प्रतिनिधिसभा उपनिर्वाचन : ३ क्षेत्रमा ६९ जना मैदानमा



काठमाडौं । १० वैशाखमा हुने प्रतिनिधिसभाको ३ स्थानको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारहरूको मनोनयन दर्ता भएको छ। तनहुँ–१, चितवन–२ र बारा–२ मा १० वैशाखमा मतदान हुँदै छ। जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार चितवन–२ को उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जसमा १२ जना दलका छन् भने १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। २४ जना उम्मेदवारमा २ जना महिला पनि छन्। तनहुँमा जम्मा ९ जनाले उममेदवारी दर्ता गराएका छन् भने बारामा ३६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

आयोका अनुसार ३ वटा निर्वाचन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दिएका छन्। ६९ जनामा ३३ जना दलका तर्फबाट छन् भने ३६ जना स्वतन्त्र उम्मेदवार छन्। विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

एमाले, रास्वपा, हाम्रो नेपाली पार्टी, राप्रपा र नाउपाले ३ वटै क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेका छन् भने कांग्रेसले तनहुँ–१, चितवन–२ मा उम्मेदवार बनाउँदा जसपाले बारा–२ मा मात्र उम्मेदवार उठाएको छ। तनहुँ–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराईले मनोनयन दर्ता गराएका छन् भने एमालेबाट सर्वेन्द्र खनाल, रास्वपाबाट स्वर्णिम वाग्ले र राप्रपाबाट शोभा गुरुङले मनोनयन दर्ता गराएका छन्। त्यस्तै, हाम्रो नेपाली पार्टीबाट विष्णु पराजुली र नाउपाबाट भीम सुनारले पनि उम्मेदवारी दिएका छन्।

यस क्षेत्रमा विशेष गरी कांग्रेस, एमाले र रास्वपाबीच प्रतिपर्धा हुने आकलन गरिएको छ। कांग्रेस उम्मेदवार भट्टराईलाई सत्ता गठबन्धनको साथ हुनेछ। चिनवन–२ मा पनि सत्ता गठबन्धनबाट कांग्रेसले नै उम्मेदवारी दिएको छ। यहाँ कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, रास्वपाका रवि लामिछाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा, नाउपाका राजेश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

४ मंसिरमा चितवन–२ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। अहिले पनि उनै लामिछाने मैदानमा आउँदा पहिलेकै परिणाम दोहोरिने आकलन गरिएको छ। चितवनमा कांग्रेसका विद्रोही नेताका रूपमा चिनिएका जगन्नाथ पौडेलले पनि रास्वपालाई नै समर्थन गर्ने भएपछि लामिछाने थप बलियो अवस्थामा पुगेका हुन्।

उता, बारा–२ मा भने सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । साथै, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्रप्रसाद कुशवाह, राप्रपाका सोनेलाल साह, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नाउपाका रामचन्द्र चौधरीलगायतले पनि उम्मेदवारी दिएका छन् । गठबन्धनको समर्थन पाएका यादव चुनाव जित्ने दाउमा छन्। सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली २३ चैतमा प्रकाशन हुनेछ ।

निर्वाचन आयोगका अनुसार मतदानका लागि चितवन–२ मा ४३ वटा मतदान स्थल र १३८ मतदान केन्द्र तोकिएको छ। बारा–२ मा ८२ मतदान स्थल र १३७ मतदान केन्द्र तथा तनहुँ–१ मा ६९ मतदान स्थल र १५२ मतदान केन्द्र तोकिएको छ। उपनिर्वाचनका लागि चितवन–२ मा ४७० जना मतदाता थपिँदै कुल मतदाताको संख्या १ लाख २४ हजार ६८५ पुगेको छ भने थप २३७ मतदातासहित बारा–२ मा १ लाख ५ हजार २४८ मतदाता पुगेका छन् । तर, ४ मंसिरमा १ लाख २३ हजार ३९० मतदाता रहेको तनहुँ–१ मा भने १८५ जना मतदाता घटेको निर्वाचन आयोगले जनाएको छ।

ठुला दलबाट परेको उम्मेदवारी हेर्दा महिला उम्मेदवारको संख्या शून्य बराबर नै छ। कांग्रेस, एमाले, रास्वपा र राप्रपामध्ये राप्रपाले मात्र महिला उम्मेदवारका रूपमा तनहुँबाट शोभा गुरुङलाई उम्मेदवार बनाएको छ । अन्य ठुला दलले भने महिलालाई प्राथमिकतामा राखेको देखिएन।

माओवादी र समाजवादी प्रतिस्पर्धाबाहिर

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने उम्मेदवारी दिएनन्। तनहुँ र चितवनमा नेपाली कांग्रेस र बारामा जसपाका उम्मेदवारलाई समर्थन गर्ने भन्दै माओवादीलगायत दलहरू ‘ब्याक’ भएका हुन् । तर, गठबन्धनमै रहेका नाउपा र जनमतले भने आ–आफ्नै उम्मेदवार उभ्याएका छन्।

