चट्याङ : प्रभाव र सावधानी



  • नबराज पोखरेल

काठमाडौं । विशेषतः हिउँदे वर्षा र पूर्वमनसुनको समयमा धेरै पर्ने चट्याङको कारण क्षति सबैजसो मौसममा हुने गरेको छ । यस वर्षको हिउँदे वर्षामा औसत भन्दा पानी अत्यधिक कम परेको छ। औसतमा ७० देखि १०० मिलिमिटर पानि पर्ने गरेको हिउँदको समयमा हालको वर्षचाहिँ अत्यन्तै न्यून जस्तै रह्यो । फेब्रुअरी महिनामा केवल १० मिमि वर्षा भएको तथ्यांक छ।

सन् २०२१ मा एउटा अमेरिकी जर्नलमा प्रकाशित तथ्यांकअनुसार सन् १९७१ देखि सन् २०१९ सम्मको विश्लेषणमा २ हजार ५०१ चट्याङका घटनाहरू रिपोर्ट गरिएको थियो, जसमा १ हजार ९२७ जनाको मृत्यु भयो भने २० हजार ५९६ जना प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए।

पछिल्लो १० वर्षमा ८०० जनाभन्दा बढीको ज्यान लिएको चट्याङको समय यो वर्ष पनि आएको छ। सुन्दा सामान्य लाग्ने यो मौसमजन्य बिपत्तिका कारण नियमित रूपमा जन र धनको क्षति हुने गरेको छ। जलवायुसँग सम्बन्धित प्राकृतिक बिपत्तिका विविध रूपहरूमध्येको एक रूप चट्याङ हो।

चट्याङको कारण एक पटक ठूलो संख्यामा मानिसको मृत्यु नहुने भएको हुनाले मात्र यसको चर्चा अरू प्राकृतिक बिपत्तिको तुलनामा कम हुने गरेको छ। सँगै, यसबाट हुने क्षति जंगल नजिक, ग्रामीण क्षेत्रमा हुने र घटना भएको तत्काल त्यसको तथ्यांक र घटनाको विवरणसमेत नआउने हुनाले नियमित रूपमा पर्ने गरेका असरहरू पनि न्यून चर्चामा आउँछन्।

हाम्रो दशेका कतिपय ग्रामीण भेगमा चट्याङको क्षति संचार माध्यममा आइपुग्दा त बासी भइसकेका हुन्छन्। त्यस कारण पनि ती क्षतिलाई ठुलो रूपमा लिइँदैन अनि चट्याङ जस्तो बिपत्तिको रोकथाम, नियन्त्रण र बच्ने उपायहरूबारे ग्रामीण भेगसम्म पुग्ने गरेर चर्चा पनि हुँदैन।

चट्याङ पनि एउटा जलवायुसँग सम्बन्धित प्राकृतिक जोखिम हो। चट्याङ एउटा शक्तिशाली विद्युतीय प्रवाहका कारण हुने जोखिम हो । यसमा प्रवाह हुने विद्युतीय शक्तिको तापक्रम सूर्यको सतहको तापक्रमभन्दा तिन गुणा बढी करिव ९० हजार डिग्री सेन्टिग्रेडसम्म हुने गर्छ । यो अपार विद्युतीय शक्ति २ वा २ भन्दा बढी बादलको गर्जनका कारण उत्पन्न हुन्छ।

२ वा २ भन्दा बढी बादलको ठोक्किने प्रक्रियाबाट गर्जनसँगै असीमित विद्युतीय प्रवाह वायु मण्डलमा हुने गर्छ। यो बादल ठोक्किने प्रक्रिया एउटै बादलभित्र वा २ वटा फरकफरक बादलसँग र कहिलेकाहीँ बादल र जमिनसँग पनि हुने गर्छ। यसरी ठोकिएर निस्किएको विद्युतीय प्रवाह वायुमण्डलमा सीमित रहेको अवस्थामा खतराजन्य नहुन सक्छ तर जब सो विद्युतीय प्रवाह पृथ्वीसम्म आइपुग्यो भने मानवीय क्षतिसँगै अरू क्षति पनि हुन सक्छ।

यसरी ठोकिएर चट्याङ पर्ने बादललाई कुमुलोनिम्बस बादल भनिन्छ। यो वायुमण्डलमा ठोक्किनछ र मानिसले देख्न मात्र सकिन्छ। बादल र जमिनको ठोक्काइबाट हुने चट्याङले मानवीय क्षति गर्ने गर्छ। चट्याङ पर्ने बारम्बारता पनि पछिल्लो समय बढ्दै गएको कुरा पछिल्लो तथ्यांकले बताउँछ। वार्षिक रूपमा चट्याङका कारण १०० जनाभन्दा बढीको मृत्यु हुने गृह मन्त्रालयको तथ्यांकले जनाउँछ। मृत्युबाहेकका क्षतिको यकिन विवरण नै छैन । तथापि, यसको मूल्यचाहिँ धेरै नै हुन सक्छ।

