संस्कतिले भरिपूर्ण काठमाडौं उपत्यका



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । चैत्र शुक्ल प्रतिपदा भनौँ यही ८ चैतदेखि पिँगल नामको सम्वत्सर सुरु भई वत्सरारम्भ भइसकेको छ। यद्यपि, हामी विक्रम संवत्को नयाँ वर्ष १ वैशाखदेखि आरम्भ भएको मान्छौँ। नयाँ वर्षको सुरु भने हाम्रो बहुल संस्कृतिअनुसार फरकफरक ढंगले लिने गरेका छौँ।

विक्रम संवत्को नववर्ष प्रवेश सँगसँगै काठमाडौं उपत्यकामा प्रमुख ३ चाडहरू प्रसिद्ध छन् । भक्तपुरको बिस्केट, ठिमी जात्रा र काठमाडौंको सपनतीर्थ मेला। बिस्केट जात्रा भने यही २७ चैतदेखि सुरु हुने, वर्षारम्भको १ साता अघिदेखि नै भैरवको रथ तानेर सुरु गरिने, चैत्र मसान्तमा इन्द्र ध्वजासहितको लिंगो उठाउने र १ वैशाखमा लिंगो जात्रा गरी बेलुकी यसलाई ढालेर भव्यताका साथ जात्रा मनाइने परम्परा छ।

वैदिक र तान्त्रिक दुवै मंलसूचक वीरताका प्रतीक वृषकेतु, विश्वध्वजा नामले परिचित हरिया एवं लामा ध्वजा फहराई भक्तपुरका विभिन्न क्षेत्रलगायत ठिमी, बोडे र काठमाडौंंको भद्रकाली, हाँडीगाउँ, टोखा एवं अन्य क्षेत्रका नेवार जातिहरूका लागि विशेष प्रसिद्धि पाएको बिस्केट जात्राको रमाइलो हरेक वर्ष चैत्र मसान्तदेखि १ वैशाखसम्म बढी नै रहन्छ।

काठमाडौं उपत्यका पहिलेदेखि नै जात्रा–पर्वका लागि प्रसिद्ध स्थान हो। यसको आफ्नै मौलिक इतिहास र विशेषता छ। भक्तपुर क्षेत्रमा बिस्केट जात्रा, काठमाडौंंको इन्द्रजात्रा र ललितपुरको मत्यस्येन्द्रनाथ जात्राझैँ लिंगो ठड्याउने र ढाल्ने काम गरिन्छ। विशेष तन्त्र विद्यामा आधारित बिस्केट जात्राले पुरानो वर्षको अन्त्य र नयाँ उत्साहित एवं ऊर्जाशील जीवनको संकेत दिन्छ।

विक्रम संवत् नयाँ प्रवेशसँगै लिंगो उठाउने परम्परा कहिलेदेखि आरम्भ भएको यकिन गर्न नसकिए पनि वि. सं. ६६१ ताका शिवदेव एवं मानदेवको समयदेखि आरम्भ भएको अनुमान छ । त्यतिबेला यससम्बन्धी गुठीको व्यवस्था भएको चर्चा इतिहासमा भेटिन्छ। झण्डै ५५ हात अग्लो लिंगो सालको काठको हुने गर्छ। चैत्र मसान्तमा उठाइन्छ र १ वैशाखमा ढालेर उत्साहपूर्वक जात्रा मान्ने चलन सदियौँ पुरानो भइसकेको छ। प्राचीन समयमा विजय उत्सवको रूपमा मान्ने चलन चलेको बिस्केट जात्राका विषयमा विभिन्न किंवदन्तीहरू छन्।

