रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोग मुद्दामा आज पेसी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

महान्यायाधिवक्ताको निर्णयविरुद्ध युवराज पौडेल (सफल)ले आइतबार निवेदन दिएका थिए। सफलको निवेदन सोमबार मुख्य रजिस्ट्रारले दर्ता गरेको थियो। उक्त रिटमा आज (मंगलबार) का लागि पेसी तोकिएको छ।

६ चैतमा महान्यायाधिवक्ता दीनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने सफलको माग छ।

उनको रिटमा ‘रवि लामिछानेउपर झुटा विवरण दिएर राहदानी बनाएको मुद्दा चलाउनु भनी परमादेश जारी गरिपाऊँ’ भन्ने उल्लेख छ। त्यस्तै, महान्यायाधिवक्ताले मुद्दा नचल्ने भनी गरेको निर्णय कार्यान्वयन नगर्नू/नगराउनू भन्दै अन्तरिम आदेश जारी हुनुपर्ने माग सफलको निवेदनमा छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले अमेरिकी नागरिकता र राहदानी लिएकै बेला नेपाली राहदानीसमेत लिएको उजुरी गृह मन्त्रालयमा परेको थियो। यसमाथि अनुसन्धान गर्दै प्रहरीले २८ फागुनमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको थियो।

त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए । त्यसैका आधारमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्