उपराष्ट्रपतिबारे निर्णय गर्न गठबन्धनको बैठक बस्दै



काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न आठदलीय गठबन्धनको बैठक बस्ने भएको छ। बैठक आज बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। बैठकमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले जानकारी दिए।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ, तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि गठबन्धन अलमलमा छ।

निर्वाचन आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको उल्लेख छ।

गठबन्धनमा रहेका २ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले उपराष्ट्रपतिमा दाबी गरेका छन्। जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ भने जसपाले बारा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्