अंगदानबारे कानुन छ, नतिजा छैन



काठमाडौं । मस्तिष्कको मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिले अंगदान गरे धेरै जनाले पुनर्जीवन पाउन सक्छन्। मृत्युपछि अंगदान गर्ने व्यवस्था कानुनमा छ । तर, जनचेतनाको अभावमा ब्रेनडेथ भएकाहरूका अंग खरानीमा परिणत भइरहेका छन्।

मानव अंग प्रत्यारोपणको (नियमित तथा निषेध) ऐन २०५५ पहिलो संशोधनपछि अंगदाताको दायरा फराकिलो मात्रै भएन, मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिने व्यवस्था आयो। मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ आएको ६ वर्ष हुँदा कार्यान्वयन भएको छैन।

मस्तिष्क मृत्युको घोषणा भएका व्यक्तिको अंग झिक्ने, झिकेका अंगलाई सुरक्षित राख्ने, अंग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अंगलाई तोकिए बमोजिमको प्राथमिकता क्रममा वितरण गर्ने व्यवस्था मिलाउन राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई समन्वय एकाइ तोकिएको छ । सो एकाइलाई ६ वर्षमा जम्मा २५ जनाको ब्रेन डेथको जानकारी प्राप्त गरेको छ।

अस्पतालले दिँदैनन् जानकारी

बिरामीको मस्तिष्क मृत्युको घोषणा गरेपछि अस्पताल वा स्वास्थ्य केन्द्रले ब्रेनडेथबारे समन्वय एकाइलाई तुरुन्तै जानकारी गराउनुपर्ने व्यवस्था ऐनमा छ । तर, यसबारेको सूचना अस्पतालले एकाइलाई जानकारी गराउँदैनन् ।

हालसम्म ३५ वटा अस्पतालले मात्र यस्तो जानकारी गराएको समन्वय एकाइ प्रमुख डा. कल्पना कुमारी श्रेष्ठले बताइन्। जसमध्ये ५ वटा अस्पतालबाट मस्तिष्क मृत्युपछिको अंग दानबाट १३ जनाले नयाँ जीवन पाएका छन्। १० जनालाई मिर्गौला र ३ जनालाई कलेजो प्रत्यारोपण गरिएको श्रेष्ठले जानकारी दिइन्।

उनले भनिन्, ‘पश्चिमा मुलुकमा ८० प्रतिशत प्रत्यारोपण मस्तिष्क मृत्यु भएपछि हुने अंग दानबाट गरिन्छ। काठमाडौंमा मात्र प्रतिवर्ष १ हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमान छ । तर, हालसम्म १३ जनाले मात्र प्रत्यारोपणबाट अंग पाएका छन्।’

स्वास्थ्य पत्रकार मञ्च नेपाल र शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले आयोजना गरेको यसबारेको अन्तक्र्रियामा बोल्दै केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले ६ वर्षमा एकाइलाई जम्मा २५ जनाको ब्रेन डेथ भएको जानकारी प्राप्त भएको बताए। यसबारेको तथ्यांकलाई आधार मान्दा ६ वर्षमा १२ हजारभन्दा बढीको ब्रेन डेथ भएको छ।

अस्पतालको सहयोग नहुँदा एकाइले ब्रेनडेथका २५ जनाको मात्रै जानकारी पाएको श्रेष्ठको भनाइ छ। बिरामीका आफन्तलाई अंगदानबारे बुझाउन सहज नभएको बताउँदै उनले भने, ‘बिरामीका आफन्तलाई सम्झायो बुझायो, प्रहरी, पोस्टमार्टम गर्ने डाक्टरलाई बुझाउनै फेरि घन्टौँ बित्छ।’

प्रहरी नै अन्योलमा

जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले आफूहरूलाई उक्त ऐनबारे थाहा नभएको बताए। ऐनले व्यवस्था गरेको समितिमा प्रहरीको पनि संलग्नता छ भन्ने थाहा नभएकाले कानुनी अड्चन आउने गरेको उनको बुझाइ छ।

ऐनले गरेको व्यवस्था प्रहरीलाई जानकारी गराउन शाहले प्रतिबद्धता जनाए। सबै जिल्लामा जाँचबुझ गर्न समिति गठन गर्नुपर्ने औल्याएका उनले भने, ‘प्रत्येक जिल्लामा जाँचबुझ समिति गठन गरे देशभर परिपत्र गर्न सकिन्छ । यसले सहजता पनि हुन्छ, कुनै अस्पष्टता पनि हुँदैन।’

७७० जना मिर्गौलाको पर्खाइमा

अहिलेसम्म २ हजार ७०० जनाले मृत्युपश्चात अंगदानको घोषणा गरेका छन्। तर, ब्रेनडेथ भएका व्यक्तिको अंग सबैले पाउँदैनन्। ब्रेनडेथ भएका व्यक्तिको अंग आफ्नो अंगसँग मिलेमा आफू सो अंग लिन तयार रहेको भनी बिरामीले उपचाररत अस्पतालमा मञ्जुरीनामा दिनुपर्ने व्यवस्था छ।

मञ्जुरीनामा दिएकाहरूमध्ये पनि सबैभन्दा बढी समय अंगको पर्खाइमा बसेका, लामो समयदेखि डाइलाइसिस गराइरहेका व्यक्ति हुनपर्छ। ब्रेनडेथ भएका व्यक्ति र लिने व्यक्तिको उमेर समान भएमा महिला सेवाग्राही पहिलो प्राथमिकतामा पर्ने नियमवालीमा उल्लेख छ । मस्तिष्क मृत्युबाट अङ्ग पाउनका लागि ७७० मिर्गौला र २५ जना कलेजोका बिरामी पखाईमा रहेका डा. श्रेष्ठले बताइन्।

प्रतिक्रिया दिनुहोस्