तनहुँ-१ मा त्रिपक्षीय भिडन्त : ‘राष्ट्रपतिको विरासतमा’ शक्ति खोसाखोस



काठमाडौं । उपनिर्वाचनका लागि दलहरूको चुनावी गतिविधि बाक्लिएको छ। सबै दलहरू आफ्नो जित सुनिश्चित हुने दाबीका साथ चुनावी मैदानमा छन्।उपनिर्वाचन हुने ३ वटा निर्वाचन क्षेत्रमध्ये तनहुँ– १ मा पनि अहिले चैते गर्मीमा चुनावी सरगर्मी मिसिएको छ। तर, आधा तनहुँको चुनावी माहोलमा देखिन्छ।

अहिले तनहुँ– १ मा जताततै आमसभा, र्‍याली, भाषण र घरघरमा नेताका भिड देखिन्छ। यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा चयन भएपछि यो क्षेत्र खाली भएको हो। गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले २५ हजार ३१३ मत ल्याउँदै विजयी भएको थियो भने १९ हजार ९२५ मतका साथ एमाले पराजित भएको थियो।

त्यस्तै, कांग्रेसका बागि उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत पाएका थिए र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ मत ल्याउन सफल भएका थिए। यस पटकको निर्वाचनमा पनि गोविन्दराज जोशीबाहेकका उनै ३ वटा पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ। गोविन्दराज जोशी पक्ष भने एमालेलाई समर्थन गर्ने पक्षमा देखिएको छ । तर, यस विषयमा कुनै आधिकारिक धारणा भने सार्वजनीक भएको छैन।

उपनिर्वाचनका लागि तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल, कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)का गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनार गरी जम्मा ९ जना मैदानमा छन्।

यस क्षेत्रमा कसैले पनि स्वतन्त्र उम्मेदवारी दिएका छैनन्। गत निर्वाचनमा यहाँ १६ जनाले उम्मेदवारी दिँदा ४ जना स्वतन्त्र उम्मेदवार पनि चुनावमा उत्रिएका थिए।तनहुँ– १ को उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्ले मुख्य प्रतिष्पर्धी हुन्।

नतहुँ–१ निर्वाचन क्षेत्रमा जिल्लाका ५ वटा पालिका पर्छन्, जसमा देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिका (वडा– ५ र ६ बाहेक) रहेका छन्। यहाँ १ लाख २३ हजार ३०५ जना मतदाता छन् भने उपनिर्वाचनका लागि ६९ वटा मतदानस्थल र १५२ वटा मतदान केन्द्र तोकिएको छ ।

पौडेललाई जस्तो सहज छैन भट्टराईलाई

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष भइसकेका भट्टराई पहिलो पटक सांसदीय निर्वाचनमा भाग लिँदै छन्। उनी तनहुँमा पौडेलको विरासत थाम्ने नेताका रूपामा आफूलाई उभ्याउन चहन्छन् । तर, १० वैशाखको परिणाम त्यसको मुख्य आधार हुनेछ।

रामचन्द्र पौडेलको जस्तो सहज जित पाउने दाउमा भट्टराई रहे पनि अवस्था भने त्यस्तो देखिँदैन। तनहुँँ–१ मा कांग्रेसभित्रै कित्ताकाटको अवस्था छ। गोविन्दराज जोशी पार्टीको कारबाहीमा परेपछि आफूलाई कांग्रेसी नै भन्न रुचाउँदैनन्। पार्टीले कारबाही फुकुवा गरे पनि उनी कांग्रेसमा फर्कने सुरसारमा छैनन्। उता, तत्कालीन कांग्रेसमै रहेका बौद्धिक नेता, कार्यकर्तामा पर्ने अर्थविद् डा. स्वर्णिम वाग्ले अहिले रास्वपाबाट चुनाव लड्दै छन् ।

कांग्रेससँग रुष्ट २ पक्षका बीच चुनावमा सहज जित निकाल्न भट्टराईलाई सहज भने पक्के पनि छैन। दुवै पक्षसँग भएका मतदाताले भोट नदिँदा मंसिरको तुलनामा कांग्रेसको भोट संख्या घट्ने देखिन्छ। साथै, पौडेलको जस्तो राष्ट्रिय छबि भट्टराईको नभएका कारण पनि उनलाई मतदाताले पत्याउने आधार पनि देखिँदैन।

