राष्ट्रपति लिएर सरकारमा जान कांग्रेस तयार, ‘पूर्णबहादुर कि गगनको नेतृत्व?’ मा अड्कियो हलो



काठमाडौं । बहुमत हुँदाहुँदै परिस्थितिको मूल्याङ्कन गर्न नसक्दा हातबाट फुत्किएको सत्ता फिर्ता गर्न कांग्रेसले निर्णायक पहल थालेको छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार जिताएर सरकारमा सहभागी हुने रणनीतिसहित अघि बढेको कांग्रेसले राष्ट्रपति जितेको खण्डमा सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषयमा समेत मोटामोटी खाका तयार पारेको कांग्रेसका एक नेता बताउँछन्।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफ्नो पार्टीले खडा गर्ने उम्मेदवारलाई सघाउन औपचारिक आग्रह गरेको कांग्रेसले राष्ट्रपति पाए प्रचण्डलाई ५ वर्ष नै प्रधानमन्त्री दिएर सरकारमा तत्काल सहभागी हुने वचनसमेत दिएको ती नेताको भनाइ छ। उनका अनुसार प्रचण्डले भन्दै आएको राष्ट्रिय सहमतिको एजेन्डालाई टेकेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने र पुरानो गठबन्धनको सहारामा उनलाई जिताउने कांग्रेसको प्रस्ताव छ।

सो प्रस्तावपछि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय लिने आश्वासन दिएपछि कांग्रेसले पूर्णबहादुर खड्का या गगन थापाको नेतृत्वमा सरकारमै सहभागी हुने तयारी थालेको उनको भनाइ छ। ‘पूर्णबहादुर या गगनजीमध्ये एकजनाको नेतृत्वमा हामी सरकारमा जान्छौँ । को जाने भन्ने विषय माओवादीको औपचारिक निर्णयपछि गर्छौैं,’ ती नेताले द नेपालटपसँग भने।

उनका अनुसार राष्ट्रपतिमा माओवादीले सघाएको खण्डमा निर्वाचनअघिको कांग्रेस नेतृत्वको गठबन्धनलाई समेत समेटेर सरकार बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले नै प्रचण्डलाई प्रस्ताव गरेका हुन्। आइतबार महामन्त्रीसहितको टिम बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका सभापति देउवाले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताएको खण्डमा एमालेलगायत सरकारमा सहभागी दल बाहिरिए पनि कांग्रेसले नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्तिलगायत पार्टीलाई समेटेर ल्याउने आश्वासन प्रचण्डलाई दिएका छन्।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर जसरी पनि राष्ट्रपति लिने दाउमा रहेको कांग्रेसले यो अभियानमा विवाद नहोस् भनेरै विधान उल्लङ्घन गरेर पार्टीको बैठकसमेत सार्दै आएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न गत २२ पुसमा बोलाइएको केन्द्रीय समिति बैठक स्थागित गरेको कांग्रेसले त्यसयता २८ पुस र १५ माघका लागि तय भएको बैठकसमेत स्थगित गरेको थियो।

कांग्रेस नेताहरूले सार्वजनिक रूपमै ११ फागुनपछि वर्तमान गठबन्धन तोडिएर नयाँ बन्ने दाबी गर्दै आएका छन्। १३ फागुनमा राष्ट्रपति निर्वाचनका लागि मनोनयनको कार्यतालिका छ। दलहरू यसअघि नै राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउने कसरतमा छन्।

माधव नेपालले मार्लान् बाजी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले अघि सारेका उम्मेदवारलाई अस्वीकार गर्ने अडान लिएपछि भावी राष्ट्रपतिका रूपमा पुनः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम चर्चामा आएको छ । राष्ट्रपति कांग्रेसको पोल्टामा जानबाट रोक्न विभिन्न विकल्पमा छलफल गरिरहेको एमालेले आफ्नो पार्टीले अघि सारेको उम्मेदवारले जित्ने अवस्था नआउने अवस्थामा नेपाललाई प्रस्ताव गर्ने गरी पुनः छलफल तीव्र बनाएको छ ।

प्रारम्भिक चरणमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल वा उपाध्यक्ष सुवास नेम्बाङलाई अघि सार्ने तयारी गरेको एमालेले प्रचण्डको अनिच्छापछि बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र पुराना नेता केशव बडालको नाम छलफलमा ल्याएको थियो। तर माओवादीले ग्रिन सिग्नल नदिएपछि उसले पुनः उपाध्यक्ष सुवास नेम्वाङलाई अघि सार्ने प्रस्ताव गरेको थियो।

सो प्रस्तावमा पनि प्रचण्ड अनिच्छुक देखिएपछि एमालेका शीर्ष नेताहरू पुराना नेता या राजनीतिक दृश्यमा नदेखिएका पार्टीप्रति आस्थावान् सार्वजनिक जीवन बिताइरहेका व्यक्तिको खोजी र नेता नेपालमध्ये कसलाई अघि सार्ने भन्ने अन्तिम कसरतमा रहेको एमालेका नेताहरू बताउँछन्। आइतबार कांग्रेस सभापतिसँगको भेटमा प्रचण्डले एमालेले नेता नेपालको नाम प्रस्ताव गर्न सक्ने सङ्केत गर्दै यस्तो अवस्थामा आफ्नो दलले कांग्रेसलाई सहयोग गर्न सकस हुने बताएका थिए ।

सोमबार मात्र प्रचण्ड र नेपालबीच राष्ट्रपतिकै विषयमा लामो संवाद भएको छ । संवादमा नेपालले राष्ट्रपतिको उम्मेदवारमा सहमति जुट्न नसके आफू अघि सर्न तयार रहेको बताएको माओवादी केन्द्रका नेताहरू बताउँछन् । नेपाल स्वयंले समेत यसलाई नकारेका छैनन् । उनले अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डको भएको भन्दै आफू सहमतिको राष्ट्रपति बन्न तयार रहेको बताइसकेका छन् ।

एमालेका नेताहरूसमेत नेपाल राष्ट्रपति भए समाजवादी र एमालेबीच एकताको ढोका खुल्ने निष्कर्षसहित आफ्नो पार्टीका तर्फबाट अघि सारिएका व्यक्तिले जित्ने सम्भावना नभए नेता नेपाललाई प्रस्ताव गरेर अघि जानु उचित हुने भन्दै ओलीलाई ‘कन्भिन्स’ गरिरहेका छन् । एमाले सचिव योगेश भट्टराईले नेपालको नाममा विमति नजनाए पनि आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्नेमा ढुक्क हुन आग्रह गरे । ‘व्यक्ति त पार्टीले निर्णय गरिहाल्छ, केमा ढुक्क हुनुहोस् भने एमालेले प्रस्ताव गरेको व्यक्ति नै भावी राष्ट्रपति हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्