अढाइ महिनामै दोस्रो पटक आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रोपटक विश्वासको मत लिँदै छन्। राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसँगै बदलिएको राजनीतिक समीकरणका कारण साढे २ महिनाको अवधिमा प्रधानमन्त्री प्रचण्डलाई संसद्‍बाट दोस्रो पटक विश्वासको मत लिनुपर्ने संवैधानिक आवश्यकता आएको हो।

२६ पुसमा पहिलो पटक विश्वासको मत लिएका प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदै छन्। राष्ट्रपति निर्वाचनको समयमा एमाले–माओवादीसहितको गठबन्धन टुटेपछि सरकारमा सामेल दलले आफ्नो समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए। सत्ता सहकार्यमा रहेका दलले आफ्नो समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत लिँदै छन्। उक्त उपधारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था गरिएको छ।

संसदीय सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वास लिन प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गर्ने कार्यक्रम छ भने उक्त प्रस्तावमाथि छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनेछ।

विश्वासको मत दिन ९ दल एकजुट

अहिले संसद्मा ७ राष्ट्रिय दलसहित १३ दलको उपस्थिति छ। विश्वासको मतकै विषयमा हेर्ने हो भने अहिले ९ दल विश्वासको मतको पक्षमा देखिएका छन् भने २ दल अनिर्णीत र २ दल विपक्षमा देखिएका छन्। पक्षमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आमजनता पार्टी छन्।

विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले छ भने नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले आज निर्णय गर्दै छन्। प्रतिनिधिसिभामा कांग्रेसका ८८, माओवादीका ३२, नेकपा एसका १०, जसपाका ११, जनमतका ६, नाउपाका ३, लोसपाका ४, रास्वपाका १९, आमजनताका १ सांसद् छन् । त्यस्तै, एमालेका ७९, राप्रपाका १४, नेमकिपा र जनमोर्चाका १/१ सांसद छन् ।

नेमकिपा र जनमोर्चालाई निर्णय गर्न सकस

अघिल्लो पटक प्रधानमन्त्रीलाई विश्वासको मत नदिएका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी भने यसपटक किंकर्तव्यविमूढ अवस्थामा देखिएका छन्। १/१ जनामात्र सांसद रहेका यी २ पार्टीबाट प्रेम सुवालले नेमकिपाको प्रतिनिधित्व गर्छन् भने चित्रबहादुर केसीले जनमोर्चाको। तर, दुवै जना दलको निर्णयको पर्खाइमा छन् । दलले जे निर्णय गर्छ, त्यसलाई नै मान्ने यी २ नेताले द नेपालटपलाई बताए।

जनमोर्चाका केसी भन्छन्, ‘अघिल्लो पटक नदिएकै हो, त्यसका लागि धेरै सोच्नुपरेको थिएन । यसपटक भने अवस्था फेरिएको छ। पार्टी बैठकको निर्णयले अब के भन्छ, त्यहीअनुसार हुन्छ।’ त्यस्तै, नेमकिपाका सुवाल पनि पार्टी बैठककै निर्णय कुर्दै छन् । ‘के गर्ने भन्ने विषयमा यसै भनिहाल्ने अवस्था छैन,’ उनी भन्छन्, पार्टीको निर्णय त मान्नैपर्‍यो ।’

राप्रपा र एमाले विपक्षमा

राप्रपा र एमालेले भने प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएका छन्। १० पुसमा तयार भएको गठबन्धन छाड्दै १३ फागुनमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । यसैकारण पनि प्रचण्डलाई विश्वासको मत नदिने पक्षमा राप्रपा छ।

यस विषयमा राप्रपाले भन्ने आज पार्टीको बैठकमार्फत निर्णय लिनेछ। राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही भन्छन्, ‘अब पार्टीको निर्णय कुर्नैपर्‍यो, त्यसका लागि संसद् सुरु हुनुअघि हाम्रो पार्टीको बैठक बस्छ, बैठकले जे निर्णय गर्छ, त्यही गछौँ।’ तर, राप्रपाका उपाध्यक्ष ध्रुबबहादुर प्रधानले भने विश्वासको मत नदिने बताए।

उनले भने, ‘पार्टीको निर्णय बाँकी नै भए पनि आइतबारको संसद् बैठकमा विपक्षको बेन्चमा बसेर हामीले त्यसबारे सबैलाई जानकारी गराइसकेका छौँ।’ राप्रपासँग १४ सांसद छन्। एमाले पनि २६ पुसमा दिएको विश्वासको मत फिर्ता लिएर अहिले विपक्षमा बसेको छ र कुनै पनि अवस्थामा फेरि विश्वासको मत नदिने पक्षमा छ। एमालेका एक नेताका अनुसार प्रचण्डले एमालेबाट विश्वासको मत पाउने कुनै आधार र अवस्था अहिले छैन ।

‘केका आधारमा हामीले विश्वासको मत दिने ? हाम्रै काँधमा चढेर प्रधानमन्त्री बनेका प्रचण्डजीले हामीलाई नै विश्वासघात गर्नुभएको छ,’ ती नेताले भने, अब हामी कुनै हालतमा पनि विश्वासको मत दिँदैनौँ।’

कांग्रेसले जस्तै ‘ढोक्सा’ थाप्नका लागि पनि विश्वासको मत दिन सक्ने जिज्ञासामा एमालेका प्रमुख सचेतक पदम गिरी त्यसलाई अस्वीकार गर्छन्। हामी ‘ढोक्सा’ थाप्ने पक्षमा छैनौँ, विपक्षी दल नै हाम्रा लागि पर्याप्त छ,’ गिरी भन्छन्, ‘ढोक्सा थापेर संसदीय अभ्यासमा खलल हुने काम हामीबाट हुँदैन । हामीबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्न ।’

अहिले प्रनितिधिसभामा रहेको २७५ सिटमा २७२ जना मात्र सांसद छन्। जसमा १ जनाको मृत्यु भएको छ भने एउटा पद रिक्त र १ जना सांसद् निलम्बित छन्। भएका २७२ मा पनि माओवादी केन्द्रका वर्षमान पुन र नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी उपचारका लागि देशबाहिर छन्।

यसरी हेर्दा आजको विश्वासको मतका लागि संसद्मा २७० जना सांसदको मात्र उपस्थिति रहने देखिन्छ । विश्वासको मतका लागि प्रचण्डलाई १३८ सांसद आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्