भ्रष्टाचार नियन्त्रणमा सञ्चार माध्यमको योगदान



  • श्यामप्रसाद मैनाली

काठमाडौं । आजको युगमा सञ्चार माध्यमहरू अत्यन्त प्रभावकारी साबित भएका छन्। समाजमा भइरहेका क्रियाकलापहरूलाई निरन्तर रूपमा प्रचारप्रसार गरी सुसूचित गर्ने र पारदर्शिता निर्वाह गर्नमा मिडिया सशक्त माध्यमको रूपमा स्थापित भएको छ।

सञ्चार माध्यमले अन्तर्राष्ट्रिय सिमानालाई निस्प्रभावी बनाउँदै यो विश्वलाई नै सानो टोल छिमेकको रूपमा रूपान्तरण गरिदिएको छ। सूचना सञ्जालमाथि नागरिकको अधिकार जति बढी स्थापित गर्न सकियो, त्यति बढी लोकतन्त्र सुदृढ भएको मानिन्छ। विकसित र विकासशील दुवै प्रकारका देशहरू भ्रष्टाचार, पद र अधिकारको चरम दुरुपयोगबाट आक्रान्त छन्।

सञ्चार माध्यमले यी समस्याहरूको उजागर गरी समाजमा व्याप्त असमानता, अन्याय, पक्षपात एवं गलत व्यवहारमा सुधार ल्याई सरकारी र निजी क्षेत्रमा सकारात्मक परिवर्तन गर्न प्रयत्नशील रहने गरिआएको छ। यसले गलत क्रियाकलापका विरुद्ध निगरानीसमेत गर्दै आएको पाइन्छ।

आधुनिक जटिलताबाट गुज्रिएको समाजमा भ्रष्टाचार नियन्त्रणका दिशामा सञ्चार माध्यम प्रभावकारी साधन प्रमाणित हुँदै गएको छ । भ्रष्टाचारमा संलग्न व्यक्ति स्रोत, साधन, शक्ति सबैको पूर्ण उपभोग गर्ने हुँदा वैभवशाली भइरहेको हुन्छ। यस्ता प्रतिष्ठित व्यक्तिविरुद्ध गरिने प्रचारप्रसारले स्वतः समाजको चासो सिर्जना गरिदिने भएकाले पनि सञ्चार साधनको प्रसारणलाई जनताले स्वीकार एवं समर्थन गर्ने गर्छन्।

पत्रकारिताले भ्रष्टाचारका आरोपीलाई कानुनी अनुसन्धान गर्ने होइन, कारबाही पनि गर्दैन। अपराधविरुद्धको न्यायले कानुनी बाटो अवलम्बन गर्छ। कुनै सार्वजनिक पदाधिकारीमाथि आरोप लाग्छ, सञ्चारका माध्यमले त्यसलाई प्रचारप्रसार गरिदिन्छन्। लामो अन्तरालमा त्यस पदाधिकारीको जीवनस्तर, रहनसहनको मूल्यांकन समाजले राम्ररी गरिरहेको हुन्छ।

त्यस पृष्ठभूमिमा आएका प्रसारणलाई स्वतः समाजले स्वीकार गर्छ। अभियुक्तले कानुनी आधारमा सफाइ पाउन सक्छ तर गलत व्यक्तिलाई सञ्चार माध्यम र जनताले सधैँ शिर निहुर्‍याउने परिस्थिति बनाइदिएका हुन्छन्, जसले गर्दा समाजमा बिस्तारै शुद्धीकरण आउन थाल्छ। भ्रष्टाचार रोकथामका लागि मिडियाको उल्लेखनीय योगदान रहने विषयमा सन्देह छैन । यद्यपि, सो क्षेत्रका आफ्ना समस्याहरू नभएका होइनन्।

पत्रकारहरूका चाहना अत्यन्त निष्पक्ष हिसाबले अपराधकर्मीमाथि छानबिन तदारुकताका साथ होस् र त्यसको सूचना यथाशीघ्र उपलब्ध होस् भन्ने रहन्छ। तर, सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि हुने छानबिन तथा अनुसन्धानमा कानुन सम्मत तरिकाले निजको इज्जत र मर्यादालाई पनि सोचमा राख्ने गरिँदा अनुसन्धानकर्ता र पत्रकारहरूका बीच यदाकदा विवादास्पद स्थिति बन्ने गर्छ।