काठमाडौंंको शिवपुरी क्षेत्रमा रहेकी बज्रयोगिनीको आशीर्वादसमेत रहेको भनिने बिस्केट जात्रा भक्तपुरको मौलिक र ऐतिहासिक सांस्कृतिक धरोहर हो। भक्तपुरको सांस्कृतिक पर्व बिस्केट ठिमी जात्रासँग पनि जोडिएको छ। त्यसो त बालकुमारी, महालक्ष्मी, हरिसिद्धिलगायत भक्तपुरकै गणेश, बाराही आदि देवताहरूलाई भिन्नभिन्न खटमा राखेर एकसाथ परिक्रमा गराउने ऐतिहासिक परम्पराले पनि बिस्केट जात्रासँग सरोकार राख्छ।

वर्षको अन्त्य चैत्र मसान्तदेखि आरम्भ भई ३ दिनसम्म चल्ने सो जात्रा २ वैशाखसम्म सञ्चालन हुन्छ । ठिमीको यस जात्राको मूल रमाइलो पक्ष भने २ र ३ गते २ दिन अझ बढी हुने गर्छ । घरघरमा भोज गर्दै सम्पूर्ण देवदेवीहरूलाई मन्दिरबाट बाहिर निकाली पूजाआजा गरिन्छ। १ वैशाखमा मन्दिरबाहिर पूजा, दर्शन, प्रसाद वितरण गरी भोलिपल्ट २ गते बिहानै सम्पूर्ण देवदेवीहरूलाई पंक्तिबद्ध गरी राखिन्छ।

अगाडिपट्टि बालकुमारीको खट र सशैभन्दा पछाडि गणेशको खट राखिन्छ। संख्यामा देवदेवी ३२ हुने र स्थान भ्रमण गराइने हुनाले ३२ लक्षणले युक्त मानव स्वरूप भन्न सकिन्छ । बालकुमारीस्थानबाट सुरु भएको यो जात्राले लावालस्करसहित दूधपोखरी नजिक दरबारमा देवदेवीलाई थन्क्याएपछि विश्राम लिन्छ। यसपछि भक्तपुर ठिमी क्षेत्रमा अझ लामो जात्रा फेरि सुरु हुन्छ, त्यो हो– जिब्रो छेड्ने जात्रा। यो भक्तपुरको बोडेमा हुन्छ। बोेडेमा सुरु हुने जिब्रो छेड्ने जात्राभन्दा ४ दिन पहिले नै जिब्रो छेडाउन चाहनेले सात्विक भावमा रहनुपर्छ।

जिब्रो छेडाउनेले वीरताको संकेत प्रदर्शन गर्छ भने आफूलाई दैवी शक्ति प्राप्त गरी अगाध पुण्य प्राप्त हुने विश्वास राख्छ। सुइरोद्वारा जिब्रो छेडिएपछि खटमा राखी उसलाई ठिमी बजारको परिक्रमा गराइन्छ । पहिले धेरै समयअघि असुरहरूले ठिमीवासीलाई दुःख दिँदा तान्त्रिक बालकुमारीले सपनामा दर्शन दिँदै मानिसलाई जिब्रो छेड्ने पराक्रम प्रदर्शन गरेमा दैत्य, असुरहरूले दुःख नदिने र आफ्नो पुरुषार्थको पहिचान पनि हुने भनेकाले यस्तो परम्परा सुरु भएको हो।

सुरुमा यस्तो पर्व २ वैशाखमा परेकाले त्यो परम्परा अझै कायम छ। ठिमीमा जात्रा सकेर महालक्ष्मी मन्दिरमा गई जिब्रोको सुइरो झिकेर जात्रालाई पूर्णता दिइन्छ। यसो गर्दा शरीरमा खासै कष्ट नहुने, जिब्रो छेड्ने व्यक्ति बोडेको नेवार समुदायको हुनुपर्ने, नाइकेलाई ४ दाम चढाएपछि जिब्रो छेडाउन पाइने, जिब्रो छेड्न ६ इन्च लामो फलामे सुइरो प्रयोग गरिने र १ महिना अघिदेखि त्यो सुइरोलाई तेलमा डुबाएर राखिने हुँदा जिब्रो छेडिने व्यक्तिलाई साह्रै कष्ट पनि नहुने र घाउ पनि छिटो निको हुने विश्वास छ।

