आज संसदीय सुनुवाइ समिति गठन हुने



काठमाडौं । संसदीय सुनुवाइ समितिको गठन आज (बुधबार) हुने भएको छ । बुधबारको बैठकमा सुनुवाइ समितिमा रहने सांसदहरूको नाम नै प्रस्ताव गरिने संघीय संसद सचिवालयले जनाएको छ।महासचिव भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सांसदहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन्।

सोमबार संसदमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूको बैठकले सुनुवाइ समितिमा रहने सदस्य बाँडफाँट गर्ने सहमति भएको थियो। सहमतिअनुसार सुनुवाइ समितिको सभापति कांग्रेसले लिने छ।

समितिका सभापतिसहित कांग्रेसका ४ जना र एमालेका पनि ४ जना सदस्य रहन्छन् । बाँकी सदस्यमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) का एक/एक सदस्य रहने बताइएको छ।

संसद् बैठकअगाडि बुधबार बिहान समितिमा रहने सदस्यहरूको टुंगो लगाउने तयारी गरिएको छ। संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि बुधबार नै पारित गर्ने संसदको तयारी छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्