कृषिमा जलवायु परिवर्तनका प्रभाव र न्यूनीकरण



  • डा. केदार कार्की

काठमाडौं । औद्योगीकरण, अत्यधिक खनिजजन्य इन्धनको प्रयोग, वन विनास, कृषि क्षेत्रको आधुनिकीकरण, शहरीकरण जस्ता मानवीय क्रियाकलापहरूले गर्दा वायुमण्डलमा हरितगृह ग्यास, जस्तै : कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, हाइड्रोफ्लोरोकार्बन, परफ्लोराकार्बन, सल्फर हेक्जाक्लोराइड, क्लोरोफ्लोरो कार्बनको मात्रा बढेको छ।

यसरी वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढ्नाले पृथ्वीबाट प्रत्यावर्तित ताप वायुमण्डलबाट बाहिर निस्कन नसकी वायुमण्डललाई तताउने गरेको छ। समयको अन्तरालमा पृथ्वीको तापक्रम, हावाको बहाव र बर्षात्मा हुने घटबढका कारण पृथ्वी तथा यसको कुनै पनि भागको औसत मौसममा हुने महत्वपूर्ण परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ।

हरितगृह ग्यास उत्सर्जन गर्ने कार्य विकसित देशहरूले बढी गरिरहेका छन्। सन् २०११ को तथ्याङ्कअनुसार विश्वका २१० वटा राष्ट्रहरूमध्ये सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने १० वटा प्रमुख राष्ट्रहरूमा क्रमशः चीन, अमेरिका, युरोपियन युनियन आवद्ध, भारत, रुस, इन्डोनेसिया, ब्राजिल, जापान, क्यानाडा र मेक्सिको पर्छन्।

यी १० वटा राष्ट्रहरूले पृथ्वीको वायुमण्डलमा उत्सर्जित कुल हरितगृह ग्यासको ६९५ उत्सर्जन गर्छन् । हरितगृह ग्यास उत्सर्जन विश्वका जुनसुकै राष्ट्रले गरे तापनि यसको असर विश्वव्यापी हुने भएकाले त्यसबाट बढी तेस्रो राष्ट्रहरू प्रभावित हुने गर्छन्, किनकि तेस्रो राष्ट्र अर्थात् अल्पविकसित राष्ट्रहरूसँग जलवायु परिवर्तनका नकारात्मक असरहरूसँग जुध्ने क्षमता हुँदैन।

त्यसैले जलवायु परिवर्तनबाट बढी सचेत अल्पविकसित राष्ट्रहरू हुनुपर्छ, जसमा नेपाल पनि पर्छ। यहाँ जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेका नकारात्मक असरहरू र त्यसबाट बच्न अपनाइने अनुकूलन र न्यूनीकरणका केही उपायहरूका बारेमा सङ्क्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ।

कृषि क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब २४ प्रतिशत योगदान गर्छ । करिव ६६ प्रतिशत कृषकहरू कृषि क्षेत्रमा निर्भर छन्। त्यसैले जलवायु परिवर्तनले कृषिमा कस्तो असर पार्छ र यसबाट बच्ने उपयाहरू के हुन सक्छन् भन्ने विषयमा समयमै सतर्क हुन सकेमा यसको नकारात्मक प्रभावबाट बच्न सकिन्छ । जलवायु परिवर्तनले गर्दा कृषिमा पर्ने नकारात्मक प्रभाव निम्नानुसार छन् ।

बाली उत्पादनमा कमी

जलवायु परिवर्तनसँगै पृथ्वीको तापक्रम बढ्दै गएको छ । जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई यस शताब्दीको अन्त्यसम्म १ दशमलव ५ डिग्री सेन्टिग्रेडमा राख्ने भने पनि ५ वर्षमै (सन् २०२६ सम्म) यो स्तरमा तापक्रम वृद्धि हुन सक्ने विश्व मौसम सङ्गठनको एक अध्ययनले जनाएको छ। यसरी तापक्रम बढ्दा बोट बिरुवाको वृद्धि र विकास तीव्र गतिमा हुन जान्छ, जसले गर्दा विशेषगरी दाना उत्पादन गर्ने बालीहरूमा बिउ वृद्धि र परिपक्व हुन लाग्ने समय कम हुन गई उत्पादनमा कमी आउँछ ।

