नेपाली साहित्य र विश्वव्यापीकरणका सम्भावना



  • महेश पौड्याल

काठमाडौं । धेरै साहित्यिक संस्थाहरूले आफ्नो उद्देश्यमा ‘नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तार’लाई प्रमुख बुँदा नै बनाउने गरेका छन्। अझ ‘अन्तर्राष्ट्रिय’ जोडिएका र विदेशमा दर्ता भएका सङ्घसंस्थामा त अधिकांशले यसलाई नै प्रमुख बुँदा बनाएका छन्।

सम्मेलनहरूमा घोषणापत्र जारी गरिन्छ र तिनमा सके पहिलो नत्र दोस्रो वा तेस्रो बुँदामा त यो मुद्दा आई नै हाल्छ। आफ्नै जिन्दगीको गर्जो टार्न व्यावसायिक अनुवादमा लागेकाहरू पनि आफूले नेपाली साहित्यलाई विश्व मञ्चमा पुर्‍याउने हेतुले यतातिर प्रवृत्त भएको बताउँछन्।

एक वा धेरै अन्तर्राष्ट्रिय भाषामा कलम चलाउने सर्जकहरू त यसैलाई आफ्नो लेखको ध्येय मान्छन्। झोलामा हालेर खाडीतिर पुस्तक पुर्‍याउने प्रकाशकहरू त ठेक्कै पाएको दाबी गर्छन्। यी कुनै पनि सपना, प्रयास, अभ्यास र नियतमा खोट छैन । यी सपना र उद्देश्य आवश्यक पनि छन्। तर, यिनमा छलफल जरुरी छ र केही हस्तक्षेपकारी संसोधन पनि जरुरी देखिन्छ।

सधैँ स्वतन्त्र रहेको नेपालको तुलनामा लामो समयसम्म पराधीन रहेका कतिपय देशका लेखकहरू अन्तर्राष्ट्रिय पाठ्यक्रमका अंश बनिसके, विश्वभरिका पाठकका रोजाइ बनिसके, नोबेल र अन्य ठूला पुरस्कार पाइसके, र फैलिइसके। आधुनिकताकै कुुरा गर्दा पनि राणाकालदेखि मुक्तिको आन्दोलन सुरु गरेकै बेला नेपाल मस्तिष्कमा र समयबोधमा आधुनिक भइसकेको थियो, जबकि धेरैजसो एसियाली र अफ्रिकाली देशहरूले सन् १९४० को दशकपछि मात्र वास्तवमा आधुनिकताको आलोक पाए।

तर पनि साहित्यको अन्तर्राष्ट्रिय विस्तारको प्रश्नमा यी देशको गतिको तीव्रता नेपालको भन्दा धेरै गुणा माथि छ । जेएम कोएट्जी, वोले सेयिङ्का र डेरेक बाल्कोटहरूले नोबेल पाउनु यसको प्रमाण हो। प्राज्ञिक वृत्तमा एउटा तर्क गरिन्छ– बुकर, ओस्कर वा नोबेल जस्ता ठूला पुरस्कारमा पनि पश्चिमी एजेन्डाको सास पसेको हुन्छ । गैरपश्चिममा देशको भव्यता झल्काउने कुनै पनि सिर्जना यिनको रोजाइमा पर्दैन बरु गरिबी, अशिक्षा र विपन्नता देखाउने सिर्जनाका सर्जक पुुरस्कृत हुन्छन्।

‘गड आफ स्मल थिङ्स’ तथा ‘इन्हेरिटेन्स अफ लोस’ले बुकर पाउनु, वोले सोयिङ्काले नोबेल पाउनु र ‘स्लमडग मिलियनर’ले त्यति धेरै एकेडेमी अवार्ड पाउनुलाई कतिपय समालोचक र सिद्धान्तशास्त्रीले यसरी नआथ्र्याएका पनि होइनन् तर यो एउटा तर्क हो र यसको कुनै प्रमाण छैन। यस तर्कले एउटा सोच्ने ठाउँ भने अवश्य दिएको छ । सो के भने, पश्चिमको अनुमोदन मात्र अन्तर्राष्ट्रिय हुनुको मापदण्ड होइन । अन्य मापदण्ड पनि छन् । तिनको पहिचान र खोजी गरिनुपर्छ।

पुरस्कार पाएर प्रकाशमा आएका सिर्जना र साहित्य एकातिर छन् तर कुनै ठूलो पुरस्कार नपाएरै पनि कतिपय देशका सिर्जनाले विश्व पाठकको ध्यान तानेकै हो । पछिल्लो समय अफगानिस्तानका खालेद हुसैनी, बंगलादेशकी मोनिका अली, चीनका हा जिन तथा पाकिस्ताका जामिल अहमद जस्ता लेखकहरूको खोजी साहित्यको वृत्तमा खुब बढेको छ।

