मिथिलाको गौरवमय इतिहास र मध्यमा परिक्रमा



  • ललितकुमार यादव

काठमाडौं । सभ्यता, संस्कृति र भाषा मानव समुदायको पहिचान हो । मिथिला हाम्रो सभ्यता र संस्कृति हो भनेर गर्वका साथ भनिन्छ। मिथिला क्षेत्रको प्रमुख भाषा मैथिली हो र यो भाषा बोल्ने मानिसहरू मैथिल हुन्। मिथिला र यसको राजधानी जनकपुरधामको इतिहास स्वर्णिम एवं गौरवमय छ। इतिहासमा मिथिला वैभवशाली थियो र आज पनि छ। केवल वैभव फर्काउनेगरी काम हुन सकेको छैन।

शिक्षाका लागि मिथिला उर्वर भूमि हो। पूर्वीय षड्दर्शन (६ दर्शन)मध्ये ४ दर्शनको उद्गमस्थल मिथिला नै हो। मिथिला क्षेत्रले नेपाल र भारतबीच सांस्कृतिक र सामाजिक सम्बन्धलाई अटुट रूपमा जोडेको छ । याज्ञवल्क्य, जनक, अष्टावक्र, न्यायवार्तिकका रचैता उद्योतकर, उदयनाचार्य, गङ्गेश उपाध्याय जस्ता पछिल्ला चिन्तक जनकपुरमै जन्मेका मानिन्छ, जसले जनकपुरको परिचयमाथि प्रकाश पारेका छन्।

मिथिलाको मध्यमा परिक्रमाको नामले चिनिने मिथिला परिक्रमा सम्भवतः विश्वमा सबैभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रामध्येको एक धार्मिक यात्रा हो। मिथिलाको राजधानी एवं धार्मिक र सांस्कृतिक भूमिलगायत विभिन्न नामले समेत परिचित रहेको ७२ कुण्ड र ५२ कुटीको शहर जनकपुरधामको वरिपरि पैदल यात्रा गरी परिक्रमा यात्रा सम्पन्न गर्ने गरिन्छ। यो यात्रा नेपाल र भारतको संयुक्त यात्रा हो । यस यात्रामा जम्मा १२८ किलोमिटर दुरी पैदल तय गरिन्छ। ऐतिहासिक, पौराणिक एवं धार्मिक यात्राको रूपमा परिचित मध्यमा परिक्रमा त्रेतायुगदेखि चल्दै आएको छ। यस परिक्रमालाई मिथिलाको माहाकुम्भको रूपमा समेत लिने गरिन्छ।

प्रत्येक वर्ष भगवान् राम र सीताको सम्झनामा परिक्रमा यात्रा गर्ने चलन मिथिलामा छ । जानकारहरूका अनुसार ३०० वर्ष अगाडि अर्थात् १८औँ शताब्दीदेखि यस धार्मिक यात्रालाई मध्यमा परिक्रमाको रूपमा मनाउँदै आइएको हो। बृहत्, मध्यमा र अन्तरगृह गरी ३ प्रकारका परिक्रमा मनाउने चलन छ । परिक्रमामा नेपाल–भारत दुवैतर्फका साधु–सन्त र गृहस्थहरूको उल्लेख्य सहभागिता रहने गर्छ । परिक्रमालाई नेपाल–भारतको सद्भावपूर्ण धार्मिक यात्राको रूपमा समेत हेर्ने गरिन्छ ।

फाल्गुण औँशीमा हनुमाननगरमा विश्राम गरी प्रारम्भ भई फाल्गुण पूर्णिमामा जनकपुर अन्तरगृह परिक्रमा सम्पन्न गरी मध्यमा परिक्रमाको समापन हुने गर्छ । परिक्रमा अवधिमा १५ वटा धार्मिक स्थलमा विश्राम गर्दै १५ दिनसम्म पैदल यात्रा गर्ने गरिन्छ । १५ विश्रामस्थलमध्ये ११ नेपाल र ४ वटा भारतमा रहेका छन् । सबै विश्रामस्थल विशेष धार्मिक महत्व बोकेका स्थलहरू छन् । यी स्थलहरूको महत्व राम–सीता विवाहसँगै राजा जनकसँग विशेष सम्बन्ध रहेको मान्यता छ । यी स्थलहरूमा राम–सीता विवाहका विभिन्न विधि सम्पन्न गरिएको मान्यता छ ।

