उपनिर्वाचनले गठबन्धनमा खटपट : ५ दल एकातिर, अरू छिन्नभिन्न



काठमाडौं । मंगलबार ५ दलले निकालेको संयुक्त प्रेस विज्ञप्तिले गठबन्धनभित्र रहेको तुषलाई छर्लंग पारेको छ। विश्वासको मत र सरकार विस्तारमा सँगै देखिएका दलहरू १० वैशाखमा हुने उपनिर्वाचनमा भने अलग भएका छन्।

सत्तारुढ १० दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा छन्। तर, उपनिर्वाचनसम्म आइपुग्दा कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र जसपा मात्र एक ठाउँमा देखिएका छने भने बाँकी दल आ–आफ्नै लयमा छन्।

उनीहरूबीचको तुष उपनिर्वाचनका लागि उम्मेदवारी दिनुभन्दा अघि नै देखिएको थियो। यसलाई मंगलबारको विज्ञप्तिले थप उजागर गर्‍यो। संयुक्त प्रेस विज्ञप्तिमा ५ दलका अध्यक्षहरूको हस्ताक्षर छ भने उनीहरूले कांग्रेस र जसपाका उम्मेदवारलाई जिताउन अपिल गरेका छन्।

सरकारमा सँगै रहेका दलहरू चुनावमा किन बाँडिएको ? भन्ने प्रश्नमा नाउपाका एक नेताले लोकतान्त्रिक पद्धतिलाई अपनाएको बताए। ‘चुनावमा जानु र सरकारमा बस्नु फरक कुरा हो,’ ती नेताले भने, ‘हामी अहिले चुनावमा छौँ, कसले कसलाई समर्थन गर्छ भन्नेमा हाम्रो कुनै ध्यान छैन, अहिले हामी चुनाव जित्नेमा केन्द्रित भएका छौँ।’

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल भने गठबन्धनभित्र उपनिर्वाचनको विषयमा अहिले पनि छलफल जारी नै रहेको बताउँछन। ‘उपनिर्वाचनमा जम्मा ३ सिट छ, गठबन्धनमा १० दल छन्। क–कसलाई उम्मेदवार बनाउनु ? माओवादी आफैँँ त छुट्यो’, पौडेल भन्छन्, ‘यो सामान्य विषय हो, यसले गठबन्धनमा कुनै असर पर्दैन।’

छलफल जारी रहेकाले ९ वैशाखसम्म अवस्था परिवर्तन पनि हुन सक्ने पौडेलले बताए। यसै विषयमा बुझ्न खोज्दा प्रतिनिधिसभा सदस्य तथा जनमतकी नेतृ सोनु मुर्मू बोल्न चाहिनन्। उनले द नेपालटपको प्रश्नलाई पार्टी अध्यक्ष सिके राउततर्फ तेस्र्याइन्। गठबन्धनमा जनमतको असन्तुष्टि छताछुल्ल भएकै विषय हो।

सरकारमा भनेअनुसारको मन्त्रालय नपाउँदा सरकार नै छाडेको जनमत अहिले उपनिर्वाचनमा पनि अलग भएको छ। उद्योग मन्त्रालय मागेको जनमतले उक्त मन्त्रालय नपाएपछि पार्टीबाट सरकारमा रहेका अब्दुल खानलाई खानेपानी मन्त्रालयबाट राजीनामा दिन लगायो। गठबन्धनले बारामा जसपाका उपेन्द्र यदवलाई उम्मेदवार बनाउन सक्ने भन्दै जनमतका अध्यक्ष सिके राउतले संसद्मै प्रतिवाद गरेका थिए।

कांग्रेस भने २ क्षेत्रको उपनिर्वाचनमा गठबन्धनभित्र आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी हुनु स्वाभाविक भएको बताउँछ। चितवन–२ र नतहुँ–१ मा कांग्रेसले उम्मेदवारी दिएको छ । कांग्रेसका नेता रमेश लेखक उम्मेदवार टुंगो लगाउँदा गठबन्धनका सबै दल सँगै बसेर लगाएको बताउँछन्। उनी भन्छन्, ‘हामी सबै बसेर उम्मेदवार टुंगो लगाएका हौँ । यसमा कसैको विमति छ भने त्यो फरक कुरा हो।’

कांग्रेसका उम्मेदवार भएका क्षेत्रमा परिणाम कस्तो आउला त ? भन्ने प्रश्नमा उनले ३ वटै क्षेत्रमा गठबन्धनले जित्ने बताए। उनले उपनिर्वाचनका लागि बनेको ५ दलीय गठबन्धन विजयी हुने संकेत गरे। जनमत र नाउपाको विषयमा भने उनले कुनै पनि प्रतिक्रिया दिन चाहेनन्।

उपनिर्वाचनमा तितरबितर भएको सत्ता गठबन्धन उपनिर्वाचनपछि कुन दिशामा मोडिन्छ, त्यसैले सरकारको पनि आगामी दिन निर्धारण गर्ने देखिन्छ। अहिलेकै अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गठबन्धनलाई वैशाखसम्म दिएको भाका पूरा हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्