माओवादीहरूलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताको विपरीत : अग्नि सापकोटा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढाउनुपर्ने बताएका छन्।

शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताए। सापकोटाले द्वन्द्वकालका घटनाहरूको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको सुनाए।

‘त्यसदेखि बाहेक अन्य तरिकाले शान्ति प्रक्रियाको मर्म, भावना, संक्रमणकालीन न्यायको पद्धति, प्रक्रिया विपरीत जाँदाखेरि यसले शान्ति प्रक्रियालाई असर पुर्‍याउँछ। शान्ति प्रक्रियालाई कार्यान्वयन गर्न र निष्कर्षमा पुर्‍याउन सहयोग पुग्दैन। परिवर्तनमा नेपाल आमाका छोराछोरीहरूले ठूलो कुर्वानी गरेका छन्’, ‘यो परिवर्तनलाई असर पर्नेखालका गतिविधिहरू हुनु हुँदैन। विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अगाडि बढ्नुपर्छ। त्यस अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् नै यस्ता संक्रमणकालीन न्याय सम्बन्धी विषयहरू समाधान गरिनुपर्छ। यो कुरा गठबन्धनका ८ दलले पनि निर्णय गरिसकेका छन्। त्यस्तै संसद् बाहिर भएका घटकहरूले पनि गरिरहेका छन्।’

उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउने कोसिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने बताए। उनले विस्तृत शान्ति सम्झौताको गम्भिरता र राष्ट्रमा त्यसले पार्ने प्रभावका बारेमा चिन्तन गर्दै त्यसै अनुसार समाधान गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्