कर्मचारीलाई मन्त्री खानको चेतावनी : खानेपानीमा राजनीति नगर्नू



काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आज सोमवार नेपाल खानेपानी संस्थानको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिएका हुन् ।

उनले खानेपानी संस्थान सर्वसाधारणलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताएका छन् । उनले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिका लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिएका छन् ।

उनले भने, ‘खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउँ । राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरू पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु । तर खानेपानीमा राजनीति नगर्नुस् । राजनीति गरौँ तर यसमा प्रधानमन्त्रीको अघि धर्ना बसेर, अर्थ मन्त्रालयको अघि बसेर धर्ना दिऔँ म अगाडि हुन्छु तर कर्मचारीलाई उचालेर राजनीति नगरौँ । कर्मचारीलाई मर्कामा राख्ने कुरा हुँदैन, कर्मचारी भनेको सेवक हुन्, उनीहरूले राम्रो ठाउँ पाउनुपर्छ । कर्मचारीले पार्टी र व्यक्तिका लागि आन्दोलन होइन, खानेपानीका लागि आन्दोलन गरौँ ।’

मन्त्री खानले काभ्रेपलाञ्चोकको पनौतीमा रहेको खानेपानी संस्थानलाई निजीकरण गर्ने कुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिनभित्रमा पेस गर्न खानेपानी संस्थानलाई निर्देशन पनि दिएका छन् । उनले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्