नोबेल नपाएरै पनि चिनुवा अचेबे, माया एन्जेलो, युरोडा बेल्टी, जेम्स वाल्ड्विन आदिले विश्वभरिका पाठकको ध्यान खिचेकै त हुन्। यो समग्र विश्व परिवेश हेर्दा कतिपय कुरा ध्यानमा आउँछन्। साहित्यको अन्तर्राष्ट्रिय विस्तारको टेको ठूला पुरस्कार हुन् भन्ने कुरा सधैँ सत्य होइन।

नोबेलै पाएर पनि टोमस ट्रान्ट्रोमर, लुइस ग्लुक, हार्टा म्युलर वा स्भेटलाना अलेक्सभिचको खोजी त्यति भएको पाइँदैन र यी लेखक पाठकको सक्रिय स्मृतिमा पनि खासै छैनन् । यद्यपि, यिनले नोबेल पुरस्कार पाएको त्यति धेरै समय भएकै छैन।

त्यसैले अन्तर्राष्ट्रिय विस्तारको बाटो ठूला पुरस्कार हुन् पनि, होइनन् पनि। पुरस्कार भन्दा पनि लेखनको शैली र विषयवस्तुको नवीनताले उसको साहित्य फैलिन सक्छ। उनको देशको दुर्दशा वा विपन्नताले खालेद हुसैनीलाई लोकप्रिय हुनबाट रोक्न सकेन आखिर। यसमा गुह्य कुरा के छ, त्यसमा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ।

नेपालतिर फर्कौं। विगतका केही दशकका प्रयासले नेपाली साहित्य, अन्य भाषाका पाठकमाझ केही हदसम्म पुगेको छ। रुसमा कतिपय पाठक वा अध्येताले लक्ष्मीप्रसाद देवकोटालगायत अन्य केही साहित्यकारलाई चिन्छन्, पढ्छन्। चीनतिर कमसेकम देवकोटाको मुना–मदन अनुवाद भएर गएको छ र नेपालप्रति चासो राख्ने पाठकहरूमाझ त्यो पुगेको छ।

कतिपय कृतिहरू हिन्दी र बंगला भाषामा अनुदित छन् र ती फैलने क्रममा देखिन्छन्। अङ्ग्रेजीमै लेखिएका अथवा नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गरेर नेपालमै र बाहिर छापिएका पुस्तकको सङ्ख्या पनि ठूलो छ। यसरी नेपाली साहित्य केही हदसम्म नेपालबाहिर पनि चिनिन थालेको छ ।

विदेशी अध्येताहरूले गरेका शोध–अनुसन्धान, नेपाली अध्येतताहरूले विदेशी विश्वविद्यालयहरूमा पुगेर नेपाली साहित्यमै गरेका खोज–अनुसन्धान, अङ्ग्रेजीलगायतका विश्व भाषमा छापिने नेपाली जर्नल, विदेशी जर्नलमा छापिएका नेपाली विद्वान्हरूका लेखहरू, लेखकहरूको बढ्दो आउने–जाने क्रम, बाक्लिँदै गएका सभा, सम्मेलन र समारोहहरू, अनलाइनको विस्तार आदि कारणले नेपाली साहित्य, आजको विश्वको पाठकका लागि पूर्ण रूपमा अपरिचति वा अप्राप्य भने छैन । तर पनि अपेक्षाकृति दृष्टिले हेर्दा यो पहल अर्याप्त छ। न्यून छ ।

कारण धेरै छन् । पहिलो, हामी हाम्रा सिर्जना वा अनुवादलाई छापेर विश्वभरि छर्न सक्ने प्रकाशककहाँ पुग्नै सकेका छैनौँ । कि तिनले हामीलाई पत्याएका छैनन्, कि त हामीले बाटो भेट्टाएका छैनौँ । दोस्रो, अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने सङ्घसंस्थाले नेपालबाहिर पनि नेपाली लखेकलाई नै गोलबन्ध गरे, गैर–नेपाली यानि विदेशी विद्वान्, अध्येता र पाठकहरूसँग सम्बन्ध विस्तार गर्नै सकेनन्।

त्यसतर्फ ठोस प्रयास भएको देखिँदैन।लेखकहरूले पनि अन्तर्राष्ट्रिय स्तरका व्यावसायिक प्रकाशकसम्म पुग्ने प्रयास खासै गरेका देखिँदैन। पछिल्लो समय फस्टाएको ‘सेल्फ पब्लिसिङ’मार्फत त थुप्रै पुस्तक आए र त्यस्ता कतिपय पुस्तक ‘अमेजन डटकम’ जस्ता अनलाइन बिक्रेताहरूका साइटमा पनि उपलब्ध छन् । तर, कसोकसो तिनले पाठकको ध्यान तान्न सकिरहेका देखिँदैन ।

