राष्ट्रपतिले गरिन् हेटौँडामा २ सय बेड अस्पतालको उद्घाटन



हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा उपमहानगरपालिका वडा नंबर १ मा रहेको हेटौँडा अस्पतालको ७० कोठे भवनको उद्घाटन गरेकी छिन् ।

संघीय सरकारको ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हेटौँडा अस्पतालले यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा अतुलनीय सेवन दिन सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

२०७७ सालमा ठेक्का भएर यही वर्षको गत असोज महिनामा निर्माण सम्पन्न भएको अस्पातल भवनमा अहिले ७० बेडसहितको विशेषज्ञ सेवा सञ्चालनमा रहेको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष एवम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताए ।

नयाँ भवनमा ७० बेड सञ्चालन भएसँगै अब हेटौँडा अस्पतालमा २ सय बेड नियमित सञ्चालन भएका छन् । प्रदेशको राजधानी भएसँगै स्वास्थ्य सेवामा पछि परेको भन्ने गुनासोलाई हेटौँडा अस्पतालमा नियमित भएका सेवा विस्तारले कमि गर्दै लगेको हेटौँडा अस्पताल विकास समितिका सदस्य उत्सव चौँलागाईले बताए ।

अस्पतालको नयाँ भवन निर्माणसँगै अस्पतालको इमरजेन्सी बेड संख्या ८ बाट २४ वटामा वृद्धि भएको छ । अस्पतालमा हाल ५७ जना चिकित्सकहरु कार्यरत रहेकोमा ३८ जना विषेशज्ञ डाक्टरहरू छन् । अस्पतालमा मेडिकल अधिकृत १९ जना रहेका छन् भने नर्सिङ अधिकृत ५ जना, स्टाफ नर्स ३८ जना समेत गरेर २ सय जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ ।

हाल अस्पतालमा १७ बेडको आइसियू, २० बेडको एचडीयू क्षमता र ६ बेडको डायलिसिस सेवा सञ्चालन रहेको छ । अस्पतालले ५०० बेडको लागि पर्याप्त हुने अक्सिजन प्लान्ट जडान गरेको छ ।

अस्पतालले पछिल्लो पटक मनोरोगको विशेषज्ञ सेवा सञ्चालन गरेको अस्पतालले जनाएको छ । नयाँ भवन बन्नुअघि दैनिक ४ सय जनालाई मात्रै सेवा प्रदान गर्दै आएको अस्पतालले हाल दैनिक ७ सय जनाभन्दा बढीलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्