वर्षाको समयमा र पानी परेको वा वायुमण्डलमा कालो बादलको गति अत्यधिक भएको समयमा चट्याङ पर्ने गरेको पाइन्छ। चट्याङको वैज्ञानिक आधारचाहिँ विद्युतीय प्रवाह हो, जुन विद्युत् धनात्मक र ऋणात्मक चार्जयुक्त बादल ठोक्किने प्रक्रियाबाट उत्पन्न हुन्छ। वायुमण्डलमा नियमित रूपमा हुने यस्तो विद्युतीय प्रवाह तब मात्र क्षतिको कारण बन्छ, जब यो जमिनसम्म आइपुग्छ।

वायुमण्डलमा उत्सर्जित विद्युतीय प्रवाह जमिन वा वस्तीसम्म आएपछि त्यसको कारणले नै क्षति पुर्‍याउँछ। सामान्यतयाः वायुमण्डलमा बादलको उचाइ केही मिटरदेखि १० किलोमिटरसम्म हुने गर्छ। मानवीय माध्यम जस्तो : घर, भवन, विद्युतीय पोल तथा अन्य टावरहरूका साथै अग्ला रूखहरू पनि वायुमण्डलमा हुने विद्युतीय प्रवाहलाई जमिनसम्म ल्याई पुर्‍याउने माध्यम बन्न सक्छन्।

भवन, रूख, टावर वा विद्युतीय पोलहरू नजिकै मानवीय वस्ती छ भने त्यस्तो प्रवाहले मानिसको ज्यान लिने तथा अरू मानवीय सुख, सुविधालाई असर गर्ने गर्छ। यसबाहेक कतिपय आकाशमा उडिरहेका जहाजहरू पनि चट्याङका कारण दुर्घटनामा परेका तथ्यहरू अगाडि आएका छन् । कहिलेकाहीँ विद्युतीय ट्रान्सफर्मर र दूर सञ्चार टावरहरूमा चट्याङ पर्दा सो टावर र टावरसँग जोडिएका व्यक्तिगत विद्युतीय सामग्रीहरूमा पनि क्षति पुर्‍याएको हुन्छ ।

चट्याङको पूर्वभविष्यवाणी प्रणाली अहिलेसम्म विकसित भएको छैन। तथापि, अतिसूक्ष्म समयका लागि भविष्यवाणी गर्ने सेन्सरहरू पनि बजारमा पाइने गरेका छन् । चट्याङपश्चात् कहाँ यसले क्षति पुर्‍यायो भनेर मापन गर्ने संवेदकहरूको चाहिँ उपलब्धता हुन्छ। जल तथा मौसम विज्ञान विभागले गत वर्षदेखि चट्याङ मापन गर्नका लागि देशका ९ वटा स्थानमा त्यस्ता सेन्सरहरू जडान गरी अनुगमन सुरु गरेको छ।

विश्व बैंकको सहयोगमा विभागले तुम्लिङटार, विराटनगर, सिमरा, भैरहवा, काठमाडौं, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा त्यस्ता सेन्सर राखेको छ। यी सेन्सरले नेपालभरिको चट्याङसम्बन्धी तथ्यांक अनुगमन गर्ने गर्छन्। यी मापक केन्द्रहरूबाट चौबीसै घन्टा चट्याङको मापन भइरहेको हुन्छ । यसले चट्याङको अनुगमन गरी एथेष्ट सचेतना अपनाउन सजिलो हुने देखिन्छ।

यथार्थमा चट्याङको पूर्वभविष्यवाणीको वैज्ञानिक प्रक्रिया नभएको हुनाले सामुदायिक सचेतना नै चट्याङबाट बच्ने उपाय हो । व्यवस्थित वस्ती प्रणाली र अग्ला भवन, पोल, टावर निर्माण गर्दा विद्युतीय वा पारमाणविक सुरक्षाको प्रबन्ध गर्नु नै चट्याङबाट बच्ने उपाय हो। वैज्ञानिक रूपमा चट्याङबाट बच्नका लागि अर्थिङ प्रणालीको स्थापना गर्नुपर्छ। यसका लागि भवन वा टावर वा पोलको माथिल्लो भागबाट सुचालकको प्रयोग गरी धनात्मक र ऋणात्मक चार्जयुक्त विद्युतीय प्रवाहलाई जमिनमा पुर्‍याई बिसर्जन गराइन्छ।

अर्थिङ प्रणालीका लागि सुचालक तार र जमिनमा विसर्जन गर्न खोजिएको विद्युतीय प्रवाहलाई तटस्थ बनाउने केही सुचालक र वरिपरि सुचालक ठोस वस्तुको व्यवस्थित प्रणाली विकास गरिएको हुन्छ। यसले वायुमण्डलमा भएको अधिक विद्युत् प्रवाहलाई विसर्जन गर्छ। यसका साथसाथै अग्ला भवनको निर्माण चट्याङको खतराबाट पनि मुक्त छैन। पोल, टावर र अग्ला भवनको निर्माण गर्दा अर्थिङ प्रणाली अत्यावश्यक पर्छ । ग्रामीण भेगमा अग्ला रूखहरू नजिक बासस्थान नबनाउने, घरहरूको निर्माण नगर्ने र नबस्ने केही पूर्वसावधानीहरू हुन्।