एकथरि लेखक यस्ता छन्, जोसँग पैसा र रहर छ तर सिर्जना उत्कृष्ट छैनन् । ती अनुवाद गराइरहेका छन्, छापिरहेका छन्। यसले अन्तर्राष्ट्रिय भाषामा नेपाली पुस्तकको सङ्ख्या बढाएको छ तर खास प्रभाव छाड्नै सकेको छैन। कतिपय लेखकहरू यस्ता पनि छन्, जो भ्रमणका क्रममा विदेशी लेखकलाई चिन्छन् । र, तिनलाई समातेर कतिपय सिर्जना र कहिलेकाहीँ सिङ्गो पुस्तक पनि अनुवाद गराई छाड्छन्।

यसरी त एउटै लेखकका १२–१५ वटा भाषमा सिर्जना छापिने गरेका पनि देखिन्छ। यस्तो उपक्रमले सानो वृत्तमा केही काम त गर्छ तर यहाँ चर्चा गरिएको लक्ष्य भेट्टाउन असम्भव छ। अनुवादतिर फर्कौं । अनुवादकहरू घरको गर्जो टार्न अनुवाद कर्म गर्छन् र तिनका हातमा सधैँ अब्बल सिर्जना आइपुग्छन् भन्ने छैन। व्यवसाय हो, जस्तो फेला पर्छ, त्यसैलाई अनुवाद गर्छन्। त्यसो गर्नुलाई अन्यथा लिन पनि मिल्दैन। तिनका अनुवाद यतै छापिन्छन्, मेची–महाकाली ठोक्किन्छन्।

अधिकांश अवस्थामा लेखकले पुस्तक बाँडेर सिध्याउँछन् । विमान चढेर विदेश उडेका केही केही पुस्तक, उता पनि नेपालीहरूकै हातमा पुगेर मुकाम पाएको अनुभव गर्छन् । तर, यो एउटा भ्रम हो । अनुवादका हकमा, केचाहिँ अनुवाद गरिनुपर्छ र त्यसका लागि स्रोत, साधन कहाँबाट आउँछ भन्ने कुराको निरूपण गर्ने निकाय नै छैन । निकाय नै भए पनि अनुवाद भएको सिर्जनालाई कसरी विश्व बजारमा पु¥याउने, त्यसको बाटो प्रस्ट छँदै छैन ।

यस पृष्ठभूमिमा हामी के गर्न सक्छौँ ? उत्तर सजिलो त छैन तर केही प्रयास हुन सक्छन्–

१. अन्तर्राष्ट्रिय आकार र सञ्जाल भएका साहित्यिक संस्थाले अनेपाली विद्वान् र पाठकहरूसँगको सम्बन्ध विस्तार गर्नु जरुरी देखिन्छ।
२. लेखक तथा संस्थाहरूले विश्वव्यापी नाम, विश्वसनीयता र सञ्जाल भएका व्यावसायिक प्रकाशकसम्म पुग्ने प्रयास गर्नु जरुरी देखिन्छ।
३. लेखकहरूले पनि प्रथमतः आफ्नो सिर्जनालाई स्तरीय बनाउने र उक्त सिर्जनालाई आत्मविश्वासका साथ अन्तर्राष्ट्रिय प्रकाशनका अगाडि विचारार्थ प्रस्तुत गर्ने आँट गर्नु जरुरी देखिन्छ।
४. लेखकहरू स्वयंले विश्वपरिवेशमा आजको पाठकले के खोजिरहेको छ र आजको मितिमा लोकप्रिय देखिएका लेखकहरू के कस्ता विषय उठाइरहेका छन्, त्यो हेर्नु जरुरी देखिन्छ।
५. सिर्जनामै बढी काम गर्नु जरुरी छ। सिर्जनाकै उचाइ पुगेको छैन । विश्व साहित्यमा प्रवेश नपाएका नवीन र चाखलाग्दा विषयतिर उन्मुख हुनु र त्यसको सम्प्रेणका लागि नवीन शैलीको विकास गर्नु जरुरी छ। बासी लाग्ने विषय र शैलीले विश्वको ध्यान तान्न सक्दैन।
६. अनुवादको हकमा कुनै नियामक निकायले के छप्ने, कुन सिर्जना अब्बल हो र मानक हो, त्यसको निरूपण गर्नु र त्यस्ता सिर्जनालाई अनुवादमा लैजानु आवश्यक छ। नत्र, कमजोर सिर्जना विश्व बजारमा पुग्छ र त्यो हाम्रै लागि प्रत्युत्पादक हुन सक्छ ।

(त्रिविका उपप्राध्यापक पौड्याल साहित्यकार, अनुवादक हुन् ।)

प्रतिक्रिया दिनुहोस्