हिउँदमा सालाखाला ६० दशमलव १ मिलिलिटर वर्षा हुने गथ्र्यो तर यस वर्ष हालसम्म जम्मा ७ दशमलव ९ मिलिलिटर मात्र वर्षा भएको छ, जसका कारण अधिकांश हिउँदे बालीहरूले पानी पाउन नसकी उत्पादनमा निकै ह्रास आउने देखिएको छ।

विज्ञहरूका अनुसार यसको प्रत्यक्ष मार विशेषतः विपन्न तथा सीमान्तकृत जनतामा पर्ने भएकाले समयमै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् । त्यसमा पनि खाद्य सुरक्षाको दृष्टिकोणले अतिसम्वेदनशील जिल्लाहरू गोर्खा, धादिङ, मुगु, हुम्ला, कालीकोट र बाजुरामा विशेष ध्यान दिनुपर्ने सुझाएका छन् ।

रोग तथा किराको प्रकोप

तापक्रम, वर्षा र आद्र्रताका कारण रोग तथा किराको विकास हुनुका साथै वितरणमा प्रभाव पर्छ । तापक्रम र कार्बनडाइअक्साइडको वृद्धिसँगै किराको मेटाबोलिक दर वृद्धि भई छिटोछिटो खाने हुन्छ र वृद्धि विकास पनि छिटो हुन जान्छ ।

निश्चित किराहरूको सङ्ख्यामा पनि वृद्धि हुन्छ । यसरी किराको सङ्ख्या बढ्दा स्वाभाविक रूपमा बालीको नोक्सानीमा वृिद्ध हुन्छ । किराहरूको सङ्ख्यामा वृद्धि हुनुका साथै बालीमा रोगको प्रकोपमा वृद्धि हुन्छ । भारी वर्षाका साथै तापक्रममा वृद्धि भएका कारण अमेरिकी फौजी किराको प्रकोप पहिलो पटक सन् २०१९ मा नवलपरासी हुँदै देशका विभिन्न भागमा फैलिएको पाइएको छ ।

जलवायु परिवर्तनका कारण तराईका मुख्य बालीहरूमा लाग्ने रोगहरू पहाड तथा मध्यपहाडमा सरेका छन् । उदाहरणका लागि ः गहुँबालीमा लाग्ने सिन्दूरे तथा पात डढुवा रोग, जसले उत्पादनमा नराम्ररी असर पारेको छ। पशुपक्षीको सन्दर्भमा कुरा गर्दा हामीले पालिराखेका गाई, भैँसी, भेडा, बाख्रा, कुखुरा आदिबाट निस्केको मल मुत्रबाट मिथेन ग्यास निस्कन्छ, जुन जलवायु परिवर्तनका लागि सहायक बन्छ।

जलवायु परिवर्तनका कारण २ डिग्री सेन्टिग्रेड तापक्रम वृद्धि हुँदा मासु र दूधको गुणस्तरमा ह्रास आउँछ भने कुखुराको अण्डाबाट बच्चा कम निस्कन्छ। यसका साथै पशुपक्षीमा रोग लाग्ने सम्भावना बढ्छ।

न्यूनीकरणका उपायहरू

जति धेरै पानीको मात्रा प्रयोग गरिन्छ, त्यति नै बढी पानी बिरुवाले लिन्छ र तापक्रम वृद्धिका कारण वाष्पीकरण भई नदी, खोला तथा माटोमा भएको पानी घट्न जान्छ। यसले प्रत्यक्ष रूपमा बालीलाई नोक्सानी पुग्छ। त्यसैले जलवायु परिवर्तन अनुकूलनका लागि साना सिँचाइ प्रविधिहरू अपनाउनु पर्छ, जसमा थोपा सिँचाइ, स्प्रिङ कल, बहुउद्देश्यीय पानी प्रयोग गर्ने प्रणाली, खेर गइरहेको पानीको उपयोग आदि पर्छन् । यो प्रविधि अपनाउनका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा गैरसरकारी संस्थाहरूले जनचेतना, क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ।

सुख्खा सहने धानका जातहरूमा सुख्खा धान– १, २, ३, ४, ५ र ६, घैया– १, घैया– २ आदि हुन् । मकैको हकमा मनकामना– ५ सामान्य रूपमा सुख्खा सहन सक्ने जात हो। गहुँमा गौतम, भृकुटी, विजया आदि पर्छन् । कोदो पनि सुख्खा सहन सक्ने बाली हो, जसमा काभ्रे कोदो– १ र २ डल्ले– १ र ओख्ले– १ पर्छन्।

