सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गरेकी छन् । यसका लागि संघीय, प्रदेश र स्थानीय तहहरूलाई समन्वय गरेर प्रभावकारी रूपमा अघि बढ्न उनले आग्रह गरिन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको मंगलबार मकवानपुरमा उद्घाटन गर्दै भण्डारीले प्रतिष्ठानलाई पनि स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नति र दक्ष जनशक्ति उत्पादनका लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका अनुसन्धानमुलक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रदेश सरकार र स्थानीय तहले आत्मसात् गरेर अघि बढ्नुपर्ने बताइन् ।

विपन्न नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरी उनीहरूलाई उपचार विधिमा विश्वस्त तुल्याउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

विभिन्न समय र मौसममा हुने सङ्क्रमणबाट मुलुकका सबै नागरिकलाई जोगाउन अस्पताल तथा यहाँका स्वास्थ्य क्षेत्रका जनशक्तिले जनचेतना जगाउने काम गर्नुपर्ने उनले बताइन् । समय समयमा देशका विभिन्न प्रदेशमा डेँगी र हैजा जस्ता रोगहरूको सङ्क्रमणले चुनौती थपिएकाले स्वास्थ्य क्षेत्रका विशेषज्ञहरू समयमै ती रोगहरूलाई नियन्त्रणमा ल्याउने काममा खटिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गरेर २०७६ असोज २ गते हेटौँडा अस्पतालाई सो प्रतिष्ठानअन्तर्गत ल्याएर सर्वसाधारण नागरिकहरूलाई तत्कालै स्वास्थ्य उपचार सेवालाई सुलभ बनाउने र दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने कार्यमा लागेको भन्दै सो कार्य प्रशंसनीय रहेको बताइन् ।

उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले पहिलो कार्यकालमा नै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७३ पारित गरेको बताए । प्रदेशको राजधानी हेटौँडाको जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो प्रतिष्ठानको मातहतमा ल्याइएको उनको भनाइ छ ।

प्रदेशका अस्पतालहरूलाई स्तरोन्नति गरी दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको तथा बेलाबेलामा आइपर्ने कोभिड–१९, डेँगी नियन्त्रणमा लिन आवश्यक जनशक्ति र बजेट विनियोजन गरिएको जम्मकट्टेलको भनाइ छ ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले अस्पतालमा बिरामीको उपचार सेवाभन्दा बाहिर रिफर गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे । अस्पताललाई प्रतिष्ठानअन्तर्गत सञ्चालनमा ल्याइएपछि स्वास्थ्य सेवालाई भरपर्दो र तत्कालै गुणस्तरीय सेवा प्रदान गर्न विभिन्न चरणमा प्रयास जारी राखेको बताए ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले हेटौँडाको अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा रुपान्तरण गरेर प्रदेशका विभिन्न जिल्लाका बिरामीलाई तत्काल उपचार सेवा दिइने बताए । सबै नागरिकलाई स्थानीय निकायको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुर्‍याउन प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र विभिन्न उपकरणहरू उपलब्ध गराइसकिएको उनको भनाइ छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। विश्वराज जोशी र डिन दुर्गकुमारी मिश्रले सो प्रतिष्ठानले हेटौँडामा स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने, एमबीबीएस फार्मेसीलगायत अन्य विषयमा पनि उच्च शिक्षा अध्यापन गराउने उद्देश्यले हाल सो प्रतिष्ठानलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरी सम्बन्धित निकायमा पत्राचार भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्