निर्णयको कसीमा माओवादी : अधिकांश सच्याउँछ, बढी पछुताउँछ



काठमाडौं । प्रदेश– १ को नामकरण ‘कोशी’ राख्न समर्थन गर्नु गल्ती भएको भन्दै नेकपा (माओवादी केन्द्र)ले क्षमा याचना गरेको छ। माओवादी केन्द्रको बुधबार बसेको पदाधिकारी बैठकले प्रदेश नामकरण गर्दा प्रदेश समितिले गल्ती गरेको स्वीकार गर्दै गम्भीर आत्मसमीक्षा गर्दै सुधार गर्ने प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

१० वर्ष लामो सशस्त्र विद्रोह गरेर शान्ति प्रक्रियामा आएको माओवादी केन्द्रले मूलधारको राजनीति गरेको १७ वर्षभन्दा बढी भएको छ। यस अवधिमा माओवादीले गरेका यस्ता धेरै गल्ती छन्। प्रदेश नामकरणको विषय पछिल्लो उदारण हुन्।

माओवादीको हकमा यस्ता दर्जनभन्दा बढी घटना छन्, जसमा माओवादीले निर्णय गर्ने र पछि सच्याउने वा पछुताउने गरेको छ। जातीय पहिचानको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन नेतृत्व गरेको माओवादी केन्द्र सत्ता संचालनमा सहभागी भएको झण्डै २ दशक पुग्दा भने आफैँ आफ्नो आन्दोलनको विपक्षमा खडा हुने अवस्थामा पुगेको छ।

माओवादी आन्दोलन उत्कर्षमा पुग्नु वा सफल हुनु जातीय पहिचानसहितको राज्य प्रणालीको परिकल्पना मुख्य हो। माओवादीका यही परिकल्पना साकार हुने सपना देखेर नै आदिवासी जनजातिहरू विशेषगरी माओवादी आन्दोलनमा जोडिएका नकार्न सकिँदैन।

जनता माओवादी आन्दोलनमा जोडिनुको कारण जातीय छुवाछूतको अन्त्य, महिला अधिकार र वर्गीय मुक्ति पनि हो। यही सेरोफेरोमा माओवादीले १० वर्ष सशस्त्र विद्रोह गर्‍यो। यसबीचमा १७ हजार जनाभन्दा बढी नागरिकले ज्यानसमेत गुमाए।

कोसी प्रदेश नामकरण भए पनि उक्त प्रदेश अशान्त छ। आन्दोलनका क्रममा १ जनाको ज्यान गएको छ। केही दर्जन व्यक्तिहरू घाइते भएका छन् । माओवादीले यस विषयमा भएको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ। यो प्रदेशको विषयमा भएको आन्दोलनलाई वार्ता र सहमतिमार्फत टुंग्याउनुपर्ने माओवादीका महासचिव देवप्रसाद गुरुङले बताए।

माओवादी शान्ति प्रक्रियामा आएपछि सबैभन्दा ठुलो दलको हैसियतमा संविधानसभामा प्रवेश गर्‍यो। तत्कालीन ७ दल र माओवादीले संयुक्त रूपमा गरेको १९ दिने आन्दोलनपछि बनेको अन्तरिम सरकारले पहिलो संविधानसभाको निर्वाचन गराएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय नेपाली कांग्रेसका तत्कालीन सभापति जिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएकामा पछुतो गर्छन् । उनले यो विषय धेरै पटक सार्वजनिक कार्यक्रममा बोलेका छन् ।

माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले अन्तरिम सरकार बन्दै गर्दा तत्कालीन प्रधानमन्त्री कोइरालालाई राष्ट्रपति बनाउने वचन दिएका थिए। तर, अन्तिममा माओवादी आफैँले राष्ट्रपतिमा उम्मेदवार उठाएपछि माओवादीबाहेक सबै दल मिलेर कांग्रेसका उम्मेदवार डा. रामवरण यादवलाई राष्ट्रपति निर्वाचित गराएका थिए।

माओवादीले पछुतो मान्ने वा गल्ती भएको ठान्ने अर्को घटना हो– रुक्माङ्गत कटुवाल प्रकरण। तत्कालीन प्रधानसेनापति कटुवाललाई प्रधानमन्त्री प्रचण्डले बर्खास्त गरेका थिए। तर, उक्त निर्णय राष्ट्रपतिले उल्टाइदिएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