भक्तपुर क्षेत्रको ठिमीको यस परम्पराले देशकै इतिहासलाई संकेत गरेको छ। यसो गर्दा देशभरि दुर्भिक्ष नहुने, महामारी जस्ता घातक रोगहरू नहुने विश्वास छ।प्रसिद्ध र पावन बाग्मती, विष्णुमती, रुद्रमती, इक्षुमती जस्ता काठमाडौं उपत्यकाका नदीहरूको उद्गमस्थल वाग्द्वार हो र शिवपुरी क्षेत्रले काठमाडौंलाई पूरै हराभरा बनाएको छ। विक्रम सम्वत्को आरम्भ, नयाँ वर्षको स्वागत सँगसँगै शिवपुरी क्षेत्रको टोखा र सूर्य मेष राशिमा सरेकोे पावन बिहानीमा यसै क्षेत्रमा रहेको सपनतीर्थ स्नानको आफ्नै महत्व छ।

वैशाख महिनाभरि जीवनका संचालक देवताका रूपमा मानिने श्री विष्णु यसै क्षेत्रमा रहेका बूढानीलकण्ठ नारायणको दर्शन एवं पूजाआजा गर्नेहरू पनि काठमाडौंमा धेरै छन् । शिवपुरीको काखमा रहेको टोखा नजिकैको खहरे खोलाको संगममा स्नान गरी आफ्नो मनोकामना पूरा गर्नेहरू पनि हामीकहाँ धेरै छन्। खासगरी सामान्यदेखि ठुला असाध्य रोगहरू पनि यहाँको स्नानबाट दूर हुन्छन् भन्ने जनविश्वास छ। सपना देखेकाले सपनतीर्थ मेला आरम्भ भएको विषयमा एउटा किंवदन्ती यस्तो छ।

छोराछोरीको बिहे गर्दा अभिभावकले उनीहरूको अभिप्राय बुझ्ने चलन पुर्वीय धर्म, संस्कृति र दर्शनको विशेषता नै हो। युगौँयुगदेखि आफ्नो मौलिक अस्तित्वमा रहेको काठमाडौं क्षेत्रका १ जना राजाका ३ जना छोरीहरू रहेछन् । विवाहयोग्य भएका ती तीनै जना छोरीहरूलाई राजाले एक पटक सोधेछन्, ‘तिमीहरूको बिहे गर्ने बेला भयो, कोसँग बिहे गर्छौ ?’

आफ्ना बाबुको सोधनीले खुसी भएका जेठी र माहिली २ वटी छोरीहरूले आफ्नो बिहेका लागि वरको प्रस्ताव राखेछन्– राजकुमारहरू। कान्छी छोरीलाई पटकपटक सोध्दा पनि जबाफ नआउँदा बाबुले भनिदिएछन्, ‘तेरो पालोचाहिँ रोगीसँग बिहे गर्ने त होला नि !’ अभिभावकको आदर गर्ने ती छोरीले पनि बाबुकै संकल्प स्वरूप १ जना कुष्ठरोगीको सेवा गर्न लागिछन् । असहाय रोगीको लामो समय सेवा गर्दा आफू पनि कुष्ठरोगी भइछन् तर कति पनि विचलित भइनछन् उनी।
राजकुमारीको सेवा पाएको कुष्ठरोगीले १ दिन रातमा सपनामा देखेछ । ‘सूर्य मेष राशिमा भएका बखत वैशाख मासमा टोखाको खहरे खोलामा स्नान गरेमा कुष्ठरोग निको हुन्छ !’

