इन्धनको मूल्य नघटाउने आयल निगमको निर्णय



काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ। भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हाललाई इन्धनको मूल्य यथावत राख्ने निर्णय भएको छ।

भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले बुधबार इन्धनको नयाँ सूची पठाएको छ। जसअनुसार खाना पकाउने ग्याँसको मूल्य बढेको र डिजल तथा पेट्रोलको घटेर प्राप्त भएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ। यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ। निगमलाई मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ।

अन्य सबै प्रकारका इन्धनको लागत घट्दा खाना पकाउने ग्याँसको लागत भने बढेको निगम स्रोतको दाबी छ। निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ।

पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ। निगमलाई गत आवको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्