जीर्ण बनेको वीरगञ्ज कारागार निर्माण गर्न सांसद यादवको माग



वीरगञ्ज । नौ दशक पुरानो वीरगञ्ज कारागार जीर्ण बनेको भन्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले क्षमताभन्दा बढी कैदी भएको हुँदा यथाशीघ्र निर्माण गर्न माग गरेका हुन् । साथै उनले कारागार यातना गृह बनेको इंकित गर्दै भने, ‘कारागार यातना गृह बनेको छ, कारागार सुधार्ने ठाउँ हो की बिगार्ने ठाउँ हो ? ‘

कम क्षमता हुँदा कैदीलाई कोचाकोच गरेर राख्नुपर्ने बाध्यता रहेको बताउँदै उनले शौचालय जान पनि पालो कुर्नुपर्ने र त्यही पनि व्यवस्थित नभएको बताए । उनले भने, ‘९० वर्ष पुरानो कारागार जीर्ण भइसकेको छ । त्यहाँ सुरक्षाकर्मी बस्ने ठाउँ पनि सुरक्षित छैन । कुनै पनि बेला दुर्घटना हुन सक्छ । शौचालय पनि अपर्याप्त छ । पालो कुर्दाकुदै नपाएर कैदीहरू पाइन्टमै दिशापिसाब गर्न बाध्य छन् । ’ जीर्ण बनेको कारागारको स्थलगत स्थलगत अवलोकन गरेर पुनर्निनिर्माणको काम गर्न सांसद यादवले माग गरेका छन् । 

यसअघि गत ९ फागुनमा यादवले कारागारको स्थलगत अवलोकन गरेका थिए । जीर्ण बनेका भौतिक संरचना निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए बमोजिम यादवले प्रतिनिधि सभाको बैठकमार्फत आवाज उठाएका हुन् । 

अनुगमनका क्रममा उनले सुरक्षा र मानवअधिकारका दृष्टिकोणले पनि कारागार पुनर्ननिर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । सांसद यादवकाअनुसार जीर्ण बनेका संरचनाका कारण त्याहाँ रहेका कैदीसँगै सुरक्षाकर्मी र कर्मचारी पनि जोखिममा छन् । पुरानो संरचना मर्मतसम्भारमा सरकारले ध्यान नदिँदा जीर्ण बनीरहेको बताउँदै उनले क्षमता भन्दा दोब्बर कैदीबन्दी रहँदा झनै जोखिम बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्