जित दोहोर्‍याउने दाउमा लामिछाने, साख फिर्ता ल्याउने कोसिसमा एमाले-कांग्रेस



काठमाडौं । राजनीतिक वृत्तमा अहिले उपनिर्वाचनको सरगर्मी छ। तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुँदै छ र सबै दलहरू अहिले आफ्नो सम्पूर्ण शक्ति यिनै क्षेत्रहरूमा लगाइरहेका छन्। यस पटकको उपनिर्वाचन सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको त्रिपक्षीय हुने पक्का छ।

तनहुँ र चितवनमा नेपाली कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुँदै छ भने बारामा जनता समाजवादी पार्टी, एमाले, रास्वपा र जनमत पार्टीबीच चुनावी लडाइँ हुने देखिन्छ । तनहुँ र चितवनमा कांग्रेस तथा बारामा जसपाका उम्मदेवारलाई सत्ता गठबन्धनको साथ छ। ३ वटा निर्वाचन क्षेत्रमध्ये चितवन–२ यतिबेला बढी चर्चामा छ।

मंसिरमा भएको निर्वाचनमा यहाँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट पदविहीन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। चितवन– २ को उपचुनावका लागि १२ स्वतन्त्रसहित २४ जनाले उम्मेदवारी दिएका छन्।

चितवनको उपनिर्वाचन यस अर्थमा पनि चर्चाको विषय बनेको छ कि नेपालको चुनावी इतिहासमा पहिलो पटक जसका कारण उपनिर्वाचन हुँदै छ, त्यो उपनिर्वाचनमा त्यही व्यक्ति उम्मेदवारको रूपमा उभिएको छ। रास्वपाका रवि लामिछानेसँगै यहाँ कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारीलगायत चुनावी मैदानमा छन् ।

यहाँ नौलो के पनि छ भने, लामिछानेका प्रतिष्पर्धीद्वय कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने पहिलो पटक संघीय निर्वाचन क्षेत्रमा निर्वाचन लड्दै छन् । श्रेष्ठ कांग्रेसका पूर्व जिल्ला सभापति हुन् भने न्यौपाने एमालेका जिल्ला अध्यक्ष छन्। यस क्षेत्रमा २०७० र २०७४ सालमा एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। तर, गत निर्वाचनमा भने पोखरेल तेस्रो भए । रास्वपाका लामिछानेले ४९ हजारभन्दा बढी मतका साथ विजयी बन्दा पोखरेल १४ हजार ६४७ मतमा समेटिएका थिए । त्यस्तै, कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए ।

अहिले पनि पहिलेकै परिणाम दोहो¥याउने दाउमा लामिछाने छन् भने चितवन– २ मा आफ्नो पार्टीको साख फर्काउने कोसिसमा एमाले र कांग्रेस छन्। तेब्बरभन्दा बढी मतान्तरले विजयी भएका लामिछाने चितवन कांग्रेसका विद्रोही नेताका रूपमा चिनिएका जगन्नाथ पौडेलको समर्थन पाएसँगै थप हौसिएका छन्।

उता, कांग्रेसका अर्का विद्रोही नेता दिनेश कोइरालासहित ४ जनाले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। यसले गर्दा पार्टीको विभाजित मतलाई एकत्रित गर्न कांग्रेसलाई केही सहज हुने अनुमान गरिन्छ। एमालेको गढ मानिएको यस क्षेत्रमा एमालेका लागि भने आफ्नो साख फिर्ता ल्याउन चुनौती देखिन्छ । तर, तल्लो तहबाट राजनीति सुरु गरेर जिल्ला अध्यक्षसम्म बन्न सफल एमाले उम्मदेवार न्यौपानेप्रति चितवन– २ का जनता सकारात्मक देखिन्छन्।

भरतपुर महानगरपालिका– १० का शंकल्प घिमिरे चितवनमा यस पटक सबै उम्मेदवार प्रबल दाबेदार भएका र यसै भनिहाल्ने अवस्था नरहेको बताउँछन् । उनका अनुसार चितवन– २ मा लामिछानेसँगै एमाले उम्मेदवार न्यौपानेको पनि चर्चा । ‘गाउँघरको माहोल अझै पनि रास्वपाप्रति नै ढल्किएको देखिन्छ तर भोट नै हाल्ने अवस्थामा भने एक पटक विचार गर्नुपर्ने अवस्थामा यहाँका स्थानीय छन्’, घिमिरे भन्छन्, ‘सायद यस पटक पार्टीका कार्यकर्ताहरूले आफ्नै पार्टीका उम्मेदवारलाई भोट हाल्न सक्छन्।’

