सुन पसलबाट ९ करोड लुटेको आरोपमा हङकङमा एक नेपाली पक्राउ



काठमाडौं । हङकङको एक गहना पसलबाट सात लाख ८६ हजार अमेरिकी डलर चोरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । यो रकम नेपालीमा ९ करोड रुपैयाँ हुन आउँछ । 

 

डाँकाहरुले पसलका दुईजना कामदारको खुट्टामा ‘मासु काट्ने चुपी’ले प्रहार गरेर त्यो पैसा चोरी गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले समाचार छापेको छ ।

 

चोरीमा संलग्न अन्य तीनजना फरार रहेको प्रहरीले जनाएको छ । घटना गएको शुक्रबार होक यूएन स्ट्रिटमा स्थानीय समय बिहान साढे दश बजेभन्दा पहिला भएको हो ।

२४ वर्षीय नेपाली नागरिकलाई याउ मा तेइको स्ट्रिटबाट पक्राउ गरिएको तर उनीसँग चोरी गरेको रकम नभेटिएको त्यहाँको प्रहरीले जनाएको छ । ती नेपालीको साथमा केही गाँजा भेटिएको उल्लेख गरिएको छ । 

 

उनीविरुद्ध डकैती र लागूऔषधको कारोबारमा मुद्धा दायर गरिएको र सोमबार उनलाई उदालतमा उपस्थित गराइएको छ । पक्राउ गरिएका नेपाली नागरिकको नाम खुलाइएको छैन । 

प्रतिक्रिया दिनुहोस्