गठबन्धनभित्र पनि आफ्नो छुट्टै धार बनाएका यी २ दलले ‘बारामा उपेन्द्र यादवलाई जिताउँदै संसद् पु¥याउन गठबन्धनले प्रपञ्च रचेको’ आरोप लगाउँदै आएका छन्।

पुरानै अनुहार हाबी

उपनिर्वाचनमा ठुला दलका तर्फबाट परेको उम्मेदवारी हेर्ने हो भने अधिकांश पुरानै अनुहार छन्। ३ वटै निर्वाचन क्षेत्रमा पुरानै अनुहारको दबदबा देखिएको छ । चितवनबाट उम्मेदवारी दिएका रास्वपाका रवि लामिछाने आफ्नो सांसद् पद पुनः प्राप्ति गर्ने चाहनामा छन्।

त्यस्तै, तनहुँमा पनि गत निर्वाचनमा हार बेहोरेका एमालेका सर्वेन्द्र खनाल उम्मेदवार बनेका छन्। बारामा त मुख्य प्रतिस्पर्धी सबै नै पुराना र टेस्टेड छन् । यहाँ उम्मेदवार बनेका जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाह र रास्वपाका रमेश खरेल ४ मंसिरको निर्वाचनमा पराजित भएका थिए । एमालेका पुरुषोत्तम पौडेल भने नयाँ अनुहार हुन।

जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए भने अघिल्लो पटक पनि बारा–२ बाटै उम्मेदवार बनेर पराजित भएका कुशवाह अहिले पार्टी परिवर्तन गर्दै फेरि उम्मेदवार बनेका छन् । कुशवाह त्यस समयमा माओवादीबाट चुनाव लडेका थिए भने अहिले जनमतमा छन् ।

काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका खरेल अहिले बारा–२ पुगेका छन्। ४ मंसिरको निर्वाचनमा आफ्नै दल बनाएर चुनाव लडेका उनी अहिले रास्वपाबाट उम्मेदवार बनेका छन् । एमालेका उम्मेदवार मधुसुधन पौडेल भने यस पटकका नयाँ अनुहार हुन्।

एक ठाउँमा उभिन सकेनन् गठबन्धनका दल

सत्ता गठबन्धनभित्रै रहेका नाउपा र जनमतले गठबन्धनलाई समर्थन नगर्ने देखिएको । यी २ दलले आ–आफ्नै उम्मेदवार उठाएका छन्। बाँकी दलले कांग्रेस र जसपाका उम्मेदवारलाई समर्थन गर्ने भए पनि नाउपा र जनमत भने एक ठाउँमा उभिएका छन्।

नाउपा गठबन्धन सरकारमा पनि सहभागी छ। तर, उपनिर्वाचनका लागि भने गठबन्धन अस्वीकार गरेको संकेत नाउपाले गरेको । गठबन्धनभित्र आफ्नै गुट तयार गरेका यी २ पार्टीले गठबन्धनमा पनि फरक धारणा प्रस्तुत गर्दै आएका छन।

जनमतका अध्यक्ष सिके राउतले त बारामा जसपाका उपेन्द्र यादवलाई गठबन्धनले उम्मेदवार बनाउन नहुने बताउँदै आएका थिए। ‘सत्ताबाट बाहिर बस्नै नसक्ने’ भन्दै राउतले संसद्मै यादवलाई कटाक्षसमेत गरेका थिए।

यस्तो थियो अघिल्लो निर्वाचनको परिणाम

४ मंसिरमा भएको निर्वाचनमा तनहुँमा कांग्रेसका रामचन्द्र पौडेल विजयी भएका थिए। पौडेलले एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई ५ हजार ३८० मतान्तरले पराजित गरेका थिए। पौडेलले २५ हजार ३६१ मत पाउँदा एमालेका रानामगरले १९ हजार ९८१ मत पाएका थिए।

कांग्रेसले कारबाही गरेका गोविन्दराज जोशी स्वतन्त्र उम्मेदवार थिए। उनले पनि ६ हजार ८८६ मत पाएका थिए भने रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत ल्याउन सफल भएका थिए। बारा–२ को मत परिणाम जसपाको पक्षमा गएको थियो।

जसपाका रामसहायप्रसाद यादव १३ हजार ८२२ मतका साथ विजयी भएका थिए। यादवलाई त्यस समयमा एमालेको समर्थन थियो। गठबन्धनका तर्फबाट भने माओवादीका शिवचन्द्रप्रसाद कुशवाह उम्मेदवार थिए। उनी जसपाका रामसहायसँग जम्मा ३५४ मतको झिनो अन्तरले पराजित भएका थिए । कुशवाहले १३ हजार ४६८ मत पाएका थिए।

चितवन–२ मा रास्वपाका रवि लामिछाने तेब्बर बढी मतान्तरले विजयी भएका थिए। लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी उमेश श्रेष्ठले जम्मा १४ हजार ९८६ मत मात्र पाएका थिए। श्रेष्ठलाई माओवादी, नेकपा एसलगायत दलको समर्थन थियो। उता, एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले पनि जम्मा १४ हजार ६४७ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्