चिन्नेलाई ‘श्रीखण्ड’, नचिन्नेलाई ‘खुर्पाको बिँड’



  • प्रा. डा. प्रेम शर्मा

काठमाडौं । कर्णाली : चिन्नेलाई ‘श्रीखण्ड’, नचिन्नेलाई ‘खुर्पाको बिँड’ भन्ने उखान जस्तै नै हो । केही समयअघि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक लेखा अधिकृतसँग यो यात्रा सुरु हुन्छ– काठमाडौंको शंखमुलबाट। नयाँ वानेश्वरबाट हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तर्फ काठमाडौं–नेपालगञ्जको दिवा ३ वजेको बुद्ध एयर उडानका लागि ट्याक्सी भाडामा ५०० रुपैयाँ दिएर मित्रको डेरा हुँदै (पिकअप गर्दै) एयरपोर्ट लागिन्छ।

त्यसै बेला अर्को १ जना सहउडान यात्री आफूलाई पनि तीनकुनेबाट लिफ्ट माग्छन् र एयरपोर्ट जान्छन् । तर, नेपाली चलन, संस्कृति, प्लेन आधा घन्टा ढिलो जे होस्, ३ः३० मा उड्यो। ४ः३० बजेतिर नेपालगन्ज उत्रियो । पूर्वतयारीका कारण सुर्खेतबाट भाडाको स्कोरपियो जीप नेपालगन्ज विमानस्थलबाहिर हामीलाई गुडाउन तयारी अवस्थामा रहेछ । उत्रिनेबित्तिकै सुर्खेततर्फ ४३ डिग्रीको तातो तापक्रममा गाडीभित्र पस्दा त आश्चर्य, एसी पो रहेछ !

काठमाडौंभन्दा स्वर्ग लाग्यो । गाडी सुर्खेत फुपूको नाति रमेश पौडेलले व्यवस्था (भाडामा मिलाएको) गरेको थियो । भाडा मिलान प्रतिदिन ५ हजार रुपैयाँको थप डिजेल आफैँ हाल्नुपर्ने । जम्मा ६ दिनको कुल खर्च ४२ हजार रुपैयाँ । क्या सस्तो ! ५–६ जनाको क्षमतावान् सान्दार ४ ह्वील ग्रान्ड न्यु गाडी कर्णाली राजमार्ग हुँदै मुगुको गमगढीसम्मको यात्रा ।

यो निजी प्लेटको गाडी कोहलपुरतर्फ गुड्यो । सुर्खेततर्फ उकालो लाग्यो चिसापानीमा आर्मीको चेकिङपछि गाडी ७ बजेभित्र सुर्खेत भित्रिने गरी गुड्यो । चालक धेरै अनुभवी १३ वर्षको उमेरदेखि नै सुर्खेत–जुम्ला सडकमा ट्याक्टर चलाएको र गाडी (ट्याक्टर) मालिककै छोरीसँग प्रेम विवाह गरेकाले खप्पिस घरज्वाइँ परेकाले २२ वर्षको उमेरमा ११ वर्ष गाडी चलाएको अनुभवी व्यक्तिलाई प्रायः सबै अनुभव थियो ।

तर, आङ सिरिंग हुने कुरा के थियो भने, उसले सुर्खेतबाट जुम्ला खलंगासम्मको यात्राको क्रममा विभिन्न ठाउँ, भिर, खोल्साहरू देखाउँदै ‘यहाँ मेरो फलानो साथी, त्यहाँ फलानो साथी ट्याक्टरबाट खसेर मरे’ भन्थ्यो । म उसको छेउमा बसेको हुँदा निकै डर र जोखिमको यात्रा थियो । तर ऊ हाँसी खुसी गर्दै ठाउँठाउँका भट्टी र होटल, चिया पसलहरूमा जवानीका पहरेदार छोटी (तरुनी) र सेविकाहरूको रोचक प्रसंग पनि जोड्थ्यो । सानैमा आमा अर्कैसँग विवाह गरेर गएकाले माया नपाएर होला, ऊ कठोर र निर्दयी पनि देखिन्थ्यो । जे होस्, चालक परिपक्व थियो ।

यात्रा रोचक थियो किनभने मन्त्रालयका मेरा सहकर्मी श्रीकृष्ण भगवान् अवतारको चरित्र र स्वभावको हुनुहुन्थ्यो । वर्णन के गर्नु, आफैँ गर्नुहोस् । उहाँ हामी (चालक र म) भन्दा पछाडिको सिटमा ४ जनाको बीचमा विराजमान हुनुहुन्थ्यो । अन्य अतिथिहरू भिन्नभिन्न स्वभाव र भौगोलिक क्षेत्र (इलाम, धादिङ र नवलपरासी)का तर उनीहरू राजनीतिक सिद्धान्त एउटै बोकेका । मुगु जिल्लाको भाग्यरेखा (विकास योजना) कोर्ने जोतिषीहरू हुनुहुन्थ्यो ।

