उपराष्ट्रपतिमा पनि पुरुष नै उठाउनु संविधानको मर्म विपरीत : एमाले



काठमाडौं । राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार नै उठाउनु संविधानको मर्म विपरीत हुने नेकपा एमालेले निष्कर्ष निकालेको छ।

उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार उठाउन मिल्छ भन्ने तर्कप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए। नेपालको संविधानको प्रस्तावनादेखि लिएर समग्र ‘स्पिरिट’ भनेकै समावेशी शासन प्रणालीको अवलम्बन गर्नु भएको उनले बताए।

उनले गाउँपालिका देखि संसद्सम्मका पहिलो र दोस्रो पदमा एकजना महिला अनिवार्य भएको भन्दै राष्ट्रपतिको सन्दर्भमा पनि त्यस्तै हुनुपर्ने बताए। ‘त्यो विषय राष्ट्रपति र उपराष्ट्रपतिको हकमा अपवाद बन्न सक्दैन। अहिले फरक लिंग वा समुदायको भन्ने तर्कका आधारमा पुरुषलाई नै उठाउन खोज्ने कुराचाहिँ संविधानको मर्मभन्दा विपरीत कुरा हो’, उनले भने।

उनले स्थानीय तह निर्वाचनमा पन गठबन्धनका कतिपय दलहरु गठबन्धनको नाममा महिलाका ती अधिकारलाई उहाँहरुले कटौती गरेको भन्दै अहिले पनि त्यही कुरा दोहोर्‍याउन खोजिएको आरोप लगाए।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने प्रावधान छ। तर, राष्ट्रपतिमा पुरुष विजयी भइसकेकाले उपराष्ट्रपति महिला नै हुनुपर्ने तर निर्वाचन आयोगले अगाडि सारेपछि विवाद सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्