बिजुली चम्किने र चट्याङ पर्ने समयमा जंगलमा वा अग्लो रूख भएको स्थानमा नजाने र त्यहाँको यात्रा नगर्ने नै हो। सँगसँगै जंगल, वन क्षेत्र नजिकको क्षेत्रमा घर, वस्ती निर्माण नगर्नु नै श्रेयस्कर हुने गर्छ। पानी परेको अवस्था तथा चट्याङ पर्ने समयमा धातुका पोलहरू र धातुजन्य वस्तु, विद्युतीय सुचालन भएका उपकरण र अरू इलेक्ट्रोनिक्स समानको प्रयोग नागरीकन बस्ने तथा त्यस्ता सामग्रीबाट टाढा रहने गर्नुपर्छ।

मूलतः चट्याङ पर्ने समयमा अग्ला तथा धातुका सामग्रीहरू भन्दा टाढा रहनुपर्ने हुन्छ । कहिलेकाहीँ चट्याङ ठुलाठुला प्राकृतिक आगलागीको कारण पनि बनेको हुन्छ । यस्तो आगलागीले ठूलो धनजनको क्षति हुने गर्छ । नेपालमा प्राकृतिक आगलागीका प्रमाणहरू नभेटिए पनि विश्व वन क्षेत्रमा क्षति गरेको पाइन्छ ।

चट्याङबाट बच्न केही सावाधानीहरू सरल तरिकाले पनि अपनाउन सकिन्छ जस्तै :
– जब आँधीबेहरीजन्य खतरा वा चट्याङको खतरा देखियो भने सबैभन्दा पहिले घरभित्र जानुपर्छ।
– घरभित्र रहँदा पनि टेलिफोन वा मोबाइलको प्रयोग गर्नुहुँदैन ।
– यदि बाहिर भए सुरक्षित भवन वा अटोमोबाइलमा पुग्न कुनै समय छैन भने प्राकृतिक प्रकाशको डन्डामुनि जस्तै ः रूखको मुनि बस्नुहुँदैन ।
– खुला पानीबाट टाढा रहनुपर्छ ।
– धातुजन्य वस्तु वा उपकरणहरूबाट टाढा रहनुपर्छ ।
– मोटरसाइकल, स्कुटर, गोल्फ कार्ट र साइकलबाट टाढा बस्ने गर्नुपर्छ ।
– बिजुलीको तार, टेलिफोनको तार वा अन्य धातु, पाइप, रेल र अन्य धातु मार्गहरूबाट टाढा रहनुपर्छ ।
– खुला क्षेत्रहरूमा साना छुट्टै संरचनाहरूमा बस्ने कोसिस गर्नुपर्छ ।
– वनमा, साना रूखहरूको वा झाडीमा रहँदा बरु सुरक्षित रहन सकिन्छ ।
– तल्लो क्षेत्र जस्तै : खोला वा उपत्यकामा रहँदा बस्दा अन्य स्थानभन्दा सुरक्षित हुन सकिन्छ । चट्याङसँगै आउने फ्ल्यासले बाढी आउन सक्ने खतरालाई मध्यनजर रहँदै सुरक्षित हुनुपर्छ ।

साधारणतयाः वर्षात् र कालो कुमुलोनिम्बस नामक बादलको अधिकता आकाशमा भएका बेला चट्याङको सम्भावना उच्च हुन्छ। त्यस कारण त्यस्तो समयमा यदि घरभित्र हो भने विद्युतीय सरसामानको प्रयोग नगर्ने र चिसो भएर नबस्नेजस्ता व्यक्तिगत सुरक्षाका तरिकाहरू छन्। तथापि, समग्र चट्याङको जोखिमलाई न्यूनीकरणका लागि व्यक्तिगत, सामुदायिक र राष्ट्रिय स्तरमा सचेतना जगाउनु आवश्यक हुन्छ।

स्थानिय तहमा आकाशमा कालो बादलसहित गर्जन आएको समयमा घरभित्र अथवा घरबाहिर रहँदा आपनाउनुपर्ने सावधानीहरू उल्लेख गरी ग्रामीण समुदायसम्म पुर्‍याउनुपर्ने हुन्छ।

अत्यधिक चट्याङ पर्ने स्थानहरूको पहिचान गरी सो क्षेत्रमा पनि सुचालक पोल र अर्थिङको प्रणालीलाई स्थापना गरेको खण्डमा पनि यसको सम्भावित क्षतिबाट बच्न सकिन्छ। व्यक्तिगत, स्थानीय, सामुदायिकसँगै राष्ट्रिय स्तरमा पनि चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पहल हुनु जरुरी छ।

वार्षिक रूपमा १०० जनाको मृत्यु र लाखौँ रुपयाँको क्षति हुने जोखिमलाई नियमित प्रक्रियाको रूपमा लिनु गलत हुन्छ। त्यस कारण विशेषतः यो समयमा चट्याङसम्बन्धी सावधानी अपनाउनु अति नै जरुरी छ।

प्रतिक्रिया दिनुहोस्