बजारमा रहेका मिडियाबीचको प्रतिस्पर्धाका कारण छिटोभन्दा छिटो समाचार सम्प्रेषण गर्ने होड चल्छ, जसका कारण पर्याप्त समय अमूक घटनाको तथ्य संकलन र विश्लेषणमा दिन सकिरहेको हुँदैन। यसबाट पर्न जाने अन्य प्रभावका बारेमा सोच पुर्‍याउन सकिरहेका देखिँदैन। भ्रष्टाचारको अनुसन्धान एउटामा गर्दा एकभन्दा बढी मुद्दाहरूमा अनुसन्धान एवं छानबिन गर्नुपर्ने थुप्रै अवस्था सिर्जना हुने गर्छ।

भ्रष्टाचारविरुद्धको छानबिनका विषयहरूमा पूरा गर्नुपर्ने प्रक्रिया र कानुनी सिद्धान्त एवं मूल्य, मान्यताका विषयहरूमा विशेषज्ञता प्रायः सबै पत्रकारहरूसँग नहुँदा पनि मिडियाका प्रचारप्रसार विषय कमजोर बन्दै गएका अनुभवहरू छन्।

प्रचारप्रसारले सार्वजनिक दबाबको स्थिति पैदा गर्छ, जसले गर्दा निर्णय प्रभावित बन्ने गर्छ। यस सन्दर्भमा प्रचारप्रसार गर्नुपूर्व पर्याप्त ध्यान जानु आवश्यक हुन्छ। अन्यथा, व्यक्तिको अधिकारमा अतिक्रमण हुन सक्छ । यस प्रकार अतिक्रमण हुनबाट पत्रकारितालाई जोगाउने दायित्व पनि सम्बन्धित पक्षको रहने गर्छ। सञ्चार माध्यम पनि दुरुपयोग हुन सक्छ । प्रचारप्रसारका माध्यमबाट व्यक्तिको सामाजिक प्रतिष्ठा र इज्जत धराशायी बन्न सक्छ । पत्रकारहरूले पनि आफ्नो विवेक गुमाउन सक्छन्।

तसर्थ, यसबाट समुच्च पत्रकारितालाई बचाउन प्रत्येक देशहरूले आफ्नाआफ्ना प्रकारका आचारसंहिता निर्माण गरेका हुन्छन्, जसले निर्बाध रूपमा व्यावसायिक क्रियाकलाप अघि बढाउन पाउने र सो गर्दा नागरिकको मानवअधिकारको संरक्षण पनि गम्भीर बनी पत्रकारितालाई मर्यादित एवं सर्वस्वीकार्य बनाउन प्रयत्न गरिएको हुन्छ।

व्यक्तिगत रूपमा स्वार्थ प्रेरित भई पत्रकारितालाई सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच आउने हिसाबले बदला स्वरूप कलम चलाउने, पेसाको आडमा विभिन्न प्रकारका आर्थिक आर्जनलगायतका कामहरू गर्ने विषयले पित पत्रकारिता मौलाउने र समाजका विकृतिजन्य विषयहरूमा सुधार ल्याउनुको सट्टा अझ बढी विकृति र विसंगति अभिवृद्धि गर्नमा सञ्चार जगत् नै उद्यत हुन सक्ने स्थिति बन्न सक्छ।

सञ्चार माध्यमहरूले सामान्य विषयलाई अतिरञ्जित रूपमा प्रचारप्रसार गरी व्यक्तिको अधिकारमाथि अतिक्रमण गरेका घटनाहरू पनि चर्चामा आएका छन् । तसर्थ, पत्रकारिता जगत्ले कलम चलाउँदा अत्यन्त गम्भीर हुनु जरुरी छ । पत्रकारहरूका लागि केही आचारसंहिता राज्यले निर्धारण गरी पालना गराउनुपर्छ।

जस्तै : पत्रकारले सूचना सार्वजनिक गर्दा कुनै पूर्वाग्रह राख्नुहुँदैन । सत्यमा आधारित भएर संप्रेषण गर्नुपर्छ । तथ्यमा आधारित भएर सूचना प्रवाह गर्न बढी मिहिनेत र समय लाग्ने गर्छ । प्रकाशनका तरिकाहरू अत्यन्त इमान्दारी निर्वाह गरी अघि बढाउनुपर्छ । आफ्नो सूचना सम्प्रेषणबाट पर्न सक्ने असरका बारेमा विश्लेषण जरुरी छ । यसले व्यक्तिलाई असर गर्न सक्छ । संस्थाको ख्याति बढ्न र धराशायी पनि हुन सक्छ । सञ्चार माध्यमप्रति सर्वसाधारणको धारणा सकारात्मक र नकारात्मक दुवै हुन सक्छ । तसर्थ, जिम्मेवारीका साथ कर्तव्य निर्वाह गर्नु जरुरी छ ।

