लामखुट्टेजन्य रोग रोकथामका उपाय



  • डा. केदार कार्की

काठमाडौं । द्रुत गतिमा भएको भू–उपयोगितामा परिवर्तन, जस्तै : धेरैको संख्यामा रूखको कटानी गर्ने, बाँधको निर्माण गरी नदीको बहाव परिवर्तन गर्ने, ठुलो क्षेत्रको रूख बिरुवा हटाउने आदिले लामखुट्टे प्रजननमा मद्दत पुर्‍याउँछ।

लामखुट्टेले फैलाउने रोग आपत्कालीन समय, जस्तै : युद्ध, मानिसहरूको ठुलो आवतजावत र प्राकृतिक प्रकोप तथा जब मानिसलाई साधारण सावधानी अपनाउन कठिन भइरहेको बेला चाँडो फैलिन्छ।

लामखुट्टेबाट मुख्यतया ३ किसिमका रोग लाग्छन्। जस्तैः मलेरिया, डेंगी ज्वरो र पित्त ज्वरो। यी सबै रोगका फरकफरक लक्षणहरू हुन्छन् र विभिन्न प्रजातिका लामखुट्टेहरूबाट सर्छन्, जसको प्रजनन हुने ठाउँ फरकफरक हुन्छ। तर, यी रोगहरूलाई एउटै तरिकाबाट रोकथाम गर्न सकिन्छ किनकि यी सबै रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्छन्।

मलेरिया
मलेरिया रगतमा हुने एउटा संक्रमण हो, जसले गर्दा बिरामीलाई एकदमै बढी ज्वरो आउने र जाडो हुन्छ। यो एउटा प्लाज्मोडियम नाम परजीवी, जुन मानिसमा खासगरी रातको समयमा मात्र टोक्ने एक किसिमको लामखुट्टेको टोकाइबाट सर्छ। मलेरियाका कारण लाखौँ मानिसहरू वर्षमा मर्ने गरेका पाइन्छ र अन्य लाखौँ मानिसहरू यसको टोकाइबाट बिरामी भएर बाँच्ने गर्छन्।

मलेरिया खासगरी ५ वर्षमुनिका बालबालिकाहरूका लागि, गर्भवती महिला र एच.आई.भी. तथा एड्सबाट संक्रमित मानिसहरूका लागि अतिखतरनाक हुन्छ। गर्भधारण गरेका महिलाको रोग वा संक्रमणविरुद्ध लड्ने क्षमतामा कमी ल्याउँछ। मलेरियाबाट प्रभावित गर्भवती महिलामा रक्त अल्पता पनि हुने निकै बढी सम्भावना हुन्छ, जसका कारण बच्चा जन्मिनुपूर्व वा पछाडि मृत्यु हुने बढी सम्भावना हुन्छ । मलेरिया भएका महिलामा गर्भ तुहिने र छिटो बच्चा जन्मिने, सानो र मृत बच्चा जन्मिने पनि हुन्छ।

मलेरिया विभिन्न थरिका हुन्छन् । कुनै प्रकारको मलेरिया लागेको व्यक्ति वर्षाैंसम्म पनि बाँच्न सक्छ र अन्य धेरै प्रकारका मलेरियालाई रोकथाम पनि गर्न सक्छ। तर, सेरेवेरल मलेरियाले केही दिनमै मृत्युसमेत गराउन सक्छ। सेरेवेरेल मलेरिया लागेको ठाउँमा मान्छे बिरामी हुने शंका लाग्नेबित्तिकै जचाउने र उपरचार गरिहाल्नुपर्छ।

मलेरिया लागेको मानिसमा २ देखि ३ दिनसम्म ज्वरो आउँछ तर सुरुमा हरेक दिन ज्वरो आउँछ। कोहीकोहीमा लामो समयसम्म बुझ्नै नसक्ने किसिमको ज्वरो आयो भने तुरुन्त रगत परीक्षण गराउनुपर्छ। यो प्रायः प्रत्येक स्वास्थ्य केन्द्रमा गराउन मिल्छ। रगत परीक्षणमा मलेरियाको संकेत फेलापर्‍यो वा रगत परीक्षण उपलब्ध नहुने ठाउँ छ भने तत्काल उपचार गराउनुपर्छ।

