उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : पार्टीभित्र व्यक्तिवाद र भ्रष्टीकरण मौलायो



काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवाद र भ्रष्टीकरण झाँगिदै गएको बताएका छन् । उनले त्यस्तो प्रवृत्तिलाई तत्काल नियन्त्रणमा ल्याएर पार्टीलाई पुनः क्रान्तिकारी धारमा लैजानुपर्ने धारणा राखेका छन् ।

श्रेष्ठले माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखाको सातौं जिल्ला अधिवेशनको उद्घाटन क्रममा उक्त कुरा उल्लेख गरेका हुन्। आज अधिवेशन उद्घाटन गर्दै उनले भने, ‘माओवादी केन्द्रले राज्यको, समाजको र नेपाली राजनीतिको नेतृत्व गर्नुपर्छ । त्यसको निम्ति शक्तिशाली र क्रान्तिकारी संगठनको भूमिका खेल्नुपर्छ ।’

पार्टी कार्यकर्ता सामुन्ने उनले पछिल्लो समयमा आफूहरु कमजोर बन्दै गएको पनि बताएका छन् । ‘राजनीतिमा देखिएको आमभ्रष्टीकरण हाम्रो पार्टी र संगठनमा पनि फस्टाउन थालेको छ,’ श्रेष्ठले भने, ‘यसलाई नियन्त्रण गरेर जनतासँगको सम्बन्धलाई पहिलेको अवस्थामा पुर्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्