तत्कालीन रक्षामन्त्री रामबहादुर थापा ‘बादल’लाई कटुवालले बाल नदिएपछि सुरु भएको यो लडाइँ माओवादी सेना र नेपाली सेनालाई समायोजन गरेर राष्ट्रिय सेना बनाउने भनिएको थियो । प्रचण्डले यस विषयमा प्रधानमन्त्रीबाट राजीनामा दिनु गलत भएको पटकपटक स्वीकार गर्छन।

माओवादीले पछुतो मान्ने अर्को विषय हो– बिप्पा सम्झौता। तत्कालीन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराईले गरेको बिप्पा सम्झौताका कारण अर्का उपाध्यक्ष मोहन वैद्य ‘किरण’को नेतृत्वमा पार्टी विभाजन भएको थियो। बिप्पा सम्झौता गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा भारतीय सेनालाई दिएको भन्दै विरोध गरेका थिए।

त्यसलाई विरोध गर्नु गल्ती भएको त्यसबेला फुटको नेतृत्व गर्नेले स्वीकार गरेका छन् भने मूल नेतृत्वले उनीहरूलाई बुझाउन पहल नगर्नु गल्ती भएको स्वीकार गर्छन्। दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीले सोचेको भन्दा ठिक विपरीत नतिजा आएपछि आत्मविश्वास गुमाएका माओवादी अहिलेसम्म एक्लै निर्वाचन लड्न सक्ने अवस्थामा छैन।

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेससँग तलमेल गरेको माओवादीले संघ र प्रदेशको निर्वाचन लड्ने बेला एमालेसँग तालमेल गरेको थियो, जबकि कांग्रेससँग मिलेर माओवादीले सरकार चलाइरहेको थियो। तत्कालीन समयमा कांग्रेससँग सहमति गरेअनुसार प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बुझाए। संघ र प्रदेशको निर्वाचन एमालेसँग मिलेर लडेका प्रचण्ड यस विषयमा समेत कमजोरी भएको बताउँछन्।

त्यसपछि एमालेसँग पार्टी एकता गरेको माओवादीले एमालेको आधा नेतृत्व गर्दै तत्कालीन केपी शर्मा ओलीविरुद्ध सडक आन्दोलन गर्‍यो। प्रधानमन्त्री ओली संसद् विघटन भएको आरोप लगाउँदै माओवादी खेमासँग मिलेर माधव नेपाल र झलनाथ खानालको गुटले समेत आन्दोलन गरेको थियो। अहिले नेपाल–खनालले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) बनाएका छन्।

लगत्तै २०७९ सालको निर्वाचनमा कांग्रेसलगायत दलसँग निर्वाचन तालमेल गरेको माओवादीले ओलीलाई विश्वास गर्नु घात भएको बताउँदै आएको छ। तर, ओलीलाई गाली गर्दै कांग्रेससँग तालमेल गरेको माओवादीले प्रधानमन्त्री बन्न पुनः एमालेसँग तालमेल गर्न पुग्यो। सरकार गठन गर्न आफ्नो पक्षमा माहोल बनाउन प्रचण्ड धेरै चतुर रहेको कुरा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समेत पटकपटक भन्दै आएका छन्।

उनलाई संविधान जारी गर्ने समयमा प्रचण्डले कन्भिन्स गरेर हस्ताक्षर गर्न लगाएको स्वीकार गर्छन। तर, त्यहीँदेखि भने उनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले राम्रो मान्दैनन् । गत महाधिवेशनमा उनलाई अध्यक्षबाट हराउन मुख्य भूमिका नै निर्वाह गरे। सरकार गठन गर्न पुनः एमालेलगायतका दलसँग गठबन्धन गरेको माओवादीले १ महिना बित्नासाथ कांग्रेससँग गठबन्धन सुरु गरे।

एमालेलगायत दलको समर्थनमा प्रधानमन्त्री बन्दा उनलाई झण्डै सत प्रतिशत विश्वासको मत आएको थियो। तेस्रो पटक प्रधानमन्त्री बन्दा प्रचण्ड परिपक्व भएको विश्लेषकहरूको दाबी छ। यद्यपि, पार्टी संचालन र परिचालनको विषयमा भने माओवादी अझै पनि पुरानै प्रवृत्तिलाई दोहोर्‍याइरहन्छ।

एमसीसी, एसपीपीलगायत अन्तर्राष्ट्रिय सन्धि, सम्झौतामा शालीन देखिएको माओवादी आफैँले आन्दोलनको नेतृत्व गरेर स्थापित गरेको मुद्दामा शालीन बन्दा फसेको छ। उक्त विषयलाई पनि माओवादीले एउटा विज्ञप्ति निकालेर गल्ती भएको स्वीकार गर्दै माफी मागेको छ।

प्रतिक्रिया दिनुहोस्