वैदेशिक व्यापारमा सुधार हुनु जरुरी



  • श्यामप्रसाद मैनाली

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारको अवस्था अत्यन्त दयनीय बन्दै छ। यो नकारात्मक अवस्था प्रतिवर्ष तीव्र गतिमा बढिरहेको छ। विकास निर्माणका लागि आवश्यक वस्तुहरू र उपभोग्य सामग्रीहरूको माग बढ्दै गएको छ। आन्तरिक उत्पादन न्यून छ। यसमा खासै प्रगति हुने स्थिति छैन।

उत्पादनहरूको निर्यात बढ्ने सम्भावना देखिँदैन। यसैले देशको आर्थिक अवस्थामा सुधार ल्याउन आयात र निर्यातका लागि विशेष योजना र रणनीतिहरू बनाई कुशल व्यवस्थापनमा जोड दिनुपर्ने अवस्था छ। व्यवस्थापनको उद्देश्य आयातलाई नियन्त्रण गर्ने होइन, आयात र निर्यात दुवै वृद्धि गरी यी २ का बीच सन्तुलन कायम गर्नु हो । हालसम्म देखिएको ब्यापार घाटालाई न्यून विन्दुमा कायम गर्नुपर्छ।

अन्तर्राष्ट्रिय ब्यापारबाट देशले आफ्नो आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ। आयातको मात्राभन्दा निर्यातमा वृद्धि गर्न सक्नेगरी व्यवस्थापन गर्नुपर्ने अवस्था छ।राष्ट्रका विकासका नीतिहरू र उद्देश्यअनुरूप वैदेशिक व्यापारमा सुधार हुनु जरुरी छ।

अन्तर्राष्ट्रिय ब्यापारका लागि पर्याप्त हुनेगरी वैदेशिक मुद्राको संचितिमा उल्लेखनीय वृद्धि गर्दै मजबुत अवस्था बनाउनेगरी कार्यक्रमहरू तय गरिनुपर्छ। अत्यावश्यक दैनिक आवश्यकताका वस्तु र सेवाहरूको आन्तरिक उत्पादनबाट र आयातबाट निर्बाध रूपमा नागरिकहरूलाई उपलब्ध गराउने व्यवस्था हुनुपर्छ। आयात नीतिको उद्देश्य कुल गार्हस्थ्य उत्पादनलाई वृद्धि गर्ने, आर्थिक क्षमताको प्रवद्र्धन गर्ने र निर्यात प्रवद्र्धन गर्नेगरी योजना र व्यवस्थापन गर्नु हो।

यसका लागि यसअघि भएका काम कारबाहीहरूको समीक्षा हुनु जरुरी छ। सबैभन्दा पहिले आन्तरिक उत्पादन वृद्धि गर्ने रणनीति तय हुनु जरुरी हुन्छ। स्थानीय कच्चा पदार्थका आधारमा संचालनमा आउने र आयात प्रतिस्थापन गर्ने प्रकारका उद्योगहरूलाई प्रोत्साहन प्रदान गर्नुपर्छ।

उदाहरणका लागि, सिमेन्ट उद्योगलाई प्राथमिकतामा राख्दा यसले आयात कम गर्न सक्छ। देशको माग पूरा गरी निकासी गर्नसमेत सम्भव भई आर्थिक वृद्धिमा सहयोग पुर्‍याउनेछ। निर्यात प्रवद्र्धन गर्ने प्रकारका उद्योगहरूलाई सरकारी नीतिले सुविधा प्रदान गर्ने र सहजीकरण गर्नुपर्छ। अन्तर्राष्ट्रिय बजारको अध्ययन गरी प्रतिस्पर्धामा आन्तरिक उत्पादनहरूले सहजै बजार पाउनेगरी उत्पादन बढाउँदै लैजान प्रयास हुनु जरुरी छ।

उपयुक्त प्रकारको बृहत् आर्थिक नीतिको तर्जुमा गर्दै प्रभावकारी रूपमा कार्यान्वयनमा जाँदा मात्र यस्ता उद्योगहरूले अपेक्षित उपलब्धि दिन सक्छन् । यस्ता नीतिहरूमा उपयुक्त आकारमा मुद्राको विनिमय गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ । मूल्य स्थिरता कायम हुनुपर्छ । उद्योगहरूलाई प्रोत्साहन प्रदान गर्ने प्रकारले मौद्रिक नीति निर्धारण हुनुपर्छ । कर्जा प्रदान प्रक्रियालाई सहजीकरण गर्नुपर्छ ।

