प्रचण्ड ! जनताको मन जित्नुपर्दैन ?



काठमाडौं । संसदीय अंकगणितमा तेस्रो भएर पनि नेकपा (माओवादी केन्द्र)ले यतिबेला देशको कार्यकारी नेतृत्व सम्हालिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सत्ता भर्‍याङ कहिले एमाले त कहिले कांग्रेस बन्दै आइरहेका छन्।

अढाई महिनाअघि एमाले विश्वास जितेर प्रधानमन्त्री भएका प्रचण्ड विश्वासको मत लिने बेलामा कांग्रेसको मन जित्न सफल भए। एमालेले छाड्यो। यही कारण दोस्रो पटक उनले पुनः कांग्रेसलाई समाएनन् मात्र, सत्ता सहकार्यको बाटोमा समेत गए।

झण्डै सत प्रतिशत दलको विश्वास जितेका प्रचण्ड यस पटक त्यो अंकगणितबाट चुके पनि सत्ता नेतृत्वमा टिक्ने पक्का भयो। आफूभन्दा ठुला र साना दलको विश्वास जितेका प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा रहँदै गर्दा अब एउटा गम्भीर प्रश्न छ– के उनले नेता र दलको विश्वास जिते जसरी जनताको मन जित्न सक्लान् ?

एमालेसँगको सत्ता सहकार्य गर्दा उनले सुशासन मूल मन्त्र भनेका थिए। अहिले पनि यसबाट उनी डगमगाएको मान्दैनन् आफूलाई। प्रविधिमैत्री बन्दै जनताका समस्या समाधान उनको प्राथमिकता थियो। भन्नलाई त अहिले पनि छ। तर, राष्ट्रपति छान्ने चटारो र स्वार्थका बीच प्रचण्ड नेतृत्वको सरकार सिंहदरबारका कुर्सीमा बाहेक कतै देखिएन।

भएभरका मन्त्रालय होल्ड गरेर बस्नुपर्ने बाध्यता एकातिर होला तर ती मन्त्रालयमा नेतृत्व दिने विषयमा सहयोगी दलहरूलाई रिझाउनुपर्ने भीमकाय बाध्यताका कारण प्रचण्ड नेतृत्वको सरकार जनताको मनभित्र बस्न त परै जाओस्, पस्नसमेत सकिरहेको छैन। डिजेलको भाउ घट्ने अपेक्षा पूरा भएन।

कृषिप्रधान देशका कृषकले पाउँदै गरेको मल अनुदान पनि गुमाए, प्रचण्ड निर्णयबाटै। भलै, चौतर्फी विवादका बीच यो निर्णय फिर्ता लिए । तर, नियतले भन्छ– प्रचण्ड जनताको मन जित्नभन्दा दलका विश्वास जिते पदमा टिकिन्छ भन्ने मानसिकताबाट माथि उठ्नै सकेका छैनन्। सरकारले यसबीचमा जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने र शहीदका सूची थप्नेबाहेक जनताका पक्षमा उल्लेख्य कुनै कदम चालेन, न त निर्णय नै गर्‍यो।

जनतालाई यतिबेला रेल र पानी जहाज चाहिएको छैन। छ भने केवल १ छाक राम्ररी खान, सिटामोल नपाएर अकालमा मृत्युवरण नगर्न, उत्पादित सामग्री बेच्न, उत्पादनमा बिनारोकावट सहभागी हुन मात्र परेको छ। यस काममा प्रचण्ड सरकारले ध्यान दिए मात्र उनी र उनको दल जनताको मन जित्न सफल हुनेछन् । दलको विश्वास स्वार्थसँग जोडिन्छ। जनताको विश्वासमा माया छ।

यो माया शान्ति प्रक्रियाको चरणबाटै क्रमशः गुमाउँदै छन् प्रचण्ड र उनको दलले। यो आरोप नभई, जनमतले देखाएको तथ्य हो। यसबाट पाठ सिक्न प्रचण्डले चाहेकै छैनन्  जुन दिन यो पाठ र ज्ञान उनको निःस्वार्थी मनभित्र गड्छ, त्यस दिन प्रचण्डले दलको विश्वासबिनै जनताको मन जित्नेछन्।

दोस्रो पटक दलको विश्वास जितेर जुँगामा ताउ लगाउँदै बस्ने सुविधा अब प्रचण्डसँग छैन। प्रधानमन्त्रीका हैसियतमा प्रचण्ड बिस्तारै जनताको मनभित्र पसून् र स्थायी रूपमा जनताको मनमा बसून्।

प्रतिक्रिया दिनुहोस्