रोगीले यो सपना लामो समयसम्म बिर्सेछ। १ पटक राजकुमारी अन्यत्र भएका बेला त्यो कुष्ठरोगी खहरेखोला नजिक चौरमा बसिरहेको थियो । त्यहाँ एउटा अचम्मको दृश्य देखियो। गोठालाहरू खेल्दै थिए। उनीहरू फट्यांग्राहरू समात्दै खोलामा फाल्दै गर्थे । फट्यांग्राका खुट्टाहरू भने पोखरीमा पुगेपछि जस्ताको त्यस्तै हुन्थे । खुब राम रमितामा रहेका गोठालाहरू भने यस्तो देखेर हाँसो गर्थे।

उता, त्यही दृश्य देखिरहेको कुष्ठरोगी भने आफ्ना हात–खुट्टा पनि यस्तै गरी जोडिए हुन्थ्यो भन्ने सोच्थ्यो । उसले रातमा देखेको सपना झल्याँस्स सम्झ्यो– ‘ओहो ! मैले यहाँ नुहाएमा कुष्ठरोग निको हुन्छ भन्ने सपना देखेको थिएँ।’ नभन्दै घस्रेर ऊ त्यो खोलामा गयो, नुहायो पनि। एकैछिनमा उसका सम्पूर्ण शरीर, अंगहरू पूर्ण र स्वस्थ्य देखिन थाले । त्यस दिन मेष संक्रान्ति परेको रहेछ अर्थात् १ वैशाख । राजकुमारी पनि घुम्दै त्यहीँ पुगिछन्। आफ्नो कुष्ठ रोगी पति त्यहाँ देखिनन् बरु बडो सुन्दर युवक पो त्यहाँ बसेको रहेछ ।

त्यस युवकले राजकुमारीलाई भनेछ, ‘म तिम्रै पति हुँ ।’ राजकुमारीलाई विश्वास लागेनछ। वरपर वसेका मानिसलाई सोधिछन् उनले । सबैले भनेछन् अघिको वृत्तान्त।
साँच्चै कुरो सही रहेछ। राजकुमारी पनि त्यही खोलामा स्नान गर्न पुगिछन्। आफूसँग भएका कुरूप अंगहरू पनि पूर्ण र स्वस्थ्य भइहालेछन्। राजकुमारी र त्यस युवकको खुसीको सीमा नै भएनछ । त्यो चामत्कारिक दृश्यको वर्णन सबैतिर हुन थालेछ। काठमाडौंका राजासम्म यो कुरा पुगेछ र एउटा खोरण्डो व्यक्तिलाई त्यहाँ लगेर स्नान गर्न लगाइएछ।

नभन्दै खोरण्डो तुरुन्तै पूरै आफैँ हिँड्न सक्ने भएछ। अब त देशभरिका दुर्बल लंगडा, खोरण्डा, काना, अपांगहरूको भिड नै लाग्न थालेछ त्यहाँ । आजसम्म पनि वैशाख महिना खासगरी संक्रान्तिका दिन त्यहाँ स्नान गर्नेहरूको भिड नै देखिन्छ। शरीर स्वस्थ्य र हृष्टपुष्ट हुन चाहनेहरू त्यस क्षेत्रमा एक पटकै भए पनि पुग्ने गरेको पाइन्छ । सपनाबाट घटेका विवरणहरू भएकाले सपनतीर्थ भन्ने नाम रहन गएको र सपनतीर्थ मेलामा श्रद्धालुहरू उत्साहजनक अवस्थामा त्यहाँ उपस्थित हुने गरेको देखिन्छ ।

हिजोआज त्यहाँ पोखरी, भौतिक अवस्था, आतेजाते सुविधा रामै्र छ। प्राकृतिक, सुन्दर, हावापानीका कारण दिल बहलाउन जानेहरू पनि थुप्रै पाइन्छन्। टोखाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दा स्वर्गीय आनन्द प्राप्ति हुन्छ। प्रकृतिमा रमाउने लेखक, कवि, स्रष्टाहरूको सिर्जनाको स्रोत हो शिवपुरी क्षेत्र। नयाँ पुस्ताको थप उत्साहको क्षेत्र हो टोखा क्षेत्र । उमेर ढल्केकाहरूको आनन्द प्राप्तिको सुगम क्षेत्र हो शिवपुरी क्षेत्र।

प्रतिक्रिया दिनुहोस्