यसै आर्थिक वर्षको ४ महिनाको अवधिमा देशको ब्यापार घाटा ५६८ अर्ब रुपैयाँ पुगिसकेको छ। भन्सार विभागवाट प्राप्त जानकरीअनुसार आन्तरिक उत्पादन भएका समानहरू र सेवाहरूको पनि ठूलो मात्रामा आयात हुनुको कारण ब्यापार घाटा बढ्दै गएको छ। गत आर्थिक वर्षको अवधिमा भएको ब्यापार घाटालाई विश्लेषण गर्दा यस आर्थिक वर्षमा यो ६१ द्यशमलव ५७ प्रतिशतले बढेको छ।

प्रथम चौमासिक अवधिमा सामानको निर्यात गत आर्थिक वर्षमा ४० दशमलव २० अर्ब रुपैयाँ भएकामा यस वर्ष ८२ दशमलव १२ अर्ब रुपैयाँ भई १०४ प्रतिशतले वृद्धि भएको छ। तर, निर्यातको मात्रा न्यून भई यसको ब्यापार घाटामा परेको प्रभावको अनूभूति गर्न सकिएको छैन। निर्यात वृद्धि हुनुमा कच्चा पाम आयल र भटमासको तेलको निर्यातमा सुधार आएकाले हो।

ब्यापार घाटा र विदेशी मुद्राको संचितिको अवस्थालाई सन्तुलनमा ल्याउन आयातलाई कम गर्नुपर्ने स्थिति छ। विकास निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरू र दैनिक उपभोग्य सामग्रीहरूको निर्भरता प्रायः आयातमा मात्र छ । त्यसैले देशमा यो अवस्था देखिएको हो। उत्पादन, आधारशिलाहरू र बजार व्यवस्थाले आपूर्तिलाई निश्चित विन्दुमा राख्न सक्नुपर्छ । नेपालका वस्तु तथा सेवाहरू निर्यात गर्ने वातावरण तयार हुन निर्णायक भूमिका प्रदान गर्नुपर्छ।

सरकारले उत्पादनलाई उल्लेखनीय हिसाबले वृद्धि गर्ने कार्यक्रम तयार पारी कार्यान्वयनमा जानुपर्ने अवस्था छ। देश आर्थिक समृद्धिको दिशामा अघि बढिरहेको दाबी सरकारले गरिरहँदा वैदेशिक मुद्रा आर्जन गर्नेगरी निर्यातको मात्रा वृद्धि गर्न सकिरहेको छैन। देशको निर्यातको अवस्था अत्यन्त सुस्त छ। सरकार र यसका अन्य सम्बन्धित निकायहरूले उपयुक्त लक्ष निर्धारण गर्न सकेका छैनन्। निर्यातका लक्ष्यहरू प्राप्त गर्न सरकारका तर्फबाट अनुकूल वातावरणसम्म पनि तयार पार्न सकेको छैन । यसमा विकास गर्नका लागि नयाँ र उपयुक्त नीति बन्न सकेका छैनन्।

सरकारले के कस्ता उपायहरूको अवलम्बन गरेर निर्यातको मात्रामा वृद्धि गर्न सक्छ ? यसबारे पर्याप्त गृहकार्यसमेत भएको देखिँदैन। निर्यात र ब्यापार प्रवद्र्धन केन्द्र पनि प्रभावकारी रूपमा अघि बढ्न सकेको अवस्था रहेन। यसले पर्याप्त जनशक्ति र स्रोत, साधन प्राप्त गर्न सकेको छैन। आयातको व्यवस्थापन गर्ने सम्बन्धमा सरकारको भूमिका प्रभावकारी हुन सकेको छैन।

