राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनाव प्रचारमा ४ लाख खर्च गर्न पाउने



काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनावी खर्च स्वरुप अधिकतम ४ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् । साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (भोलि) देखि ५ चैतसम्म आचारसंहिता लागू हुने जनाइएको छ । राष्ट्रपतिको फागुन २५ मा र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडल र नेकपा एमालेको तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन् । दुवै उम्मेदवारविरुद्ध कुनै उजुरी परेको छैन । अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरुले मात्र प्रचारप्रसार गर्न पाउँने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले तोकेको खर्चको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १/१ लाख, कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०/२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्