मलेरियाका लक्षणहरू

मलेरियाको आक्रमण ३ चरणमा हुने गर्छ। पहिलो लक्षणमा निकै जाडो हुने र अक्सर टाउको दुख्ने गर्छ। मानिस करिब १५ मिनेटदेखि लिएर १ घन्टासम्म थरथर काम्ने गर्छ। निकै जाडोपछि एकदमै बढी ज्वरो आउँछ। मानिस निकै कमजोरी महसुस गर्छ र अचेत अवस्थामा रहन्छ।

यस्तो ज्वरो केही घन्टादेखि दिनभरी नै लाग्ने गर्छ। अन्त्यमा, अत्यधिक पसिना आउँछ र ज्वरो घटेर जान्छ। ज्वरो घटेपछि मानिसले कमजोरी महसुस गर्छ।

उपचार
सम्भव भएमा रगत परीक्षण गर्नुहोस्। पहिलो लक्षण देखापर्नेबित्तिकै उपचार गर्न थाल्नुहोस् किनभने मलेरिया लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। तसर्थ, रोगलाई उपचार गर्नाले अन्यलाई पनि संक्रमित हुनबाट बचाउँछ।

मलेरिया लागेको व्यक्तिलाई उपचार गरेपछि लामखुट्टेले टोकेर अर्को व्यक्तिमा यो सर्दैन। स्थानीय स्वास्थ्य अधिकारीले मलेरियाको रोकथामका लागि के औषधि सुझाउँछ भन्ने बुझ्नुहोस्।

डेंगी ज्वरो

डेंगी ज्वरो एक किसिमको भाइरसबाट सर्ने गर्छ, जुन जीउमा सेतो टाटो भएको कालो, टाढाबाट हेर्दा झ्वाट्ट सेतो धर्को जस्तो देखिने लामखुट्टेको टोकाइबाट सर्छ। यिनीहरूको खुट्टामा पनि सेतो धर्को देखिन्छ। यस लामखुट्टेलाई ‘पहेँलो ज्वरो लामखुट्टे’ पनि भनिन्छ किनभने यसले पहेँलो ज्वरो पनि निम्त्याउँछ।

डेंगी ज्वरो साधारणतया गर्मी र वर्षात्को मौसममा सर्छ। यो प्रायः शहर बजारमा हुने गर्छ। पानी जम्ने ठाउँहरूमा र ढल निकासको राम्रो व्यवस्था नभएको ठाउँमा यो ज्वरो लाग्ने गर्छ। पहिलो पटक डेंगी ज्वरो लागेको मानिस आराम गरेर र अत्यधिक झोल पदार्थ खाएर निको हुने गर्छ। तर, दोस्रो पटक जब यो ज्वरो दोहोरिन्छ यो निकै खतरनाक हुन सक्छ र मृत्युसमेत निम्त्याउँन सक्छ।

लक्षणहरू
पहिलो पटक यो ज्वरो लागेको मानिसमा एक्कासि अत्यधिक ज्वरो लाग्न सक्छ र निकै जाडोसमेत लाग्ने गर्छ। जीउ र हात निकै दुख्ने डेंगी ज्वरोलाई कहिलेकहीँ हाड तोड्ने ज्वरो पनि भनिन्छ, टाउको दुख्ने र घाँटी दुख्ने हुन्छ। मानिस धेरै कमजोर तथा बिरामी देखिन्छ।

३–४ दिनपछि केही घन्टादेखि २ दिनसम्म मानिसले साधारणतया राम्रो अनुभव गर्छ। त्यसपछि पुनः रोग १–२ दिन बढीसम्म लाग्छ। अक्सर हात र खुट्टामा घाउ हुन्छ र पछि पैताला, खुट्टा र शरीरभरी घाउ बढेर जान्छ तर अनुहारमा भने घाउ आउँदैन। बच्चा, स–साना उमेरका बालबालिका र बूढापाका वा यो रोगसँग लड्ने क्षमता नभएका व्यक्तिहरूमा पनि यो रोग धेरै हदसम्म लाग्छ।