कोभिड– १९ को संक्रमणबाट विश्व अर्थ व्यवस्थामा पर्न गएको नकारात्मक प्रभावका कारण वैदेशिक व्यापारको प्रवद्र्धन हुन सकेको छैन। प्रतिस्पर्धाको अवस्थामा आएको तीव्रतामा नेपालले आफ्ना वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याई खपत गराउने सामथ्र्यको अभाव छ। आधारशिलाहरूको अपर्याप्तता र कर्मचारीतन्त्रको जटिलताका कारण यो अवस्था सिर्जना भएको अभिव्यक्ति दिएर सरकारले उन्मुक्ति लिन खोजेको प्रतीत हुन्छ । तर, राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको सन्दर्भलाई यसरी सहजै गौण आँकलन गरिनुहुँदैन ।

अदृश्य आम्दानीमा संकुचन हुँदै आएको छ । सहुलियतपूर्ण ऋण सुविधालाई प्राथमिकतामा राखिएको छैन । थोक बिक्रीका लागि आयातीत सामानहरूको मात्रा बढ्दै जानुको कारणसमेतले यो स्थिति बनेको हो । अत्यावश्यक वस्तुबाहेकका उपभोग्य सामानहरूका कारण पनि आयातका लागि दबाब परेको अवस्था छ ।
अन्तराष्ट्रिय ब्यपारबाट विदेशी ऋणको मात्रा घटाउन सक्नुपर्छ । अल्प अवधिका लागि प्राप्त हुने ऋण र असहज शर्तसहितका ऋण रकमहरू स्वीकार गर्ने प्रवृत्तिमा सुधार हुनुपर्छ । सम्बन्धित अधिकारीलाई पर्याप्त स्वविवेक प्रयोग गर्न दिने व्यवस्था गर्नुपर्छ । वैदेशिक सहयोगको राशीलाई प्रभावकारी प्रकारले उपयोग गर्नु जरुरी हुन्छ ।

उदारीकरणको उपयोग गर्दा प्रविधिको विकासका लागि र कार्यसम्पादनमा दक्षता हासिल गर्ने प्रकारले सुधार उन्मुख हुनुपर्छ । आन्तरिक उत्पादनका लागि हुने खर्चमा मीतव्ययिता कायम गरी अन्तर्राष्ट्रिय र आन्तरिक बजारमा समेत सहज खपत हुन सक्ने परिस्थिति निर्माण गर्नु जरुरी हुन्छ । यसका लागि गृहकार्य गरी स्वावलम्बनको दिशामा अभिमुख हुनुपर्छ ।

नेपालले बहुपक्षीय र क्षेत्रीय ब्यापार व्यवस्थापनमा क्रियाशिलता दिइरहेको छ । भूटान, बंगलादेश, भारत र नेपाल ४ वटा राष्ट्रहरूले आपसी ब्यापार प्रवद्र्धन गर्नका लागि सहयोग आदानप्रदान गर्ने काम भइरहेको छ । यी राष्ट्रहरू नेपालबाट आयात भएका सामान तथा सेवाहरूलाई आ–आफ्ना बजारमा सहजीकरण गर्न तत्पर छन् ।

निर्यात प्रवद्र्धनका लागि सहयोग पुग्नेगरी उद्योगहरूका लागि ठुलाठुला आधारशिलाहरूको निर्माण नेपालले गर्नुपर्ने र यसका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । नेपालको सदर्भमा जबसम्म कृषिजन्य उद्योगहरूको विस्तार र विकास हुँदैन, नेपालले उल्लेख्य रूपमा निर्यातको मात्रामा वृद्धि गर्ने अवसर प्राप्त गर्न सक्दैन । कृषि क्षेत्रमै आधारित ब्यापार व्यवसायलाई सर्वोपरि प्रथामिकता प्रदान गर्नुपर्ने हुन्छ । त्यसैले कृषि क्षेत्रको आधुनिकीकरण गरी कृषि उत्पादन वृद्धि गर्ने सम्बन्धमा हरसम्भव उपायहरूको अवलम्बन गर्ने, कृषि उत्पादनको प्रवद्र्धन गर्ने कार्यलाई उच्चप्राथमिकता प्रदान गर्नेलगायतका दिशामा युद्धस्तरमा लागि पर्नु आजको आवश्यकता हो ।