बृहत् मिथिला परिक्रमाले ८४ कोस दुरी ओगटेको छ, त्यसैले यसलाई चौरासी कोसीय परिक्रमा भन्ने चलन छ । यसले गङ्गा नदी, गण्डक नदी, हिमालय र कोसी नदी नजिकको मिथिला क्षेत्रलाई समेट्छ । यसले धेरै ठुलो दुरी ओगट्छ । मिथिला मध्यमा परिक्रमा बृहत् मिथिला परिक्रमाभन्दा सानो छ । सक्नेले ५ दिनमा पनि मध्यमा परिक्रमाको यात्रा सम्पन्न गरेका छन्, तथापि, सबैको ल्याकत र शक्तिलाई ध्यानमा राखेर परिक्रमा अवधिलाई १५ दिनको बनाइएको पाइन्छ ।

जनकपुरबाट ३ किलोमिटरको दुरीमा रहेको ठेरा कचुरीस्थित मिथिलाबिहारी मठबाट मिथिलाबिहारी तथा जनकपुरको अग्निकुण्डबाट किशोरीजीको डोलाको नेतृत्वमा विभिन्न झाँकी र कीर्तन टोलीसहित परिक्रमा यात्रा प्रारम्भ हुने चलन छ । परिक्रमामा विभिन्न डोलाहरूको समेत सहभागिता रहने गर्छ । परिक्रमा अवधिभर सहभागीहरू भजन, कीर्तनसहित विभिन्न झाँकीमा सहभागी हुने र रमाउने गर्छन् ।
पहिलो दिनको विश्रामस्थल जनकपुरको हनुमाननगर रहेको मिथिला मध्यमा परिक्रमाको दोस्रो दिनको विश्रामस्थल भारतको कलानेश्वर रहेको छ । कलानेश्वरमा रहेको शिव मन्दिरमा राजा जनक शिवको पूजा गर्न आउने गर्थे । यात्राको सङ्कल्प यही ठाउँमा गरिन्छ ।

तेस्रो दिनको विश्रामस्थल भारतकै फुलहरको गिरिजास्थान रहेको छ । गिरिजास्थानमै राम र सीताको पहिलो भेट भएको विश्वास गरिन्छ । यहाँ सीता फूल टिप्न आउने गर्थिन् । दोस्रो र तेस्रो दिनको भारत विश्रामपछि परिक्रमा यात्रा नेपालको महोत्तरी प्रवेश गर्छ । चौथो दिनको विश्रामस्थल महोत्तरीको मटिहानी रहेको छ । मटिहानीमै सीताको मटकोर भएको थियो । सीताको बिहे हुँदा वेदी बनाउन यहीँको माटो लगिएको भनिन्छ ।

पाँचौँ दिनको विश्रामस्थल महोत्तरीको जलेश्वर रहेको छ । जलेश्वर महोत्तरी जिल्लाको सदरमुकाम हो र यहाँ बहुचर्चित जलेश्वरनाथ मन्दिर रहेको छ । छैटौँ दिनको विश्रामस्थल महोत्तरीको मडई रहेको छ। मडईमै राम र सीताको विवाह उत्सव सम्पन्न भएको मान्यता छ । सातौँ र आठौँ दिनका विश्रामस्थल पनि क्रमशः महोत्तरीकै ध्रुवकुण्ड र कन्चनवन रहेका छन् । कन्चनवनमा राम र सीताले होली खेलेको विश्वास छ । परिक्रमा यात्राको क्रममा सहभागीहरूले कन्चनवन पुगी होली खेलेसँगै मिथिलामा रङ–अबीर र उत्सवको पर्व होली सुरु भएको मानिन्छ ।

