अनियमितताको पराकाष्ठा



काठमाडौं । ओलम्पिक स्कलरसिप कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घले अनियमितता गरेको कुरा सार्वजनिक भएको छ। बरीयतामा माथि रहेका खेलाडीलाई बेवास्ता गर्दै तल्लो बरीयातमा रहेका खेलाडीलाई प्राथमिकता दिएको भन्दै मुख्य प्रशिक्षकले नै सङ्घको विरुद्धमा आवाज उठाए। १ वर्षअघि सोही सङ्घले स्कलरसिपबापतको रकम खेलाडीलाई नदिएको घटना चर्चामा रहेको थियो। नेपाली खेलकुदमा राष्ट्रिय सङ्घले गरेको ज्यादतीको यो एउटा चरम नमुना हो।

नेपालमा वर्षौंसम्म खेलकुदमा बिताएकाहरू आर्थिक हैैसियत दरिलो भएका कारण मात्र नेतृत्वमा आएका धेरै उदाहरण छन्। नेपाली खेलकुदमा अहिले एउटा शब्द प्रचलित छ– ‘पैसावाल दरिद्र ।’ं खेलकुदमा आर्थिक रूपले हैसियत भएका तथा मानसिक रूपले दरिद्रहरूले राज गरेका छन्। आधाभन्दा बढी खेलमा यही मानसिकताका व्यक्तिको जगजगी छ। धेरै राष्ट्रिय खेलाडी सुरक्षा निकायमा जागिर भएका कारण खुलमखुला नेतृत्वले गरेको बदमासीको विरुद्धमा आवाज उठाउन असमर्थ होलान्।

साँचो भन्नुपर्दा, रोजगारी र करिअरका कारण सङ्घ नेतृत्वले गरेको बदमासीको विरुद्धमा आवाज उठाउन कठिन हुन्छ। तर, यसको मतलब यो होइन कि खेल निकायमा अन्याय र अत्याचार कम छ। ‘बेस्ट मस्ट विन’ नै खेलकुदको मूल मर्म हो । उत्कृष्ट चयनको एउटा आधार हुन्छ नै । त्यस आधारलाई धेरै सङ्घले मिचेका उदाहरण सयौँ पाउन सकिन्छ।

खेलाडी, प्राविधिक र प्रशिक्षक सबै क्षेत्रमा नेतृत्वले चाकडी र चाप्लुसी खोज्ने गरेको छ। रङ्गशाला परिसरमा अनगिन्ती ‘बबुरा’ देख्न पाइन्छ, जो श्रम गर्न छाडेर, घर परिवार बेवास्ता गरेर नेतृत्वमा रहेका ती ‘पैसावाल दरिद्र’को पछि लागेर जीवन बिताउछन्, त्यो पनि अत्यन्त झिना मसिना लोभ र लालचमा । अझ भनौँ, धेरैको चाहना बिना कुनै खर्च हवाई यात्रा गर्ने र तारे होटलमा भात खानकै लागि नेतृत्वको गलत कदमको साथ दिने रहेको देखिन्छ।

खेलकुदमा रहेका ती ‘पैसावाल दरिद्र’को कुरा भने आश्चर्यलाग्दो छ। सम्पन्नताको आधारमा कुनै योगदान नभएको क्षेत्रमा नेतृत्वमा पुग्ने त्यस समूहले राष्ट्रिय सङ्घको कार्यालयसमेत स्थापना गर्न सकेको छैन। कुनै खेलाडीलाई केही सहयोग गर्न सकेको छैन । खोज्दै गएमा यस्ता सयौँ उदाहरण भेट्न सकिन्छ। तिनको नेतृत्वमा रहेका धेरै सङ्घका महासचिवको अन्तर्राष्ट्रिय निकायमा पत्राचार गर्ने क्षमता छैन। जिन्दगीभर त्यस खेलमा नलागेकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम क्याप्टेनको रूपमा पठाइएका थुप्रै उदाहरण छन्।

यस्ता सयौँ कारण छन्, जसले नेपाली खेलकुद निश्चित समूहको अपराधको क्रीडा स्थल मात्र बनेको छ। अब यस क्षेत्रमा रहेका हरेक इमान्दार व्यक्तिका लागि कुनै पनि ढङ्गको सामूहिक विद्रोह नै अन्तिम विकल्प बनेको छ । गायक रामेश र रायनले भनेजस्तै जोसँग जे छ, त्यही लिएर उठ्नुको विकल्प पनि छैन ।

प्रतिक्रिया दिनुहोस्