वैदेशिक व्यापारको वृद्धि गर्न आर्थिक कूटनीतिलाई सर्वाधिक प्राथमिकतामा राख्नुपर्छ । क्षेत्रगत मन्त्रालयहरूलाई यसमा क्रियाशील बनाउनुपर्छ, वैदेशिक नियोगहरूले सहजीकरण गर्दै पहलकदमी लिनु अत्यावश्यक छ । क्षेत्रगत मन्त्रालयहरू र परराष्ट्र मन्त्रालयका बीचको प्रभावकारी समन्वयबाट मात्र यसको विकास सम्भव हुन्छ।

हालसम्म आर्थिक कूटनीति जस्तो महत्वपूर्ण पक्षलाई देशले प्राथमिकतामा राखेको छैन। परिणाम स्वरूप वैदेशिक व्यापारको क्षेत्रबाट देशले उल्लेखनीय फाइदा प्राप्त गर्न सकेको छैन । नीति निर्माताहरू र निर्णय तहमा रहनेहरूको ध्यान यतातिर शीघ्र जानु अत्यावश्यक छ। यसका लागि देशले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन मार्गचित्र तयार पारी प्रभावकारी कार्यान्वयनमा जुट्दा वैदेशिक ब्यापारवाट अपेक्षित फाइदा लिन सकिन्छ।

वर्तमान समयमा सेवा क्षेत्रको ब्यापारसमेतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थिति देखिएको छ । पर्यटन व्यवसायको भविष्य नेपालमा अत्यन्त बढी देखिएको छ । विश्वमै जनसंख्या र आर्थिक क्षेत्रमा अग्रणी स्थानमा सुरक्षित रहन प्रायः सफल भएका चीन र छिमेकी देश भारतबाट नेपालमा आउने पर्यटकहरूको सम्भावना अत्यधिक छ।

समुद्र सतहदेखि विश्वको सर्वोच्च शिखर हामीसँगै छ। हिन्दु धर्मावलम्बीहरूका लागि आराध्य देव भगवान् पशुपतिनाथ नेपालमै रहेकाले यस देशको धार्मिक महŒव बढेको छ। सीता माताको माइती जनकपुर नेपालमा रहनुको कारण हिन्दुस्तानको अयोध्यासँग धार्मिक सम्बन्ध स्थापित छ। विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि आकर्षक धार्मिक स्थल भगवान् बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै रहनु हामी नेपालीहरूको अहोभाग्य हो।

एक पटक बुद्ध धर्मावलम्बीहरू लुम्बिनी आउन चाहन्छन्। त्यस क्षेत्रमा विभिन्न देशहरूले लागानीसमेत गरिरहेका छन्। प्राकृतिक मनोरम दृश्यले धनी देशका रूपमा नेपालले विश्वभर आफ्नो पहिचान बनाएको छ। विश्वभरका धार्मिकलगायतका पर्यटकहरूका लागि आकर्षक र जीवनमा एक पटक यात्रा गर्नुपर्ने गन्तव्यका रूपमा विकास गर्न सकिने प्रबल सम्भावना नेपालसँग छ।

नेपालले पर्यटकहरूलाई नेपालको बसाइ आरामदायी र मनोरन्जनपूर्ण बनाउन अर्थपूर्ण प्रयास गर्नु जरुरी हुन्छ। यस उद्योगलाई प्रवद्र्धन गर्न सक्दा वैदेशिक मुद्रा संचितिमा सुधार आउने निश्चित छ। संक्रमणपश्चात् यो सेवा प्रदान गर्ने सम्भावनामा वृद्धि भइरहेको छ। यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सरकारको हुनु जरुरी छ।

राष्ट्रले पर्यटन व्यवसायका लागि सबै प्रकारले सहजीकरण गर्नुपर्छ। उपभोक्ताहरू र वातावरणीय संरक्षणमा विशेष पहलकदमी गर्नुपर्छ। यसका लागि बृहत् विकासका रणनीतिहरू कार्यान्वयनमा लैजानुपर्ने र आवश्यक आधारशिलाहरूको निर्माणमा सरकार गम्भीरतापूर्वक लाग्नु अत्यावश्यक छ।

प्रतिक्रिया दिनुहोस्