बालुवाटारमा पुरानो पाँच दलीय गठबन्धनको बैठक जारी



काठमाडौं । चुनावअघिको पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बालुवाटारमा अहिले चुनावअघिको पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच छलफल जारी छ।

राष्ट्रपति उम्मेदवार र पुरानो गठबन्धन ब्युँताउने विषयमा बिहीबार साँझ सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको तीन दलको बैठकले राष्ट्रपतिको उम्मेदवारका लागि सहमति खोज्न कांग्रेससँग छलफल गर्ने निष्कर्ष निकालेको थियो । सोही अनुसार अहिले पाँच दलको बैठक बसिररहेको हो।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता सहभागी छन्।

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्। बैठक बिहान ९ बजेदेखि जारी रहेको बताइएको छ। राष्ट्रपति पदका कारण वर्तमान सत्ता गठबन्धन टुट्ने आशंका भइरहेका बेला पुरानो पाँच दलीय गठबन्धन सक्रिय भएको हो।

प्रतिक्रिया दिनुहोस्