सुख्खा सहन सक्ने सेतो कागुनो, जुन मध्यपहाडी भागमा राम्रोसँग उत्पादन गर्न सकिन्छ भने कालो कागुनो उच्च पहाडी भाग, जस्तै : जुम्ला वा सो सरहको उचाइ र हावापानीमा सजिलै लगाउन सकिन्छ। त्यस्तै, ड्रागन फल त्यस्तो बाली हो, जुन पारिलो तथा सुख्खा स्थानमा सफलतापूर्वक खेती गर्न सकिन्छ। सावित्री धान ब्लास्ट अवरोधक जात हो भने गहुँमा विजया र डब्लुके– १२०४ सिन्दूरे रोग अवरोधक जातहरू हुन्।

मकैको सन्दर्भमा गणेश– १ र २ पातको डढुवा अवरोधक जात हुन् । रामपुर– २ र रामपुर कम्पोजिट डाउनी मिल्ड्यु अवरोधक जात हुन्। त्यस्तै गरेर घोगा कुहिने रोग अवधोरक जातहरू ककनी पहेँलो, रामपुर– १ र गणेश– २ हुन्। धानको सवालमा पातमा लाग्ने डढुवा रोग अवरोधक जातहरू पोख्रेली मसिनो, सी.एच. ४५, आईआर ८, २०, २२ आदि हुन्। ड्रागन फल, जसलाई कुनै पनि रोग तथा किरा लागेको देखिएको छैन।

छापो विधि पनि जलवायु परिवर्तन अनुकूलनका लागि राम्रो उपाय हो। छापो विधि सिँचाइ सुविधा कम वा नभएको स्थानमा गर्न सकिन्छ । छापो विधिले माटोमा भएको चिस्यानलाई लामो समयसम्म बचाएर राख्छ, झारपात आउन दिँदैन, माटोमा भएको जैविक क्रियाकलापलाई वृद्धि गर्छ। छापो आफैँ मलखादमा परिणत हुन्छ भने माटोमा भएको खाद्य तत्व खेर जानबाट पनि बचाउँछ । यस विधिले माटोलाई भू–क्षय हुनबाट पनि बचाउँछ।

त्यसैले छापो विधिले जलवायु परिवर्तनका कारण वर्षा कम वा बढी हुने दुवै अवस्थामा काम गर्छ । एउटै समयमा एउटै बारीमा १ भन्दा बढी बाली लगाउनु वा मिश्रित बाली प्रणाली पनि अर्को उपाय हो । मकै बारीमा बोडी, फर्सी, कोदो, गहुँसँगै तोरी, धानमा मसुरो, सागबालीसँगै धनियाँ, लसुन आदि।

यस प्रणालीमा लगाएका बालीहरूको जरा भिन्नभिन्न प्रकारको हुने भएकाले माटोमा भएको विभिन्न सतहको खाद्य तत्वको सही उपयोग हुन्छ । यस प्रणालीले माटोमा भएको चिस्यान कायम राख्न पनि मद्दत गर्छ । अर्को महत्वपूर्ण कार्य भनेको प्रतिकूल मौसममा पनि कुनै बालीबाट नोक्सानी भए पनि कुनै बालीबाट राम्रो उत्पादन भई किसानलाई क्षति हुनबाट बचाउँछ ।

बाली तथा पशु बीमा

बीमाले आफैँमा जलवायु परिवर्तनसँग प्रत्यक्ष सरोकार राख्दैन तथापि यसले जलवायु परिवर्तनबाट हुने क्षति र नोक्सानीबाट बचाउन ठूलो मद्दत गर्छ। हालको तथ्याङ्क हेर्दा करिब ७५ प्रतिशत बीमा पशु क्षेत्रले ओगटेको छ।

कृषि तथा पशु बीमाका लागि किसानले मूल्याङ्कनका आधारमा ५ प्रतिशत रकम बीमामा बुझाउनुपर्छ र पशुको हकमा पशु मरेमा ९० प्रतिशत र अपाङ्ग भएमा ५० प्रतिशत क्षतिपूर्ति सरकारबाट किसानले पाउने गर्छ। कृषिमा जलवायु परिवर्तका प्रभावहरू देशको भौगोलिक क्षेत्रअनुसार फरक हुन सक्छन्। अनुकूलनका उपायहरू अवलम्बन गर्नाले सकल घरेलु उत्पादनमा सुधार हुनेछ।

प्रतिक्रिया दिनुहोस्