आफूले मिहिनेत गरी प्राप्त सूचनालाई अन्तरआत्मा र विवेकको कसीमा उपयुक्त साबित भएपछि प्रचारप्रसार गर्नु उपयुक्त हुन्छ । समाजमा व्याप्त विकृतिको निराकरणका दिशामा सञ्चार माध्यमले योगदान गर्न सक्नुपर्छ । विद्यमान सामाजिक, आर्थिक र मानवीय समस्याहरूको पहिचान गरी निश्चित समाचार सम्प्रेषणबाट के कस्तो प्रभाव आगामी दिनमा पर्न जान्छ ? सकारात्मक दिशामा अघि बढ्न आफ्नो योगदानले थप मद्दत पुर्‍याउन सक्छ/सक्दैन ? यस्ता समस्याहरूको समाधानमा दत्तचित्त रहनेगरी यो जगत् अघि बढ्नुपर्छ ।

विश्वव्यापी रूपमा मान्यताप्राप्त मौलिक हकको सम्मानका लागि र पूरै विश्व शान्ति सुरक्षा, अमनचयनका विषयमा सोच राख्नुपर्छ। यस प्रकार अघि बढेमा मात्र सञ्चार माध्यमले प्रतिष्ठा आर्जन गर्छ र यस जगत्को योगदान मानव मात्रको कल्याणका लागि हुन जान्छ। यही मूल मन्त्रमा रहेर प्रत्येक राष्ट्रले सञ्चार जगत्का लागि आचारसंहिता निर्धारण गरी यसको बर्खिलाप गरी पेसागत मर्यादाविपरीत अघि बढ्ने संस्था वा व्यक्तिलाई व्यवहारमै नियन्त्रण गर्न सक्नुपर्छ । यी सबै प्रक्रियाहरू र व्यवस्थाहरू भ्रष्टाचारसम्बन्धी छानबिन गरी सर्वसाधारण समक्ष सुसूचित गराउने सन्दर्भमा पनि लागू गर्नु नितान्त आवश्यक छ ।

सञ्चार प्रणालीले समाजमा प्रभाव विभिन्न किसिमले पार्ने गर्छ । यसका लागि जनताका अधिकार पूर्ण रूपमा उपभोग गर्न सक्ने परिस्थिति निर्माण त्यतिखेर सम्भव हुन्छ, जब सूचनामा आमजनताको पहुँच निर्बाध र सरल रूपमा हुने गर्छ । यसले आफ्ना अधिकारहरूप्रति सचेतना जागृत गराउँछ र सार्वभौम अधिकारको प्रयोग आत्मविश्वासका साथ गर्न सक्छन् ।

यसैगरी सार्वजनिक चासोका विषयमा खुलेर आलोचना गर्ने र विकल्पहरू प्रस्तुत गर्न सक्षम बन्छन्। यसका लागि पनि सञ्चार सुविधाहरूको भरपूर प्रयोग जरुरी हुन्छ। प्राप्त सूचनाहरूको विश्लेषणबाट नागरिकहरूले आफ्ना इच्छा, आंकाक्षाहरूको गन्तव्यमा पुग्ने अवसरहरूको आँकलन राम्ररी गर्न सक्ने हुन्छन्। यदि गन्तव्यका लागि यात्रा सुगम छैन भने यसका लागि थप प्रयासतर्फ अभिमुख हुन्छन्।

समग्रमा, सूचनाबाट आत्मविश्वास बढ्छ, क्षमतामा अभिवृद्धि हुन्छ, कमीकमजोरीहरूको लेखाजोखा एवं विश्लेषण राम्ररी गर्न सकिन्छ, समस्याको पहिचानबाट उपयुक्त सम्बोधन गरी लक्ष्यतर्फ अभिमुख हुन सकिन्छ। यस अर्थमा सूचनाको भरपूर प्रयोगबाट राष्ट्र एवं समाज समृद्ध बन्न सक्छ, समाजमा विद्यमान विकृति र विसंगतिको निराकरणका लागि रामवाण साबित हुन सक्छ । तसर्थ, सञ्चार माध्यमको सुदृढीकरण राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ ।

