केन्द्रमा सत्ताको खेल, भूगोलमा अविश्वासको रोग



काठमाडौं । मधेस केन्द्रित दलको इतिहास करिब ३० दशक लामो छ। नेपाल सद्भावना पार्टीबाट सुरु भएको इतिहास पछिल्लो समय जनमत पार्टीमा आएर रोकिएको छ।

सद्भावना गठनपछि र जनमत पार्टीको स्थापनाअघि दर्जनौँ मधेस केन्द्रित दलहरू उदाए र बिलाए पनि। मधेसी जनताको आवाज भन्दै अहिले डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी उदाएको छ। यो पार्टी २०७५ सालमा स्थापना भएको हो।

मधेस केन्द्रित दलको उदय २०४६ सालको जनआन्दोलनताका भएको थियो । र, यसका मुख्य सूत्रधार थिए– गजेन्द्रनारायण सिंह । सिंहको नेतृत्वमा गठन भएको सद्भावना पार्टी २०४८ सालको निर्वाचनमा पहिलो पटक सहभागी भएको थियो । त्यस समयमा सद्भावनाले ६ स्थानमा जितेकोे थियो। जनमत पाउने पहिलो मधेस केन्द्रित दल पनि त्यही नै थियो । सद्भावना पार्टीलाई नै मधेसका जनताको आवाज बोल्ने पहिलो दलको रूपमा मानिन्छ।

२०६२/०६३ को जनआन्दोलनपछि उपेन्द्र यादव र उनी नेतृत्वको मधेसी जनअधिकार फोरम अघि आयो । र, मधेसको मुद्दा आफ्नो ठेक्का जस्तै बनायो । हुन पनि पहिलो संविधानसभामा यादव नेतृत्वको फोरम ५४, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) २१, सद्भावना पार्टी (महतो) ९ र सद्भावना पार्टी (आनन्दीदेवी)ले ३ सिटसहित ८७ सिटको शक्ति बन्न सफल भएको थियो ।

‘अब हाम्रो आवाज देशले सुन्छ’ भन्ने अपेक्षा गरेका मधेसका जनताका लागि त्यो ८७ सिट कुनै अर्थमा पनि उपब्धिमूलक रहेन। ती दलहरू जनताको विश्वासमा कुठाराघात गर्दै आफैँ विभाजनको बाटोमा लागे र मधेसी जनताका मुद्दा अलपत्र परे।

औँलामा सीमित दल

अहिले मधेस केन्द्रित केही प्रमुख दलको गणना हुँदा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र सीके राउतको जनमत पार्टी मात्र छन्। मुद्दा उठाउने मामलामा अन्य दल रहे पनि जनमतको विषयमा भने यी ३ दल नै अस्तित्वमा छन्।

२०६४ सालको निर्वाचनमा गठन भएको मधेसी जनअधिकार फोरम नेपाल २०७२ सालमा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग मिलेर संघीय समाजवादी फोरम र संघीय समाजवादी फोरमबाट समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टी (जसपा) बनेको छ। ‘मधेसी जनताको हकअधिकार सुनिश्चित गर्ने ठेक्का मेरै हो’ भन्नेहरू अहिले जनताभन्दा पनि आफ्नै अस्तित्व सुनिश्चित गर्न लागिपरेका छन्।

त्यस्तै, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को जगमा खडा भएको लोसपा अन्तरद्वन्द्वमै पिल्सिएर खिइएको अर्को पार्टी हो । राष्ट्रिय जनता पार्टी (राजपा) हुँदै जसपा र जसपाबाट अहिले यो पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को रूपमा छ। गठन भएको ५ वर्षसम्म सीके राउत नेतृत्वको जनमत पार्टीमा भने अहिलेसम्म कुनै अन्तरद्वन्द्व देखिएको छैन।

राजनीतिमा दलहरूबीचको अन्तरद्वन्द्व सामान्य विषय हो। कुनै एउटा दललाई जनताले बढी विश्वास गर्दा अर्को दल ओझेलमा पर्नु नौलो कुरा होइन । तर, मधेस केन्द्रित दलको विषयमा भने अवस्था फरक छ। यहाँ जनमतको कुराभन्दा पनि दल–दलबीच नै अन्तरद्वन्द्व छ । मधेस र मधेसी जनताको आवाज बन्न भनेर हिँडेका दलहरू आन्तरिक कलहमै सीमित भएका छन् ।

