दलित समुदायलाई महायज्ञमा पूजा गर्न बञ्चित गरिएकोप्रति सांसद हजराको आपत्ती 



वीरगञ्ज । दलित समुदायलाई यज्ञमा बञ्चित गराइएकोप्रति प्रतिनिधि सभा सदस्य प्रभु हजरा दुसाधले आपत्ती जनाएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा सहभागी हुँदै उनले दलित समुदायलाई संविधानमै व्यवस्था गरिएको समानताको हकको प्रत्याभूति गर्न नपाएकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘पर्सामा विगतमा पनि यज्ञहरूमा विभेद हुँदै आएको थियो । अहिले पनि त्यही परिपाटी दोहोरिएको छ । यसतर्फ गृहमन्त्रालयको ध्यानाकर्षण होस् ।’ जातकै आधारमा विभेद हुनु संविधानको उलङ्घन गर्नु भएको हुँदा उनीहरूलाई कारवाही गर्न सांसद दुसाधले गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

साथै उनले मधेश प्रदेशकै पहिलो केन्द्रीय अस्पताल नारायणी अस्पताल पुननिर्माणका लागि माग गरेका छन् । ४ वर्षदेखि अल्झिरहेको मुद्दालाई टुंगो लगाई पुनर्निमाण गर्नुपर्ने उनको माग छ ।

साढे ५ सय शय्याको अस्पताल निर्माणको काम अल्झिँदा सेवाग्राहीले सास्ती खेप्नुका साथै सेवा प्रवाहमा कठिनाइ भइरहेको उनले बताए । यसअघि पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले पनि नारायणी अस्पताल जीर्ण बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्