’ बर्नार्ड शालेले भनेकै जस्तै हो या होइन, त्यो बहसको विषय हुन सक्छ। तर, एउटा कुरा साँचो हो भने, पुँजीवादले मानव सभ्यतालाई यसरी गाँजेको छ कि अबको समय घन्टा र मिनेटको आधारमा होइन, सेकेन्ड र निमेष–निमेषको समेत रुपैयाँमा गणना हुन थालेको छ।

तीब्र गतिमा विकास भएको यो अर्थतन्त्रीय स्वरूपमा ५ दिनसम्म खेलिने टेस्ट त परै जाओस्, ७ देखि ८ घन्टाबीचको समयमा सकिने १ दिवसीय खेल हेरेर बस्नेलाई महामूर्खको उपमा दिने या नदिने भन्ने पनि बहसको विषय हुन सक्छ । त्यसो त क्रिकेटलाई भलाद्मीको खेल पनि भनिन्छ । तर, दुर्भाग्य, नेपालमा त्यसै भलाद्मीको खेलको साखमा कालो दाग पोतिएको छ– त्यो पनि पखाल्नै कठिन हुनेगरी।नेपाली क्रिकेट पछिल्लो समय एकपछि अर्को विवादमा परेको छ।

काठमाडौंमा भएको टी– २० लिगमा नेपाल क्रिकेट सङ्घ (क्यान) अर्को गम्भीर विवादमा मुछिएको छ । स्पट फिक्सिङको छानबिन प्रक्रिया चलिरहेको समयमा मलेसियाका खेलाडीलाई समेत रणनीतिक साझेदारबाट खेल मिलोमतोको प्रस्ताव जानु साँच्चै दुखद् विषय बनेको छ । रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालियाको निर्देशनमा काठमाडौं नाइट्सका भारतीय सपोर्ट स्टाफ विकास ध्यानीले विदेशी खेलाडीहरूलाई फिक्सिङको प्रस्ताव राखेका पाइएको हो । केन्द्रीय अनुसन्धान ब्युरोले नै दिएको जानकारीअनुसार वीरनदीपलाई उनी र बोस जतिन अलुवालिया दुवै पञ्जाबी भएको बताउँदै जतिनले धेरै माया गर्ने भन्दै प्रलोभन देखाइएको थियो ।

यस घटनाले नपाली क्रिकेटलाई यसरी बदनाम बनाएको छ कि नेपालको यो मिलोमतो प्रकरणका कारण भारतीय क्रिकेट निकाय पनि चासो दिन बाध्य भएको छ । भारतमा हुने गरेको इन्डियन प्रिमियर लिग (आईपीएल) संसारकै क्रिकेट खेलाडीका लागि व्यावसायिक हब हो। त्यही हबका सञ्चालकका नजरमा समेत नेपाली क्रिकेट नराम्रोसँग गिरेको छ, जसले कुनै न कुनै रूपमा नेपाललाई गम्भीर क्षति गर्ने नै छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को वर्तमान नेतृत्वले देशकै बदनामीमा आफूलाई सरिक गरेको कुरा नकार्न मिल्दैन।

क्यान यतिमा मात्र बदनाम भएन, अदालतमा मुद्दा चलिरहेका सन्दीप लामिछानेलाई खेलाउने निर्णय पनि विवादस्पद हो। उनीमाथि लागेको आरोपको छानबिन चलिरहेको छ र यसको फैसला हुन नै बाँकी छ। तर, क्लोज क्याम्पको खेलाडी मध्यरातमा होस्टलमा नभएको साँचो हो। यसमा विवाद हुनै सक्दैन । यस कारण क्यान व्यवस्थापकीय सवालमा नराम्रोसँग चुकेको छ। अनुशासनमा खेलाडी होइन, क्यान नै बारम्बार चुकेपछि खेलकुदका सरोकारवाला निकायका लागि क्यान विघटनभन्दा उपयुक्त अर्को विकल्प हुन सक्दैन।

प्रतिक्रिया दिनुहोस्