जस्तै : एचआईभी/एड्स लागेको व्यक्तिलाई यस रोगले निकै प्रभावित गर्छ । यसलाई हेमोराजिक डेंगी ज्वरो पनि भनिन्छ। यसलाई बेलैमा उपचार नगरेमा यसले छालामा रगत बग्न थाल्छ र पछि मान्छेको मृत्युसमेत गराउँछ।

उपचार
डेंगी ज्वरो उपचारका लागि कुनै औषधि छैन र यसलाई रोक्न सक्ने कुनै खोपको विकास पनि भएको छैन। प्रायः डेंगी ज्वरोको उपचार र दुखाइ कम गर्न घरमै उपाय गरिन्छ । लामो समयसम्म आराम गरेर र अत्यधिक रूपमा झोल पदार्थ पिउनुका साथै खाएर उपचार गरिन्छ।

महत्वपूर्ण कुरा, हेमोराजिक डेंगी ज्वरोलाई मानिसको शरीरमा भएको तरल पदार्थ एवं रगत बदलेर चाँडै निको पार्न सकिन्छ । छालाबाट रगत निस्कने बेला, खान र पिउन कठिन भए, सुद्धिबुद्धि हराए, ज्वरो, दुर्बलता र छिनछिनमा रिस उठ्ने जस्ता लक्षणहरू देखापरेपछि तुरुन्त अस्पताल लैजानुपर्छ।

यस्ता बिरामी बच्चा, साना केटाकेटी वा वृद्ध वा अन्य कुनै खतरनाक स्वास्थ्य समस्या जस्तै : सुगर, मुटुसम्बन्धी रोगी वा एचआईभी/एड्स लागेको भएमा ठिक तरिकाले सहयोग पुर्‍याउनुपर्छ।

रोकथाम
डेंगी ज्वरो निम्त्याउने लामखुट्टेले सफा जमेको पानीमा प्रजनन गर्छ। मलेरिया सार्ने लामखुट्टेभन्दा फरक दिनको समयमा डेंगीको लामखुट्टेले टोक्छ। तसर्थ, झुलले दिउँसोको समयमा सुत्नेहरूलाई मात्र सहयोग पुर्‍याउँछ। डेंगीको लामखुट्टे प्रायः छहारीमा, अँध्यारोमा, जस्तै : टेबुलको तल, खाटको तल र कोठाको अँध्यारो कुनामा बस्छ। तसर्थ, डेंगी ज्वरोको रोकथाम गर्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।

पहेँलो ज्वरो
अफ्रिका एवं दक्षिण अमेरिकाका केही भागमा पहेँलो ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। पहेँलो ज्वरो खासगरी २ किसिमको हुन्छ र भिन्नाभिन्न तरिकाले सर्ने गर्छ।
जंगली पहेँलो ज्वरो : जंगली पहेँलो ज्वरो संक्रमित लामखुट्टेबाट बाँदरमा र फेरि बाँदरबाट लामखुट्टेमा सर्छ । यसरी बाँदरबाट संक्रमित लामखुट्टेले मानिसलाई टोकेको खण्डमा मानिसमा यो पहेँलो ज्वरो लाग्छ । जंगली पहेँलो ज्वरो एकदमै कम हुने गर्छ र उष्ण जंगलहरूमा काम गर्ने मानिसहरूमा यो लाग्ने गर्छ।

शहरी पहेँलो ज्वरो : शहरी पहेँलो ज्वरो खासगरी धेरै पहेँलो ज्वरोको महामारीको कारण हो। मलेरिया र डेंगी ज्वरो जस्तै शहरी पहेँलो ज्वरो पनि लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यसमा लामखुट्टेले पहिले संक्रमित मानिसलाई टोक्दा रगत चुस्छ र पछि अरू मानिसलाई टोकेर संक्रमित गर्छ।
शहरी पहेँलो ज्वरो डेंगी ज्वरो फैलाउने कालो लामखुट्टेले नै सार्छ, जसको खुट्टा र पिठ्युँमा सेता धब्बाहरू हुन्छन् । यी लामखुट्टेहरूले पनि शहर, बजार, गाउँमा जमिरहेको पानीमा बस्ने र प्रजनन गर्ने गर्छन् ।

