गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारबाही फुकुवा



काठमाडौं । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ। केन्द्रीय कार्यसम्पपादन समितिको आइतबार बसेको बैठकले उनीहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो।

जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको सहमहामन्त्री बद्री पाण्डेले बताए। कारबाही फुकुवा गरिएका नेताहरुको पुरानै क्रियाशील सदस्यता कायम हुने पनि सहमहामन्त्री पाण्डेले बताए।

‘बारा, चितवन र तनहुँको हकमा स्वतन्त्र उठेकाहरूको कारबाही फुकुवा भएको छ। यो वा त्यो व्यक्तिभन्दा पनि नीतिगत निर्णय गरेका हौँ। यसमा बागी र स्वतन्त्र उठ्नेहरू पर्नुभएको छ,’ उनले भने।

२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए। तनहुँको सिफारिसमा २०७५ पुस २४ गते कारबाही गरेको थियो। यस्तै २०७० सालको संविधानसभा निर्वाचनमा चितवन–४ बाट तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएपछि विकास कोइरालामाथि कारबाही भएको थियो।

अब उनीमाथिको कारबाही फुकुवा भएको छ। यस्तै २०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूको हकमा उपनिर्वाचनमा गर्ने गतिविधि अनुसार निर्णय लिने सहमहामन्त्री पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्