उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै



काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ, चितवन र बारामा आज उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ। आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा बाजागाजासहित नजान भनेको छ। साथै २५ जनाभन्दा धेरै नजान पनि आयोगको आग्रह छ।

आज उम्मेदवारी दर्तापछि भोलि (चैत २१ गते) उम्मेदवारविरुद्ध उजुरी दिने, चैत २२ गते प्राप्त उजुरीबारे छानबिन गर्ने र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ। यस्तै उम्मेदवारी फिर्ता लिन इच्छुकले चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने कार्यक्रम छ। निर्वाचन कार्यतालिका अनुसार वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकता प्रकरणका सांसद पदबाट बर्खास्त भएपछि रिक्त ती क्षेत्रमा उपनिर्वाचन गरेर पदपूर्ति गर्न लागिएको हो।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत दलले उम्मेदवार चयन गरिसकेका छन्। कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

माओवादीलगायत सत्ता गठबन्धनमा रहेका अधिकांश दलले यी उम्मेदवारलाई नै सहयोग गर्ने तयारी गरेका छन्। माओवादीले चितवन र बारामा सत्ता गठबन्धनलाई सहयोग गर्ने र तनहुँ १ मा आफैँ उम्मेदवारी दिन छलफल गर्ने तयारीसमेत गरेको छ।

नेकपा एमालेले भने तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्ले र चितवन २ मा सभापति रवि लामिछानेलाई उम्मेदवार बनाउने भएको छ।

यस्तै सत्ता गठबन्धनबाट बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। यहाँ उम्मेदवारी दिने बताएका लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले पनि जसपा अध्यक्ष यादवलाई नै समर्थन गर्ने बताएका छन्।

बारा २ मा नेकपा एमालेले उम्मेदवार टुंगो लगाइसकेको छैन। यहाँ एमाले नेता पुरूषोत्तम पौडेललगायत आकांक्षी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्