सञ्चारको प्रभावकारी प्रयोगद्वारा कानुनी कारबाही ढिलो हुँदाहुँदै पनि समाजले तुरुन्तै प्रतिक्रिया दिन थाल्छ। भ्रष्टाचारीहरूको टीका टिप्पणी, सामाजिक विभेद सामाजिक अस्वीकार्यता जस्ता अवस्थाहरू सिर्जना हुने गर्छन्। राजनीतिज्ञहरू आफ्ना मतदाताहरूबाट बहिष्कृत हुन पुग्छन्।

यस अर्थमा पत्रकारको कलम सेनाको गोलीभन्दा धेरै गुणा शक्तिशाली हुने गर्छ । तर, समस्या यसको सतही छानबिन र विश्लेषणमार्फत सूचना प्रवाह हुनुमा छ। उदाहरणका लागि, सञ्चार माध्यमहरूले कुनै व्यक्ति विशेषका विरुद्ध भ्रष्टाचारका आरोपहरू लगाइरहँदा उसको सामाजिक प्रतिष्ठा र व्यक्तिगत जीवन अस्तव्यस्त हुने गर्छ।

आरोपित व्यक्ति चरम मानसिक यातनाबाट पीडित हुन पुग्छ । निर्दोष व्यक्तिमाथि यस्तो आरोप लागेमा आत्महत्यासमेत गरिएका घटनाहरू देखिएका छन् । यसरी मिडियामार्फत लगाइएको अभियोग कानुनी रूपमा गलत साबित भएका र यसरी निर्दोष प्रमाणित भएपश्चात् पनि समाजले आरोपित व्यक्ति उपर गरेको व्यवहारबाट पुग्न गएको नोक्सानीको पूर्ति पुनः समाजले सरकार वा न्यायालय र सञ्चार माध्यम कसैले पनि गर्न सक्दैनन् । यो परिस्थिति निर्माण हुनु भनेको सबैको लागि दुःखपूर्ण अवस्था हो ।

समाजलाई सुधार गर्ने क्रममा सञ्चारका साधनहरूको भूमिका अत्यन्त महत्वपूर्ण भए तापनि उल्लिखित परिस्थिति सिर्जना नगराउनेतर्फ विशेष ध्यानाकर्षण सम्बन्धित क्षेत्रको हुनुपर्छ । यसै सन्दर्भमा स्मरण गर्दा स्वच्छ पत्रकारिता गर्दा इमान्दार पत्रकारहरू आपराधिक समूहको निशाना बनेका छन्। निर्मम हत्या गरिएको छ।

पित पत्रकारिताबाट केही इमान्दार व्यक्तिहरूको चरित्र हत्या भएको पनि छ । बेलाबखत सञ्चार आतंकको चर्चा, परिचर्चा पनि सुन्ने गरिएको छ। यिनै पृष्ठभूमिमा केन्द्रित रहेर हामीले कलम चलायौँ भने पत्रकारिता पेसा अत्यन्त मर्यादित हुनेछ र यसले राष्ट्र र समाजलाई सही दिशातर्फ उन्मुख गराउन सक्नेछ। सम्बन्धित सबै पक्ष गम्भीर बनी अघि बढ्नु सञ्चार माध्यमलाई सशक्त बनाउनुपर्नेमा मतैक्यता रहने विषयमा भने द्विविधा छैन।

इमान्दारीका साथ स्वच्छ पत्रकारिता गरौँ । समाज र राष्ट्रलाई अघि बढाऔँ । यो नै वर्तमान समयको माग हो। निष्पक्ष र तथ्यमा आधारित सूचना सम्प्रेषणले विश्वमा सामाजिक परिवर्तन सम्भव भएको यथार्थ हामी सामु प्रष्ट छ । तसर्थ, सञ्चार जगत्लाई सबै क्षेत्रको सहयोग जरुरी देखिएको छ, जसले गर्दा स्वच्छ र निष्पक्ष पत्रकारितालाई प्रोत्साहन मिल्ने वातावरण बनोस्। स्वच्छ पत्रकारितामार्फत राष्ट्रप्रति योगदान गर्ने सञ्चारकर्मीहरू र सञ्चार माध्यमहरूको सुरक्षाको विषयमा पनि सम्बन्धित पक्ष अत्यन्त गम्भीर हुनु अपरिहार्य देखिन्छ।

प्रतिक्रिया दिनुहोस्