दाङमा लघुवित्त पीडितले दिए प्रशासनमा धर्ना



काठमाडौं। लघुवित्त संस्थाबाट पीडितहरुले जिल्ला प्रशासन कार्यालय दाङमा धर्ना दिएका छन्। लघुवित्त संस्थाहरुले ज्यादती गरेको भन्दै त्यस विरुद्धमा पीडितहरुले मंगलवार दिउँसो जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिएका हुन्।

लघुवित्तीय संस्थाहरुले लगाएको सामुहिक ऋण मिनाह गर्नुपर्ने, लघु वित्तीयको ज्यादती रोक्नुपर्ने र गरिब र किसानहरुलाई निशुल्क ऋण उपलब्ध गराउनुपर्ने माग राख्दै पीडितले प्ले कार्ड पनि प्रदर्शन गरे।

लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिकी केन्द्रीय अध्यक्ष पार्वती नेपालीले लघु वित्तिय संस्थाहरु गरिब मारा भएको बताइन्।

‘लघुवित्तले सोझा महिलाहरुको विचल्ली बनाएको छ’ उनले भनिन्, ‘लिएको भन्दा बढी तिर्दा पनि ऋण सकिँदैन। पीडित महिला घर न घाट भएका छन्।’

उनले लघु वित्तको फन्दामा परेका सोझा महिलाहरु लघु वित्तियको ज्यादती सहन नसकेर घर नै छोडेर भाग्नुपर्ने अवस्था आएको बताइन्। ‘पीडितहरु राता रात घर छोडेर भागेका छन्, कति लुकेर बसेका छन्, कतिले आत्महत्या पनि गरे’ उनले भनिन्, ‘यो ज्यादती कहिलेसम्म भोग्ने ?’

लघु वित्तको ज्यादती अन्त्य नगरे र लगाएको ऋण मिनाह नगरे आन्दोलन थप चर्काउने चेतावनी उनीहरुले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्