हुनत तनहुँ– १ मा अन्य पार्टीको तुलनामा कांग्रेस बलियो पनि छ। साथै, आँबुखैरेनी गाउँपालिकालाई आफ्नो गढ बनाएको माओवादीको पनि समर्थन भट्टराईलाई नै रहेकाले सम्भावना पनि उत्तिकै देखिन्छ।

हारलाई जितमा परिणत गर्ने खनालको दाउ

काठमाडौं–६ मा पराजित भएका एमालेका सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन्। राजनीतिमा कच्चा मानिएका खनाल एमालेको आडमा जसरी पनि संसद् छिर्ने दाउमा छन्। प्रहरीको नेतृत्वमा हुँदा आन्तरिक सरुवा–बढुवामा राजनीतिक हस्तक्षेप, संगठनको हितभन्दा राजनीतिक नेतृत्वको चाकडी गरेको आरोप खनाललाई लाग्ने गरेको थियो । उनी माओवादीप्रति उदार देखिए पनि चुनावताका एक्कासि एमाले प्रवेश गरेका थिए र टिकट नै पाएका थिए।

उनी एमाले प्रवेश गरेकामा पार्टीभित्रका केही पक्ष भने त्यति खुसी छैनन् किनकि पार्टी प्रवेश गर्नासाथ नेतृत्वको चाप्लुसी गरेर टिकट लिएको आरोप उनीहरूले लगाएका थिए। आलोचनाका बीच पनि पार्टीको नेतृत्व पंक्तिलाई रिझाउन माहिर खनाल यस पटक जसरी पनि जित निकाल्दै ५ महिनाअघिको हारलाई जितमा बदल्ने तयारीमा छन्। तर, उनलाई जित निकाल्न त्यति सहज भने छैन। कांग्रेस उम्मेदवार भट्टराईसँगै उनलाई रास्वपाका स्वर्णिम वाग्लेको चुनौतीको सामना गर्नुपर्ने।

एमालेका लागि तनहुँ–१ त्यति असहज निर्वाचन क्षेत्र भने होइन । यहाँ सधैँजसो कांग्रेस र एमालेको टक्कर जस्तै पर्छ। तर, हरेक निर्वाचनमा बाजी भने कांग्रेसले नै मार्ने गरेको छ। यहाँका स्थानीय तहको परिणामलाई हेर्ने हो भने पनि एमाले र कांग्रेसको बराबरी जस्तै स्थान छ। यस पटक कांग्रेसभित्रको अन्तरद्वन्द्वको फाइदा एमालेले उठाउन सक्छ।

कठिन यात्रामा वाग्ले

कांग्रेसका पूर्वकार्यकर्ता डा. स्वर्णिम वाग्ले पनि संसद् छिर्ने दाउमा रास्वपा प्रवेश गर्दै तनहुँ– १ बाट चुनाव लड्दै छन् । वाग्लेको यो पहिलो संसदीय चुनाव हो। तनहुँमा कांग्रेस–एमालेको जस्तो रास्वपाको संगठन विस्तार त्यति व्यापक रूपमा छैन । यसै कारण पनि ४ मंसिरको निर्वाचनमा यहाँ रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ मत मात्र ल्याउन सफल भएका थिए।

विजयी मतभन्दा झण्डै १९ हजार कम मत पाएको रास्वपा अहिले चर्चित व्यक्तिमार्फत संसद्मा १ सिट थप्ने दाउमा छ । यसका लागि रास्वपा भन्दा पनि वाग्लेका लागि चुनौती छ। वाग्लेलाई एकातिर कांग्रेस छाडेर रास्वपा प्रवेश गर्नुको अर्थ स्थापित गर्नु छ भने अर्कातिर कमजोर पार्टी संगठनमा पनि आफ्नो हैसियत कायम गर्नु छ।

रास्वपा यहाँ प्रमुख दलकै भोट तान्ने प्रयासमा छन् । रास्वपाका आफ्नै त्यति धेरै मतदाता नरहेका कारण पनि यहाँ वाग्लेलाई सकस नै देखिन्छ। तर, कांग्रेसमा हुँदा उनका पक्षमा उभिने मतदाताहरूलाई आफ्नो पक्षमा पार्न सकेको अवस्थामा भने तनहुँमा–१ मा टक्कर देख्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्