चौथोदेखि आठौँ दिनसम्मको लगातार ५ दिनको महोत्तरी विश्रामपछि परिक्रमा यात्रा नेपालको धनुषा जिल्ला प्रवेश गर्छ । नवौँ दिनको विश्रामस्थल धनुषाको पर्वता रहेको छ । क्षीरेश्वरनाथको दर्शन गर्दै परिक्रमा यात्रीहरू रातको बास बस्न पर्वता पुग्ने गर्छन् । दशौँ दिनको विश्रामस्थल धनुषाको धनुषाधाम रहेको छ। धनुषाधाममा सीता स्वयंवरको क्रममा रामले भाँचेको धनुषको अवशेष छ । एघारौँ दिनको विश्रामस्थल धनुषाको सतोषर रहेको छ। यहाँ सप्तेश्वर महादेवको मन्दिर छ। बाह्रौँ दिनको विश्रामस्थल धनुषाकै औरही रहेको छ।

नवौँ दिनदेखि बाह्रौँ दिनसम्मको धनुषा विश्रामपछि पुनः परिक्रमा यात्रा भारत प्रवेश गर्छ । तेह्रौँ दिनको विश्रामस्थल भारतको करुणा रहेको छ । करुणामा राजा जनक करुणा महासागरमा डुबेको मान्यता छ । चौधौँ दिनको विश्रामस्थल बिसौल रहेको छ । बिसौलमा परिक्रमा यात्रीहरूले करही बरी खाने चलन छ । मिथिलामा करही बरी विशेष समयमा खाने चलन छ ।

पन्ध्रौँ दिनमा परिक्रमा यात्रीहरू पुनः कलानेश्वर हुँदै जनकपुर आई जनकपुरमा बास बस्ने गर्छन् । भोलिपल्ट पूर्णिमाको दिन बिहानै अन्तरगृह परिक्रमापश्चात् परिक्रमा यात्रा समापन हुन्छ । मध्यमा परिक्रमामा सहभागीहरू अन्तरगृह परिक्रमामा सहभागी हुनै पर्ने मान्यता छ । अन्तरगृह परिक्रमामा सहभागी नभई परिक्रमा यात्रा सफल भएको मानिँदैन साथै मध्यमा परिक्रमामा सहभागी हुन नसकेकाहरू पनि अन्तरगृह परिक्रमामा सहभागी हुने गर्छन् ।

अन्तरगृह परिक्रमामा सहभागी हुनसमेत उल्लेख्य मात्रामा सहभागीहरू आउने गर्छन् । अन्तरगृह परिक्रमाले जनकपुर शहरको गोलाकार मार्ग समेट्छ । जानकी मन्दिर र राम मन्दिरलाई केन्द्रमा राखेर विभिन्न मठ, मन्दिरमा दर्शन, पूजा गरी अन्तरगृह पञ्चकोशीय परिक्रमा सम्पन्न गरिन्छ । अन्तरगृह परिक्रमा समापन भएको भोलिपल्ट अर्थात् पूर्णिमाको भोलिपल्ट मात्र विधिवत् रूपमा होली मनाउने चलन छ, तराईमा विशेषगरी मिथिलामा ।

परिक्रमामा सहभागीहरूको सहयताका लागि विभिन्न सङ्घसंस्था र स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य शिविर, खानेपानी र भोजनको समेत व्यवस्था गरेका हुन्छन् । विश्रामस्थलहरूमा यात्रीहरूका लागि विभिन्न सामग्रीहरूको व्यवस्था गर्ने र स्वागत गर्न स्थानीय बासिन्दाहरू सक्रिय रूपमा सहभागी हुने गर्छन् । परिक्रमामा सहभागी यात्रीहरू दिउँसो एक विश्रामस्थलबाट अर्को विश्रामस्थलमा जाने, बास बस्न बासस्थानको व्यवस्थापन गर्ने र सञ्चालन हुने विभिन्न धार्मिक र सांस्कृतिक गतिविधिमा सहभागी हुने गर्छन्।

त्यस्तै, रातको समयमा भजन, कीर्तनलगायतको कार्यक्रममा सहभागी हुने र आराम गर्ने गर्छन् । सहभागीहरू रातको बास गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा बस्ने गर्छन् । मिथिला हाम्रो सभ्यता हो, गर्वका साथ भन्नुपर्छ कि सनातन संस्कारको महान् अनि पावन उदाहरणीय घटनाहरूमध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो । रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासँग लगनगाँठो कस्दाको इतिहास अझै पनि पवित्र मिथिलाधामका गाउँ, चोक अनि चौताराहरूमा भनिन्छ, कथिन्छ, गाइन्छ अनि आत्मसात् गरिन्छ ।