लक्षणहरू
पहेँलो ज्वरोमा ज्वरो, जाडो, मांसपेशी दुख्ने, खासगरी पिठ्युँको दुखाई, टाउको दुख्ने, भोक नलाग्ने, वाक्वाक् लाग्ने, वान्ता हुने, अत्यधिक ज्वरो र नाडी कम चल्ने हुन्छ । धेरै मानिसहरूमा यो रोग ३ देखि ४ दिनसम्ममा आफैँ हराएर जान्छ । तर, केही मानिसहरूमा भने हरेक ७ दिनमा एक पटक ज्वरो हराएर गएको २४ घन्टामा ज्वरो दोहरिन्छ।

जण्डिस, पित्त ज्वरो, पेट दुख्ने र वान्ता हुन्छ । त्यसपछि मुख, नाक, आँखा र पेटबाट रगत बग्ने गर्छ । १० देखि १४ दिनमा मृत्यु पनि हुन सक्छ। तर, यो पहेँलो ज्वरोबाट प्रभावित व्यक्तिमा ज्वरो दोहोरिएको खण्डमा आधाजति मानिस बिना कुनै स्वास्थ्यजन्य समस्या बाँच्न सक्छन् ।

उपचार
पहेँलो ज्वरोको सबैभन्दा राम्रो उपचार भनेको आराम गर्ने र अत्यधिक झोल पदार्थहरूको सेवन गर्नु हो । धेरै मानिसहरू केही समयपछि पूर्णयता ठिक भएर आउँछन् र त्यस रोगविरुद्ध प्रतिरोधात्मक क्षमताको विकास गर्छन् । एकदमै थोरै मानिसहरूमा यो रोग एक पटक निको भइसकेपछि दोहोरिने गर्छ तैपनि यो निको भएर जान्छ ।

रोकथाम
मलेरिया र डेंगी ज्वरो जस्तै पहेँलो ज्वरोको पनि राम्रो रोकथामको उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टेको नियन्त्रण गर्नु नै हो । खोपको प्रयोगबाट पहेँलो ज्वरोलाई रोकथाम गर्न सकिन्छ तर यसका लागि चाहिने उपयुक्त खोपचाहिँ सजिलै उपलब्ध नहुनुका साथै महँगो पनि हुन्छ ।

लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू
लामखुट्टेबाट लाग्ने हरेक किसिमका रोगलाई यसको टोकाइबाट बचेर रोक्न सकिन्छ । लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू यस प्रकार छन् ।
– हात, बाहुला, खुट्टा, छाती र टाउको छोप्ने लुगा लगाउनुहोस् । जस्तै : लामो बाहुला भएको सर्ट, पाइन्ट, चोलो र कपाल छोप्ने कपडाहरू लगाउनुपर्छ ।
– लामखुट्टे धुप र अन्य धपाउने रसायन, जस्तै ः सिट्रोनेला, निमको तेल, तुलसीको पातको प्रयोग गरेर ।
– धपाउने किसिमका रसायनहरू खासगरी बच्चा भएको घरमा राम्रो हुन्छ किनभने अन्य रोकथामको उपाय नअपनाउने घरहरूमा यसले लामखुट्टेको टोकाइलाई कम गर्न सकिन्छ ।
– झ्याल र ढोकामा जाली लगाउनुहोस् ।
– बच्चा सुतिरहेका बेला रसायनद्वारा प्रशोधित लामखुट्टे झुलको प्रयोग गर्नुपर्छ । झुलको छेउको भाग ओछ्यानको तल राखेमा लामखुट्टे पस्ने ठाउँ हुँदैन। धेरैजसो ठाउँहरूमा बच्चाको हेरचाह गर्ने कार्यक्रमअन्तर्गत महिला र बच्चालाई सुरक्षित राख्न निःशुल्क वा थोरै पैसामा झुल प्रदान गरिन्छ।
रसायनबाट प्रशोधित झुलको असर कायम राखिराख्न हरेक ६ देखि १२ महिनामा यसलाई पुनः प्रशोधन गरिनुपर्छ। घरबाहिर सुत्ने बेलामा पनि झुलको प्रयोग गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्