तत्कालीन नेपाल सद्भावना पार्टीका पुरानामध्येका एक नेता मधेसमा उदाएका दलहरू आफ्नो स्वार्थमा लागेका कारण अहिलेको अवस्था सिर्जना भएको बताउँछन्। ‘मधेस र मधेसीको अधिकारका लागि भनेर हिँडेका दल र नेताहरूले बाटो बिराए । उनीहरूले आफ्नो मुद्दा के हो भन्ने नै बिर्सिसकेका छन्,’ उनी भन्छन्, ‘भाइ फुटे गवाँर लुटे भनेको यही हो ।’

उनले भने जस्तै एउटै मुद्दा बोकेर हिँडेका दल र नेताहरू नै आपसमा मिल्न नसक्दा अहिले मधेसका मुद्दा त ओझेलमा परेकै छ। दल र ती दलका नेता पनि राष्ट्रिय राजनीतिबाट ओझेल पर्दै गएका छन्।

२०६४ देखि निरन्तर ओरालो 

पहिलो संविधानसभाको निर्वाचनदेखि मधेस केन्द्रित दलहरू निरन्तर आरालो यात्रामा छन्। अचम्म त के छ भने आफ्नो र पार्टीको अस्तित्त्व नै संकटमा पर्न लाग्दा पनि सत्ता र स्वार्थले भने मधेसी नेताहरूलाई छाडेको छैन।

२०६६ सालदेखि विभाजनको भुमरीमा परेका मधेस केन्द्रित दलहरूको संख्या बढेर १६ वटासम्म पुगेको थियो । २०७४ सालको चुनावमा फेरि एकजुट भएका ती दल अहिलेको फेरि भताभुंग अवस्थामा छन्। यसले मधेस केन्द्रित दल र ती दलका नेताहरूको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ।

पहिलो संविधानसभा निर्वाचनमा ८४ सिटका मधेस केन्द्रित दल दोस्रो संविधानसभामा ५० सिटमा समेटिए। आफ्नो मुद्दालाई पाखा लगाउँदै अन्तरद्वन्द्व र सत्ता केन्द्रित हुँदा २०७४ सालको आमनिर्वाचनमा त ती दललाई मधेसका जनताले ३० सिटमा समेटिदिए । यी दलको खुम्चिने क्रम २०७९ को निर्वाचनमा पनि रोकिएन । अहिले प्रतिनिधिसभामा यी दलहरूले जम्मा २२ सिटको हैसियत राख्छन्।

मुद्दाकै पिरलो 

उता, मधेस केन्द्रित ४ साना दलले भने लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन्। ठुला दलहरूबीच अन्तरद्वन्द्व चलिरहेका बेला तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका हुन्।

मधेस आन्दोलनलाई अगाडि बढाउन सहमति गर्दै १३ चैतमा मोर्चा गठन भएको हो। उनीहरूले ११ बुँदे साझा अवधारणा पत्रसमेत सार्वजनिक गरिसकेका छन् । लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्दै विभिन्न षड्यन्त्र र कुटिल अभ्यासबाट लोकतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध केन्द्रित रही लोकतान्त्रिक मधेसी मोर्चाले लोकतान्त्रिक शक्तिबीच एकजुटका निमित्त पहल गर्ने विषय उनीहरूको अवधारणा पत्रमा उल्लेख गरिएको छ। विशेष गरी मधेसको आवाजलाई बुलन्द रूपमा प्रस्तुत गर्नकै लागि उनीहरूबीच मोर्चा गठन भएको थियो।

मधेस केन्द्रित दलहरू आफूहरूलाई मधेस केन्द्रित भन्दा पनि मधेसवादी दल भन्न रुचाउँछन्। मधेस केन्द्रित भन्दा मधेसमा मात्र सीमित रहेको आभास हुने उनीहरूको बुझाइ छ। उनीहरू भने आफ्नो दललाई राष्ट्रिय स्तरको भन्न रुचाउँछन्।

प्रतिक्रिया दिनुहोस्