जनक राजाको सिङ्गो राज्य अनि राजधानी मिथिलाको जनकपुरधाम नेपालमै शोभायमान छ, जानकी मन्दिर नेपाली माटोबाट हरेक दिन मुस्कुराउँछ । भजन, कीर्तन अनि पावन कार्यहरूले आज पनि मिथिला भूमि हरेकपल पुलकित छ। मिथिला पवित्र भूमिको रूपमा परिचित छ।

मिथिलाका राजा जनक, जो नेपालको राष्ट्रिय विभूतिका रूपमा स्थापित छन्, जो पुराणहरूमा व्यास, पाणिनी, अष्टाबक्रलगायत ऋषिको लहरमा परिचित छन्, उनले विभिन्न ऋषिसँग जिज्ञासुका रूपमा शास्त्रार्थ गर्ने क्रममा जे जति ज्ञान प्राप्त गरे, त्यसलाई जनक दर्शन भनिन्छ । जनकका विचारहरू कुनै लिखित ग्रन्थका रूपमा त छैनन् तर महाभारत, श्रीमद्भागवत, देवीभागवत, बृहदारण्यकोपनिषद्, अष्टाबक्र, गीतालगायत ग्रन्थमा छरिएर रहेका छन् ।

जनक को हुन् ?
नेपालको सन्दर्भमा जनकपुरधाम अर्थात् मिथिला सभ्यतालाई पौराणिक सभ्यताको रूपमा विवेचना गरिएको पाइन्छ । अयोध्याका राजा मनुका पुत्र निमी, जसका मिथी नामका छोराले मिथिला नामक शहर स्थापना गरेको प्रसङ्ग भविष्य पुराणमा छ । निमीका पुत्र मिथी नै मिथिलाका संस्थापक भएकाले उनलाई जनक भनिएको र उनै नामबाट जनकपुर अर्थात् मिथिला नाम रहन गयो अनि जनक शब्द एक उपाधिका रूपमा प्रचलित भयो । निमी देहरहित मानिएकाले यस क्षेत्रलाई विदेह राज्य पनि भनिन्छ ।

जनकपुर क्षेत्रको पौराणिक भूगोलका विषयमा विभिन्न साहित्यमा चर्चा पाइन्छ । प्राचीन बौद्धग्रन्थ सुरुचि जातक र गान्धारक जातक कथाहरूमा मिथिलाको क्षेत्रफल १ हजार २०० कोस रहेको उल्लेख छ । त्यस्तै, बृहत् विष्णु पुराणअनुसार पूर्वमा कोसीदेखि पश्चिममा गण्डकीसम्म र उत्तरमा हिमालदेखि दक्षिणमा गङ्गासम्म मिथिला शहर पर्छ । वर्तमान राजनीतिक भूगोलमा भारतका केही भाग र नेपालका केही भागमा तत्कालीन मिथिला सभ्यता परिवेष्ठित थिए भन्न सकिन्छ । सिमिरा क्षेत्र, सिम्रौनगढ र तिरहुत राज्य भनी चिनिने जनकपुर क्षेत्रले नेपालको पूर्वमध्यकालको इतिहासमा विशेष भूमिका खेलेको ऐतिहासिक तथ्यहरूबाट सिद्ध छ ।

१४औँ शताब्दीमा नेपालको बाटो भएर भारतसम्म यात्रा गर्ने तिब्बती बौद्ध तीर्थयात्री धर्मस्वामीले आफ्नो यात्रा बृत्तान्तमा समेत मिथिला क्षेत्रको उल्लेख गरेका छन् । सन् १०९७ मा नान्यदेवद्वारा स्थापना गरिएको सिम्रौनगढ राज्यले एकातिर हिन्दु धर्म र संस्कृतिको संरक्षणमा भूमिका खेलेको थियो भने अर्कातिर काठमाडौंका मल्ल राजाहरूको राजनीतिमा समेत कूटनीतिक र सैन्य प्रभाव पारेको थियो । लगभग सवा २०० वर्षसम्म यो स्वतन्त्र राज्यका रूपमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्