रविको चेतावनी- पत्नी निकिताविरुद्धका समाचार र पोस्ट नहटाए कानुनी प्रक्रियामा जान्छु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नी पत्नी निकिता पौडेल लामिछानेविरुद्ध निराधार आरोप लगाइएको बताएका छन्। ‘बिनाआधार, बिनाप्रमाण’ राखिएका समाचार र पोस्ट नहटाए आफूहरू कडा कानुनी प्रक्रियामा जाने चेतावनी पनि सभापति लामिछानेले दिएका छन्।

ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरण सार्वजनिक भएपछि त्यसमा उनले आरोप लगाएको रास्वपाको ‘कोर टिम’मा रविकी पत्नी निकिता पनि रहेको जस्ता आरोप लागिरहेका छन्। आफू मन्त्री बन्नका लागि लामिछानेको कोर टिमले आफूसँग २ देखि अढाई करोडसम्म मागेकाले आफूलाई उक्त पैसाको बन्दोबस्त गर्न भन्दै ढाकाले अडिओमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग अनुरोध गरेका छन्।

उक्त प्रकरणका कारण रास्वपाले ढाकालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरिसकेको छ। योसँगै उनको सांसद पनि गएको छ। तर ढाकाले आफूलाई अन्याय भएको भन्दै यसविरुद्ध कदम चाल्ने चेतावनी दिइरहेका छन्। ढाकालाई कारबाही गरिए पनि अडिओमा सभापति रविको नामसमेत जोडिएकाले उनीविरुद्धको आलोचना पनि रोकिएको छैन। त्यसमा उनकी पत्नी निकिताको पनि भूमिका रहेको शंका गर्दै मानिसहरूले टिप्पणी गरिरहेका छन्।

सोही विषयमा रवि लामिछाने आक्रोशित भएका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नी पत्नीविरुद्ध लेखिएका समाचार र पोस्ट हटाउनपर्ने अन्यथा कडा कानुनी कारबाही प्रक्रियामा जाने चेतावनी दिएका हुन्।

‘एक आफैँमा योग्य, सक्षम महिला, जसलाई आफ्नो श्रीमान्‌को प्रगतिबाहेक राजनीतिमा केही लिनु/दिनु छैन, कायरहरू उसमाथि खनिएका छन्’, लामिछानेले फेसबुकमा लेखेका छन्, ‘बिनाआधार, बिनाप्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौँ। निराधार राखिएका समाचार र पोस्टहरू नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ।’

आफ्ना कारण पत्नी निकिताले सहनुपरेको परेको बदनामी र तनावप्रति उनले आरोप लगाउनेहरूका तर्फबाट क्षमा पनि मागेका छन्।

प्रतिक्रिया दिनुहोस्