उनका अनुसार लामिछानेको नागरिकता प्रकरण र भर्खरै बाहिर आएको २ करोड रुपैयाँको प्रकरणले पनि रास्वपालाई धक्का पुग्ने आँकलन गरिएको छ। उता, एमालेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट र पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा चितवनमै छन्। कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चितवनको चुनावी कमान्डरको रूपमा तैनाथ गरेको छ भने बाग्मती प्रदेश सभापति इन्द्र बानियाँ, सहमहामन्त्री डीना उपाध्याय र उमेश श्रेष्ठ जस्ता नेताहरू पनि उपनिर्वाचनका लागि चितवनमै परिचालित छन् ।

चितवनमा रास्वपाभन्दा कांग्रेस र एमालेका लागि यस पटक अवस्था केही सजिलो पनि छ। गत निर्वाचनमा पार्टीको शक्ति निर्वाचन क्षेत्रअनुसार विभाजन गर्नुपर्ने बाध्यतामा दलहरू थिए तर यस पटक सम्पूर्ण शक्तिलाई केन्द्रिकृत गर्ने अवस्थामा छन्। यस पटक शिर्ष नेताहरू निर्वाचनको माहोललाई आफ्नो पक्षमा पार्न खटिएका छन्। यसले गर्दा पनि आफ्नो पुरानो छबिलाई फर्काउन कांग्रेस र एमालेका लागि सहज देखिन्छ।

यस निर्वाचन क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा यस चुनावी क्षेत्रमा पर्छन् । स्थानीय तहको मत परिणामलाई संघीय निर्वाचनको आधारशिला मान्न सक्ने अवस्थालाई रास्वपाका लामिछानेले ४ मंसिरमै धरासायी बनाइससकेका छन् । यस अर्थमा त्यसतर्फको विश्लेषण चितवनको सन्दर्भमा गर्नु उचित नहुन सक्।

गत निर्वाचनकै विश्लेषण गर्ने हो भने, यहाँ रास्वपाका लामिछानेले ४९ हजार ३०० मत ल्याएर जितेका थिए भने ५ दलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए। उक्त निर्वाचनमा खसेकोमध्ये ८० हजार ७५३ मत सदर भएको थियो। समानुपातिकमा भने रास्वपाले ३५ हजार ९४५, एमालेले १६ हजार ७८४ र नेपाली कांग्रेसले १२ हजार १३२ मत प्राप्त गरेका थिए ।

कांग्रेस जिताउन विद्रोह गरेका नेता एक ठाउँमा

कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई कांग्रेसका विद्रोहीहरूले पनि साथ दिएका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गर्दै कांग्रेस उम्मेदवार श्रेष्ठलाई मतदान गर्न आग्रह गरेका छन्।

कोइराला उनै हुन्, जसले गत मंसिरमा पार्टीले टिकट नदिएपछि विद्रोह गर्दै चितवन– ३ बाट स्वतन्त्र उम्मेदवारी दिए थिए । तर, उनी पराजित भए । पार्टी निर्देशन अवज्ञा गरेको भन्दै कोइरालालाई कांग्रेसले कारबाही गरेको थियो। तर, उनीसहितका अरू पनि अहिले उपनिर्वाचनमा कांग्रेसका लागि एक ठाउँमा उभिएका छन् ।
उनीहरूले विज्ञप्ति नै जारी गरेर कांग्रेस उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेका छन्।

उनीहरूको विज्ञप्तिमा भनिएको छ, ‘चितवन– २ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई विजयी गराउन हामी हार्दिक अपिल गर्दछौँ । कांग्रेसका समस्त कार्यकर्ता तथा शुभचिन्तकलाई एक ढिक्का बनेर लागिपर्न आह्वान गर्दछौँ।’

१८ दल र २४ उम्मेदवार, २९ मतदानस्थल अतिसंवेदनशील

चितवन– २ मा हुने उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएका थिए। र, ती १८ वटा राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरिसकेको छ। यहाँ उपनिर्वाचनका लागि १२ स्वतन्त्रसहित २४ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचनका लागि दर्ता भएका दलमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एमले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनः जागरण पार्टी, नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जय जन्मभूमि पार्टी नेपाल छन्।

त्यस्तै, उपनिर्वाचनका लागि चितवन– २ का ४३ मध्ये २९ वछा मतदानस्थल अतिसंवेदनशील र बाँकी १४ वटा स्थललाई संवेदनशील स्थलको सूचीमा राखिएको छ।यसका लागि जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गर्नेगरी योजना बनाइरहेको छ भने नेपाली सेना परिचालनका लागि सरकारले निर्णय मात्र गर्न बाँकी छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ७ वैशाखसम्म चितवन– २ का सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्