नेपालमा भूकम्प, राजनीतिक उथलपुथलबारे अफिसमा बसेर चिया गफ गर्दै भविष्यवाणी गर्ने धेरै जोतिषीहरू हुन्छन् तर उहाँहरू विकासे जोतिषीहरू हुनुहुन्थ्यो । मेरा सहकर्मी उहाँहरूको सामुन्ने विचरा त भनुँ, अल्पमतमा पर्नुहुन्थ्यो। तर, गफको बीचबीचमा उहाँ इराकको बगदादमा अमेरिकी मिसाइल पड्काएझैँ पड्काउनुहुन्थ्यो । मलाई कतै कमेन्ट गरौँगरौँ लाग्थ्यो तर हस्तक्षेप गरिनँ। यात्रा ३ दिनसम्म एवं रीतले चल्यो । मुगुको गमगढीमा काम सम्पन्नपछि हामी २ जना आफ्नो मिसन पूरा गरी आनन्दले फिर्ता भयौँ ।

अब यी कर्णाली दर्शन यात्रीहरूको छोटो परिचयपछि मेरो नियात्राको वर्णन गरौँ । म एउटा नेपाली पर्यटक भएकाले मेरो गिद्दे दृष्टिकोण पर्यटकीय हुन सक्छ, माफ गर्नुहोस् । हाम्रो यात्रा प्रथम दिन नेपालगन्जबाट गाडीमा सुर्खेत बास र भोलिपल्ट बिहानै ५ः३० बजेदेखि सुरु हुन्छ। सुर्खेतको आचार्य चिया नास्ता पसलमा म कति भाग्यमानी (मेरो एउटा भूपू विद्यार्थीले बिल तिरेपछि) जेरी, पुरी, तरकारी, चिया मस्ती डकारेपछि उत्तरपट्टि लागिन्छ।

यात्रालाई दैलेखतर्फबाट नभएर कर्णाली तीरैतीर लागियो। बाटो हाल जुम्ला सदरमुकामसम्मै कालोपत्र रहेकाले फिलिली चालकको सुरमा अगाडि बढ्छ। दैलेखतर्फबाट बडीचौर, पातलेखोला हुँदै कालीकोटतर्फ लाग्दा दुवै बाटाहरू भेट हुने डुंगेश्वर, सिद्धेश्वर, शिव मन्दिर जुन दैलेखको पवित्र धार्मिक एवं पर्यटकीय मन्दिरमा पुगेर अडिन्छौँ।

बिहान ८–९ बजेको समय भएका कारण १/१ कप चिया पिएर सिद्धेश्वर मन्दिरको दर्शन र फोटो खिचेर हाम्रो यात्रा अगाडि बढ्छ। रिठा बगरमा एउटा गुरुङ भट्टीमा खानाका लागि अडिन्छ । मित्रहरू ! यो यात्रामा कर्णाली र तिला नदीका चिसो पानीका मिठो स्वादका माछाका परिकार (फ्राई र झोल)हरू प्रायः छ्यापछ्याप्ती पाइने हुँदा खान नबिर्सिनु होला ।

यात्रा नदीको छेउबाट अगाडि बढ्ने हुँदा घना साल, चिलाउने, साज आदिका समशीतोष्ण कोणधारी जंगल र सुन्दर कर्णालीको बगर हुँदै अगाडि बढ्छ। ठाउँठाउँका (कर्णालीवारिको दैलेखलाई पनि मैले कर्णाली क्षेत्रमा राख्छु) घरबास, खेतीपाती, पशुपालन, दिनचार्यहरू अवलोकन गर्दै अघि बढ्छ।

रिठा बगरको शुद्ध अर्गानिक दाल–भात, तरकारी, अचार, लोकल कुखुरा वा खसीको मासु र असला जातका माछाका परिकार खाना र रुचि तथा स्वादअनुसार स्थानीय गाईभैँसीको घ्यू राखेर खाना खाइसकेपछि अगाडि लागिन्छ । तर, यति मिठो र शुद्ध खानाको दर रेट कति ? नपत्याइँदो, माछा–मासुसहित भए १५० र शाहाकारी भए जम्मा १०० रुपैयाँ मात्र । कर्णालीमा यात्रा गर्दा खानपानको पैसा खर्च धेरै छैन भने पनि हुन्छ । यो लेखक २०४९ सालमा जुम्ला, मुगु जाँदा ८० रुपैयाँ थियो भने मुग्लिनमा १८ रुपैयाँ । हाल मुग्लिनमा कति छ ? जुम्ला र मुगुमा १०० रुपैयाँ छ ।

