मेटमणिको प्रष्टीकरण : माधव नेपाललाई राष्ट्रपति बनाउन कहीँबाट प्रस्ताव आएको छैन



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले राष्ट्रपतिका विषयमा मिडियामा आएका समाचारमा आधिकारिकता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाका सांसदसमेत रहेका चौधरीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हिजोदेखि राष्ट्रपतिका विषयमा खुबै चर्चा भएपनि कतैबाट पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै भेटघाट नभएको दाबी गरेका छन् ।

सञ्चारमाध्यममा राष्ट्रपतिको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता भएकोबारे समाचार आएका थिए । चौधरीले त्यसैलाई लक्षित गर्दै समय-समयमा यस्ता अफवाहहरु आउने र समयक्रममै हराएर जाने गरेको टिप्पणी गरे । उनले भ्रममा नपर्न पनि आग्रह गरे।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका विषयमा राजनीतिक वृत्तमा विभिन्न कोणमा छलफल जारी छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष ओली एवम् नेकपा एसका नेपालसँग निरन्तर भेटवार्ता गरिरहेका छन् । त्यस्तै, एमालेका ओली र नेकपा एसका नेपालबीच पनि भेटवार्ता भएको समाचारहरु आएका थिए ।

हालसम्म दलहरु राष्ट्रपतिका विषयमा सहमति भइसकेको छैन । माओवादी केन्द्र राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान राख्दै आएको छ भने नेकपा एमाले गत पुस १० गतेको सत्ता गठबन्धनबीच भएको सहमतिमै अघि बढ्नुपर्ने बताउँदै आएको छ । उता कांग्रेसले भने माओवादीले आफ्नो उम्मेदवारलाई समर्थन गर्नुपर्ने भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्