भन्नुहोस्, कर्णालीवासीको जीवनस्तर कहिले बढ्छ ? चेतनामा परिवर्तन कहिले आउला ? पक्कै निकट भविष्यमा आउँछ । उनीहरूको इमान्दारी र स्थानीय स्रोत, साधनले सही मूल्य पाउनेछ। लघु वर्णन सिँजाको गर्नुपर्दा– कालीकोट सदरमुकाम मान्मा पुग्नुअघि तिला नदी र हुम्ला कर्णाली संगम (दोभान) साईखोलामा पुग्दा बल्ल कर्णाली भनेको यस्तो पो रहेछ भन्ने अनुभव हुन थाल्छ किनभने पहाड र भिरालो टाकुरामा अवस्थित मान्मा सदरमुकाम भूकम्पीय जोखिमका दृष्टिकोणले अत्यन्त जोखिम र खतरनाक देखिन्छ। तर, पूरै चट्टानै चट्टानमाथि भएकाले चट्टानै लडे त के गर्ने ? नत्र भने डाँडाको थुम्कोमा सदरमुकाम चारैतर्फ अवलोकन गर्दा अति नै रोमान्चक लाग्छ । हुम्लाबाट प्लेनमा उड्दा यो सदरमुकाम आश्चर्य र रोचक ठाउँमा रहेको अनुभव हुन्छ। कालीकोट–मान्माको १ दिनको बसाइ, घुमाइ, हेराइपछि भोलिपल्ट जुम्लातर्फ अर्थात् नाग्मातर्फ लागिन्छ ।

सेतीघाट, नाग्मा, कालीकोट र जुम्लाको सिमाना रहेको एउटा चौबाटो मात्र नभएर पुरानो व्यापारिक नाका पनि हो किनभने जुम्ला वा मुगु, कालीकोटतर्फ पैदलयात्रा गर्दा यो ठाउँ भएर अगाडि बढ्नुपर्छ । अझ सिँजा खोला र तिला नदीको दोभान (संगम) भएकाले हाल यो ठाउँ एउटा प्रमुख नाका र ‘जक्सन’का रूपमा विकसित हुँदै छ ।

लघु अवलोकन सिँजाको वर्णन कसरी गर्ने ? एरियल भ्युबाट गरौँ किनभने सुन्दर सिँजा उपत्यकाका गाउँघरहरूको घरआँगनको भ्रमण गर्न पाइएन । हामी नेपालीहरूको प्रायः धेरै जात जातिहरूको सभ्यताको उद्गम थलो सिँजा उपत्यका जुम्ला जिल्लाको सदरमुकाम खलंगाभन्दा धेरै भिन्नता छ । प्राकृतिक, सामाजिक र आर्थिक दृष्टिकोणले समृद्ध सिँजा उपत्यकाका वस्तीहरू, खेतीपाती गर्ने खेतबारी, पुरातात्विक एवं ऐतिहासिक सम्पदाका दृष्टिकोणले यो ठाउँ स्विट्जरल्यान्ड मनपराउनेलाई मन पर्नुपर्ने हो । तर, हिजो भूलले दोलखाको जिरी उपत्यका मनपराएछन् ।

अर्थात्, विदेशीले नेपाल थोरै घुमे–फिरे, देखे र चिने भन्नुपर्छ । तर, नेपाल भूगोलमा सानो भए पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैँ विशाल, शान्त र सुन्दर छ। जुम्लाका नदीहरूमाथि बनेका काठका पुलहरूको प्राविधिक र पुलमा देशका वीर महापुरुषहरूको आकृति कुँदाइहरू हावा–पानी, मौसम, वातावरणअनुकूल बनेका घरबासहरू, सिँजा उपत्यकाको उर्बरा भूमिले उत्पादित अनाजहरू विश्वको चर्चित रातो मार्सी (धान) चामल, गहुँ, चिनो, फापर, नं. १ मा स्वादिलो राजमा सिमीको परिकार, जुनु, जौ (उवा), काउनु, आलु, चिनो आदिको वास्तविक स्वाद खानेलाई थाहा होला । अरू केको वर्णन गरौँ ?

एक पटक भ्रमण गरेर हेर्नुहोस्, बल्ल मेरो आलेख र नियात्राको वर्णनको सार्थकता पाउनुहुनेछ । गुच्ची च्याउ, नपोल्ने अल्लो (सिस्नो)को दाल, भेज खाना, कालिज, तित्राको मासुको सुप, बाख्राको मासु, असला माछा (जापानिज ट्राउट माछा) आदिले पुगेन भने स्थानीय घारको महको जडीबुटीको चिया (जम्मा १० रुपैयाँमा) खाने कि मधेसबाट भित्र्याइएको चामलबाट बनेका राष्ट्रिय जल (रक्सी) खाने, विकल्प छ।

त्यसैले प्राकृतिक सौन्दर्य र मानव सभ्यताको एउटा उद्गमस्थल जुम्ला सिँजा उपत्यका भ्रमण अवलोकन गर्नुहोस्, २ वर्ष आयु बढाउनुहोस्, कर्णालीवासीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन र आफूलाई रूपान्तरण गर्न सिकौँ । नेपालको आन्तरिक पर्यटनलाई व्यापारीकरण गरी देश, विदेशमा चिनाऔँ।

(‘आईएनएस–स्वतन्त्र समाचार’बाट)

प्रतिक्रिया दिनुहोस्